सरकारको हस्तक्षेपबीच स्काउटको तीनै तहको निर्वाचन सम्पन्न, यी हुन् नवनिर्वाचित राष्ट्रिय परिषद् सदस्य
काठमाडौं । प्रधानमन्त्रीको ठाडो हस्तक्षेप र सरकारको असहयोगका बीच नेपाल स्काउटको तीनै तहको निर्वाचन सम्पन्न भएको छ ।
राजनीतिक हस्तक्षेपका कारण १२ वर्षदेखि हुन नसकेको नेपाल स्काउटको स्थानीय,प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो ।
नेपाल स्काउटमा १२ वर्षपछि तीनै तहका परिषद्को निर्वाचन सम्पन्न भएको राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए । उनले नयाँ निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्दै आफ्नो कार्यकालबाट बिदा भएका छन् ।
नेपाल स्काउटको निर्वाचन रोक्न प्रधानमन्त्रीले ठाडो आदेश दिएपछि भण्डारी अदालत गएका थिए । अदालतले निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतको माघ २३ गतेको अल्पकालीन अन्तरिम आदेश बमोजिम स्काउट राष्ट्रिय परिषद् सदस्य निर्वाचन माघ २४ उम्मेदवारी दर्ता भएको थियो ।
माघ २७ गते भएको निर्वाचनको अन्तिम मत परिणाम आइतबार सार्वजनिक गरिएको हो ।
सातै प्रदेशबाट ५६ जना राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएका छन् । उनीहरूबाट पदाधिकारी चयन हुने विधानको व्यवस्था छ ।