अनलाइन सपिङमा फिर्ताको सुविधासँगै ग्राहकको पहिलो रोजाइ बन्यो दराज
कानून नबन्दा नियमनमा छैन ई-कमर्श
काठमाडौं । ‘अफिस र घरको कामले किनमेल गर्न बाहिर जानै भ्याइँदैन । आफूलाई आवश्यक पर्ने सामान त फेरि पनि किन्नैपर्यो । यसो अनलाइन हेर्यो, अरु अनलाइनमा सामान किन्यो भने मन नपरे फिर्ता गर्न पाइँदैन । बरु दराज नै ठीक जस्तो लाग्छ । सामान मन परेन भने फिर्ता गर्न पाइन्छ । दोस्रो पटक ल्याएको सामान पनि मन परेन भने पैसै फिर्ता पाइन्छ । त्यही भएर म धेरैजसो दराजबाटै सामान मगाउँछु । पैसा मोबाइलबाट तिर्छु’, पत्रकार टुना भट्टको भनाइ हो यो ।
कोटेश्वरकी विमला प्रधानको कहानी पनि त्यस्तै छ । ‘खानेकुराको असाध्यै सौखिन, तर बाहिर निस्कन खासै मन लाग्दैन । त्यही भएर खानेकुरा म फुडमाण्डुबाट मगाउँछु । तर, कपडा किन्नुपरे दराज नै रोज्छु । अरु अनलाइन पनि छन्, एउटा सामान भन्यो, आफ्नो हातमा पर्दा अनलाइनमा देखिएको भन्दा निकै फरक हुने अनि फिर्ता लिन पनि नमान्ने । बरु फिर्ता पनि गर्न मिल्छ भनेर दराजबाटै अर्डर गर्छु’, प्रधान भन्छिन् ।
यी त प्रतिनिधि पात्रमात्र हुन् । पछिल्लो समय कार्य व्यस्तताका कारण अधिकांशको रोजाइमा पर्छ अनलाइन सपिङ । तर, कुन अनलाइनबाट किनमेल गर्दा भरपर्दो हुन्छ भन्ने तनाव भने अधिकांशमा देखिन्छ । पछिल्लो समय जसरी काठमाडौंमा सटरहरु बन्द भएको समाचार आइरहेका छन्, त्यसमा उपभोक्ताको अनलाइन सपिङ कल्चरले कहीँ न कहीँ भूमिका खेलेको छ ।
‘अनलाइनले देखाएको भन्दा फरक क्वालिटीको सामान ल्याउँछ’ भन्ने धेरैजसोको गुनासो छ । सामान मन नपरे फिर्ता गर्न पाउने उपभोक्ताको अधिकारलाई धेरैजसो ई-कमर्श प्लेटफर्मले बेवास्ता गर्दै आएका छन् । तर, ‘दराज’ ले भने यस्तो सुविधा दिएकाले धेरैजसोको आकर्षण यसमै देखिएको छ ।
पछिल्लो समय नेपालमा विद्युतीय व्यापार (ई-कमर्श) बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले मासिक १ लाख १२ हजार ९९३ पटकसम्म विद्युतीय व्यापार भएको देखाउँछ । यो कारोबारबाट ७२ करोड ४० लाख रुपैयाँ बराबरको अनलाइन व्यवसाय भएको राष्ट्र बैंकको तथ्यांक छ । विद्युतीय प्लेटफर्ममार्फत कुनै पनि वस्तु तथा सेवाको खरिद बिक्री गर्ने प्रक्रिया विद्युतीय व्यापार (ई-कमर्श) हो ।
पछिल्लो ६ महिनामा ६ लाख ७७ हजार ११६ पटक भएको विद्युतीय व्यापारबाट ४ अर्ब ३५ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । यो भुक्तानी अनलाइनमार्फत भएको हो ।
तर, ई-कमर्शका नाममा बग्रेल्ती खुलेका अनलाइन व्यवसायको न नियमन गर्ने निकाय छ न त दर्ता नै भएका छन् । विद्युतीय माध्यमबाट हुने व्यवसाय दर्ता र सूचीकरण हुनुपर्ने हो । यस्तो व्यवसायका लागि कानून नबन्दा धेरैजसो अनलाइन आफूखुशी सञ्चालन भइरहेका छन् । कतिपय त उपभोक्ता ठग्ने माध्यमसमेत बनेको छ ।
यही अवस्थाको अन्त्य गर्न सरकारले नयाँ ऐन बनाउने प्रक्रिया अघि बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट उद्योगमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० राष्ट्रियसभामा सिफारिस गरेका छन् । तर, ई-कमर्सलाई विद्युत व्यापार सम्झेर छलफल चलाउँदा राष्ट्रियसभाका सदस्यहरु ट्रोल बने ।
गत असार २६ गते प्रस्तुत विधेयक कात्तिक ७ गते राष्ट्रियसभाले पारित गरिसकेको उद्योग मन्त्रालयका बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाका लीलाप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार यो विधेयक प्रतिनिधिसभामा गएको छ ।
विद्युतीय व्यवसाय दर्ता तथा सूचीकरण हुनुपर्ने र यसको नियमन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले गर्नुपर्ने विधेयकमा उल्लेख छ । साथै यस्तो व्यवसाय गर्न कर र भ्याटमा पनि दर्ता हुनुपर्ने व्यवस्था यो विधेयकले प्रस्ताव गरेको छ । विधेयक पारित भए सबै ई-कमर्श नियमनको दायरामा आउनेछ ।
यता, कम्पनी रजिष्ट्रारको कार्यालयले पनि विद्युतीय व्यापार के कति छन् भन्ने तथ्यांक आफूहरुसँग नभएको बताएको छ । दर्ता हुँदा व्यवसायमात्र भनिने र उनीहरुको प्रवन्ध-पत्रमा मात्र विद्युतीय व्यापार उल्लेख हुने भएकाले के कति ई-कमर्श नेपालमा छन्, त्यसको वर्गीकरण नगरिएको कम्पनी रजिष्ट्रार कार्यालयका सूचना प्रविधि शाखाका भुपेन्द्र रिजालले बताए ।
नियमनको दायरामा नआइसकेको ई-कमर्श सरकारले गर्ने अध्ययन सर्वेक्षणमा पनि पर्न सकेको छैन । भर्खरैमात्र व्यापार सर्वेक्षण गरेको राष्ट्रिय तथ्यांक कार्यालयले समेत ई-कमर्शसम्बन्धी अध्ययन नगरेको स्वीकारेको छ । कार्यालयका प्रवक्ता डा.हेमराज रेग्मीले आगामी वर्षहरुमा भने ई-कमर्श पनि समेटेर अध्ययन गरिने बताए ।
नेपालमा दराज, फूडमाण्डु, ग्यापु, ओलिज, अलिबाबालगायतका २० भन्दा बढी ठूला प्रकारका अनलाइन व्यापार गर्ने प्लेटफर्महरू छन्, जसले दैनिक २० देखि ५० लाखसम्मको कारोबार गर्दै आएका छन् ।
यीबाहेक सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राममा पेज बनाएकै आधारमा सामान बिक्री वितरण गर्ने व्यवसायी पनि छन् । तर, तिनको तथ्याङ्क छैन ।
अनलाइन सपिङ प्लेटफर्ममध्ये अन्तर्राष्ट्रिय चेनसमेत भएकाले दराजप्रति उपभोक्ताको भरोसा देखिएको पछिल्ला व्यापार आँकडाले देखाएको छ । दराजले दिने स्किमहरु अन्य प्लेटफर्मभन्दा बढी आकर्षक र ठूलो भोल्युममा हुने गरेकाले पनि अहिले उसको एकछत्र जस्तै देखिएको व्यवसायीहरु बताउँछन् ।
अनलाइन व्यापारका कारण बैंकिङ कारोबारमा सकारात्मक प्रभाव पारेको एनआईसी एसियाका सीईओ रोशन न्यौपाने बताउँछन् ।
दराजका कर्पोरेट म्यानेजर प्रतिक अर्यालले दराजको व्यापार बढ्दोक्रममा रहेको र यसले नेपाली ग्राहकमा अनलाइन सपिङप्रतिको भरोसा र आकर्षण समेत बढेको बताए । दराजको ११ः११ सेलमा मात्रै ५० लाख ग्राहकले सामान खरिद गर्नुले यसको व्यापारिक ग्राफ बढ्दो क्रममा रहेको अर्यालको भनाइ छ ।
सन् २०३०सम्ममा ५ करोड उपभोक्ता र व्यवसायहरुलाई सेवा प्रदान गर्दै दक्षिण एसियाकोच्याम्पियन बन्ने उदेश्य लिएको दराजले नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकागरी ५ देशमा सेवा दिदै आएको छ । दराजका सेवा ५ देशमा ५० करोड मानिसले लिएको र ६५ हजार भन्दा धेरै बिक्रेताहरुलाई जोड्दै दराजले फेसन, खेलकुद, सौन्दर्य, देखि घरायसी सामान सम्मका उत्पादनहरुबिक्री गर्दै आएको अर्यालले बताए ।