जनकपुरधाम-जयनगर खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्न माग
जनकपुरधाम । तेस्रो मुलुकबाट मालसामान ल्याउन र लैजानका लागि भारतको जयनगरदेखि जनकपुरधामसम्म मालवाहक रेल सेवा सञ्चालन गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा व्यापारीहरूले आइतबार नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक निरञ्जन झालाई ज्ञापन पत्र बुझाउँदै मालवाहक रेल सञ्चालन गर्न माग गरेको हो । यात्रुवाहक रेलमा पनि मालवाहक बोगी राख्न संघको माग छ ।
२०७८ चैत्र १९ देखि कुर्था-जनकपुरधाम-जयनगर रेल सञ्चालनमा छ । अहिले सञ्चालनमा रहेको रेलमा यात्रुवाहक बोगी मात्र छ । मालवाहक बोगी नराख्दा भारतबाट मालसमान ढुवानी गर्न नपाएपछि समस्यामा परेको व्यापारीहरू बताउँछन् ।
,विगतमा पनि भारतका विभिन्न प्रदेशहरू विहार, उत्तर प्रदेश, पश्चिम बंगाल, आसाम, आन्ध्र प्रदेश, महाराष्ट्रलगायत अन्य प्रदेशहरूबाट मालसामानहरू भारतको (बिहार प्रदेश) जयनगर आउने र त्यहाँबाट यात्रु बाहक बोगी साथै रहेको मालवाहक बोगीमा ढुवानी भई जनकपुरधामसम्म आउने गरेको थियो’, ज्ञापनपत्रमा उल्लेख छ ।
‘जयनगर-भारत-कुर्था-नेपाल’ खण्डमा रेल्वे सेवा सञ्चालन सम्बन्धमा नेपाल र भारतबीच भएको एसओपी सम्झौतामा समेत यात्रुवाहक र मालवाहक रेल सेवा सञ्चालन हुने व्यवस्था रहेकोले यात्रुवाहक रेल सेवा सञ्चालनका लागि ध्यानाकर्षण गराएको संघका अध्यक्ष महासेठले बताए ।
यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाई दिन संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मधेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ज्ञापन पत्र पठाएको छ ।