डेब्यु विकेट लिएका रिजन भन्छन्- प्रेसरभन्दा पनि धेरै उत्साहित थिएँ
काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले डेब्यु गरे । रिजनले डेब्यु मात्र गरेनन्, डेब्यु विकेट पनि लिए । उनले पहिलो ओभरको पाँचौ बलमा नवानित धलिवललाई पभेलियनको बाटो देखाए ।
डेब्युपछि रिजनले प्रेसर भन्दा पनि धेरै उत्साहित भएको बताए । ‘यति धेरै क्राउडको अघि खेलेको पनि थिएन । अस्ति नै एनपिएल, एपीएलमा कमै थियो होला । प्रेसर भन्दा पनि उत्साहित धेरै थिए भनम न’, उनले भने
खेलमा जे गरेर आइराखेको त्यही नै गर्छु भन्ने सोच राखेको उनले सुनाए । ’मेरो दिमाखमा यति नै थियो कि नरमल खेलिराखेको । साच्ची भन्दा प्रेसर नै थिएन के । मतलब म नेपालबाट खेलिराखेको छु, डेब्यु गरिराखेको छु’, उनले भने, ’जे गरेर आइराखेको छु त्यही नै गर्छु भन्ने सोच थियो ।’
टिममा पर्ने बित्तिकै डेब्यु गर्न पाउँदा एकदमै खुसी लागेको रिजनले बताए । ‘सबै खेलाडीको एउटा सपना हुन्छ टिममा पर्नु, डेब्यु गर्नु । मैले त टिममा पर्ने बित्तिकै डेब्यु पनि गरे । धेरै धेरै एकदमै धेरै खुशी लागिराखेको छ’, उनले भने ।