सर्वोच्चको फैसला विपरीत माओवादीले जितेका स्थानीय सरकारबाट ‘जनयुद्ध’ दिवसको बिदा
रुपन्देही । सर्वोच्च अदालतको फैसला विपरीत माओवादी केन्द्रले जितेका पालिकाहरुमा फागुन १ गते ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा दिन थालेका छन् ।
रोल्पाको रोल्पा नगरपालिका र माडी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । माडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना निकालेर उक्त दिन गाउँपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने उल्लेख गरेका छन् ।
यस्तै रोल्पा नगरपालिकाले पनि ‘जनयुद्ध’ दिवसको अवसरमा भन्दै फागुन १ गते नगरपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । यी दुबै पालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।