क्यानडाविरुद्ध रोहितले थापेको ‘दाउ’ – Nepal Press

क्यानडाविरुद्ध रोहितले थापेको ‘दाउ’

काठमाडौं। निकोलस कीर्तन र पर्गत सिंहले यसरी ब्याटिङ गरिरहेका थिए की नेपालको खेलमा फर्किने सम्भावना क्रमशः कमजोर बन्दै थियो ।

आशा गरिएका तीन स्पीनर सूर्य तामाङ, ललित राजवंशी र पवन सर्राफले विकेट लिन सकिरहेका थिएनन्। त्रिवि क्रिकेट मैदानमा क्यानडा १९ ओभरमा केवल दुई विकेट गुमाएर १ सय १३ रनमा खेल्दै थियो। कीर्तन र पर्गतबीच ७८ रनको साझेदारी भइसकेको थियो।

यो अवस्थामा नेपालका कप्तान रोहित पौडेलले आफै बलिङ गर्ने निर्णय लिए। यो उनको पहिलो ओभर थियो। सुरुका दुई बलमा रन नदिएका उनले तेस्रो बलमा एक रन दिए भने चौथो बलमा पर्गतको विकेट हात पारे। खेलमा नेपाली स्पीनरले लिएको यो पहिलो विकेट थियो।

तर क्यानडा डगमगाएन । कीर्तन र हर्स थाकरले सम्हालिएर खेले। क्यानडाले ३२ ओभरमा ३ विकेट गुमाएर एक सय ७२ रन जोड्दा कीर्तन र थाकरबीच ५९ रनको साझेदारी भइसकेको थियो।

क्यानडालाई अब १८ ओभरमा केवल ५३ रन आवश्यक थियो। यसपटक रोहितले कुशल मल्ललाई बल थमाए। कुशलको यो पहिलो ओभर थियो। सुरुका दुई बलमा एक एक रन दिएका कुशलले त्यसपछि लगातार तीन बल डट फ्याँके र छैटौँ बलमा थाकरलाई बोल्ड गरे। लगत्तै अर्को ओभरमा सोमपाल कामीले १० रन खर्चिएपछि नेपाल थप दबाबमा परेको थियो। ३५ औँ ओभरमा कुशलले एक रन मात्र दिएपछि कप्तान रोहितले सोमपाललाई फिल्डिङमा पठाएर बलिङको जिम्मा लिए। त्यो उनको तेस्रो ओभर थियो।

सुरुका पाँच बल डट फ्याँकेका रोहितले अन्तिम बलमा एक रन दिए। ३७ औँ ओभरमा कुशलले तीन रन दिए भने ३८ औँ ओभरमा रोहितले विकेट मेडन हात पारे। क्यानडाका विकेटकिपर श्रेयस मोव्व्या एक रनमा आउट भएका थिए। कीर्तन क्रिजमा बाँकी नै भएकाले नेपाल संकटमै थियो। रोहितले तीन ओभर बलिङ गरिसकेका कुशलको ठाउँमा पवनलाई बलिङको जिम्मा दिए।

पवनले अघिल्ला ६ ओभरमा ३१ रन खर्चिएका थिए। आउने दुई ओभरमा क्यानडाले थप विकेट नगुमाई ६ रन थपेको थियो। तर ४१ औँ ओभरमा पवनले नेपाललाई सफलता दिलाए त्यो पनि ६८ रनमा खेलिरहेका कीर्तनको विकेट लिएर। यो अवस्थामा क्यानडाले ६ विकेट गुमाएर एक सय ९५ रन जोडेको थियो। उसलाई ९ ओभरमा ३० रन आवश्यक थियो।

क्यानडा जितका लागि १८ रन आवश्यक रहेका बेला दुई विकेट गुमाएको थियो। ४४ औँ ओभरको अन्तिम बलमा रोहित र ४५ औँ ओभरको दोस्रो बलमा ललितले विकेट लिएका थिए। क्यानडाले थप ५ रन जोडेपछि नवौँ विकेट पनि गुमाएको थियो। ललितले उक्त विकेट लिएका थिए। अब क्यानडालाई जितका लागि १३ रन चाहिएको थियो तर एक विकेट मात्र साथमा थियो।

४८ औँ ओभर आफै बलिङ गर्न उत्रिएका कप्तान रोहितले पहिलो बलमै चौका खाएपछि क्यानडा जितबाट ९ रनले मात्र टाढा देखिएको थियो। तर रोहितले संयमता गुमाएनन्। थप तीन बलमा एक रन मात्र खर्चिएका उनले पाँचौँ बलमा इश्वरजोत सोहीलाई बोल्ड गरेर नेपाललाई रोमाञ्चक जित दिलाए।

यो जितले नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। सँगै रोहितले आफूलाई अलराउन्डरको परिचय दिने क्रममा थप मजबुत बनाउँदै लगेको देखिएको छ। रोहितले हालै सम्पन्न पीएम कपमा ९ खेलमा १४ विकेट लिएका थिए। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ खेलमा ४ विकेट लिएका छन्। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि १८.१ ओभर बलिङ गरेपनि विकेट लिन सकेका थिएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *