६ महिनामा मात्रै देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित १३४ जना पक्राउ – Nepal Press

६ महिनामा मात्रै देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित १३४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ घर भएका सुलभ भन्ने सुरज श्रेष्ठ एक थान पेस्तोल, चार राउण्ड गोली र म्यागेजिनसहित पक्राउ परे ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–एक लोकन्थलीबाट कटुवा पेस्तोल दुई थान र सोही पेस्तोलको गोली एक राउण्डसहित उदयपुरका जंग माझी पक्राउ परे ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पेस्तोल एक थान र गोली एक थानसहित बाजुराका देवबहादुर थापा र नवलपरासी पूर्वका वीरबहादुर थापा मगर पक्राउ परे ।

श्रेष्ठ, माझी, थापा र थापा मगर प्रतिनिधि पात्र मात्रै हुन् । देशभर प्रहरी सक्रियता, आकस्मिक जाँच तथा निगरानीका कारण उनीहरू जस्तै अन्य धेरै व्यक्ति पनि हातहतियारसहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित एक सय ३४ जना मानिस पक्राउ परेका छन् । पक्राउमध्ये पुरूष एक सय ३० जना र महिला चार जना छन् । तीमध्ये ६ जना विदेशी नागरिक छन् ।

यस अवधिमा सबै भन्दा बढी मधेश प्रदेशबाट २५ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कोशी प्रदेशबाट १८ जना, काठमाडौं उपत्यकाबाट १७ जना, गण्डकी प्रदेशबाट १४ जना, बागमती प्रदेशबाट १३ जना, सुदूरपश्चिम प्रदेशबाट १४ जना र कर्णाली प्रदेशबाट १२ जना पक्राउ परेका छन् । साथै अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन् ।

अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिलाई हतियारसहित पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यसबाट हतियारधारी समूह निस्तेज बनेको छ । जसले देशमा शान्ति सुरक्षा कायम राख्न सहज भएको र आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका प्रहरी प्रवक्ता डीआईजीपी ढकालले बताए ।

उनले भने, “नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सक्नुको प्रमुख कारण हो । सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ । हतियारको जोखिमबारे सर्वसाधारणलाई चेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरूले समेत हतियार प्रहरीमा बुझाएका छन् ।”

विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । ६ महिनाकै अवधिमा सबैभन्दा धेरै भरुवा बन्दुक ८१ थान, कटुवा पेस्तोल १७ थान, पेस्तोल ६ थान, बन्दुक ६ थान, रिभल्वर ४ थान र एयर गन २ थान गरी जम्मा एक सय १६ थान अवैध हतियार बरामद भएको छ ।

यस अवधिमा सबैभन्दा बढी भरूवाको ९३ राउण्ड, पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, बन्दुकको २० राउण्ड, बाह्रबोरको १९ राउण्ड, कटुवाको १७ राउण्ड, र अन्य तीन राउण्ड गरी जम्मा २२७ राउण्ड गोली बरामद भएको छ ।

बरामदमध्ये लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, गण्डकी प्रदेशबाट नौ थान हतियार, काठमाडौं उपत्यकाबाट सात थान हतियार र १४ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली छन् । जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी छ ।

तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको प्रहरीको अनुसन्धानले देखाएको छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले देशभरि नै विशेष अभियान चलाएको प्रहरी प्रवक्ता डीआईजीपी ढकालले जानकारी दिए ।

अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ । नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान एवम् कारबाही हुने गरेको छ । अवैध हतियार कतै लुकाइराखेको थाहा भएका नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउनसमेत प्रहरीले सबैलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *