गगनको कटाक्ष- म भगवान हुँ, रातारात कायापलट गर्दिन्छु भन्नेहरूले संविधानमाथि प्रहार गर्दैछन् – Nepal Press

गगनको कटाक्ष- म भगवान हुँ, रातारात कायापलट गर्दिन्छु भन्नेहरूले संविधानमाथि प्रहार गर्दैछन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।

कांग्रेसको काठमाडौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै सो आरोप लगाएका हुन् ।

उनले भने, ‘लोकरिझ्याइँको राजनीति गर्नेले पनि संविधानमाथि लगातार प्रहार गरिरहेका छन् । हेर्दा यसले संविधान मानेको जस्तो, निर्वाचनमा भाग लिएकोजस्ता देखिन्छ । तर, ख्याल गरेर हेर्‍याैं भने यसले हाम्रो इतिहासलाई, संघर्षका दिनलाई डिसमिस गर्छ । यसले संविधान मान्दैन । गणेशमान, बीपी मान्दैन । ४६ सालको, २०६२ सालको आन्दोलन मान्दैन । विधि प्रक्रिया मान्दैन । हाम्रो संघर्षको उपहास गर्छ । जादुगर हुँ भनेर आउँछ । यो लोकरिझ्याइँको राजनीतिले पनि संविधानमाथि प्रहार गरेको छ । संविधानमाथि प्रहारहरु छ भनेर यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो।’

उनले थपे, ‘आज हामीसँग गर्नसक्ने प्रशस्त आधार छ । हामीलाई यो भएन, त्यो भएन भन्ने छुट छैन । वडादेखि प्रदेश, सरकारदेखि संविधान र व्यवस्था सबै हाम्रो, अनि यसमा संकट छ भन्दै गर्दा बचाइदिने कसले हो ? पुरानो पार्टीको नेताले भन्न पाउनुहुन्छ, म छैन त्यसकारणले देश अप्ठेरोमा छ । चार वर्षपछि म आउँछु अनि सम्हाल्छु भन्न पाउनुहुन्छ । अर्को एउटा पार्टीको साथीले भन्न पाउनुहुन्छ, यी त मानिसहरु हुन्, म त भगवान हुँ, मेरो त दश वटा हात छन्, दश वटा टाउको छन्, म जादुगर हुँ, मसित अचुक अस्त्र छ, म त रातारात कायापलट गर्दिन्छु, चमत्कार गर्दिन्छु भन्न पाउनुहुन्छ । तर, हामीलाई त्यस्तो भन्ने छुट छैन । सम्हाल्ने काम हाम्रो हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर