फागुन १ को रस्साकस्सी : माओवादीले जितेका पालिकामा बिदा, कांग्रेस र एमालेले जितेकामा छैन – Nepal Press

फागुन १ को रस्साकस्सी : माओवादीले जितेका पालिकामा बिदा, कांग्रेस र एमालेले जितेकामा छैन

रुपन्देही । माओवादीले सशस्त्र युद्ध सुरु गरेको रोल्पा र रुकुममा फागुन १ गते बिदाको विषयमा स्थानीय सरकार विभाजित भएका छन् । यी दुई जिल्लामा रहेका स्थानीय सरकारमध्ये माओवादीले जितेका सबै पालिकामा बिदा दिइएको छ भने कांग्रेस र एमालेले जितेका पालिकामा यसलाई रोकेका छन् ।

१० स्थानीय सरकार रहेका रोल्पामा माओवादीका तर्फबाट नेतृत्व जितेका पालिकाले बिदा दिँदा कांग्रेस र एमालेले जितेका ३ पालिकामा बिदा दिइएको छैन । २०५२ साल फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र युद्धलाई माओवादीले ‘जनयुद्ध दिवस’ भन्दै आएको छ भने अन्य दलहरूले त्यसलाई स्वीकार गरेका छैनन् । माओवादी नेतृत्वको सरकारले यो दिन बिदा घोषणालाई अस्तित्वको लडाइँका रूपमा लिएका छन् ।

संघीय सरकारले बिदा घोषणा गरेकोमा सर्वोच्च अदालतबाट अस्वीकार भएकाले फिर्ता भएसँगै माओवादी नेतृत्वका स्थानीय सरकारले स्मरण गर्न फागुन १ गते सार्वजनिक बिदा दिएका हुन् ।

रोल्पामा दश स्थानीय तहमध्ये २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले ७ स्थानीय तह जितेको थियो । त्यहाँका स्थानीय सरकारले प्रदेश सरकारको राजपत्रअनुसार स्थानीय तहको आवश्यकतालाई मध्यनजर गरी एक दिन सार्वजनिक बिदा दिन मिल्ने प्रावधानअनुसार बिदा दिइएको जनाएका छन् ।

त्रिवेणी गाउँपालिका अध्यक्ष र ३ वडाध्यक्ष नेकपा एमालेले जितेको छ । उपाध्यक्ष नेपाली काँग्रेस र ४ वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । ७ वडा रहेको सो गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित ४ वडाध्यक्ष नेकपा एमाले, २ वडाध्यक्ष नेकपा माओवादी केन्द्र र १ वडाध्यक्ष नेपाली काँग्रेसले जितेका थिए । त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठामगरले पालिकामा बिदा नरहेको बताए । उनले संघीय सरकारले बिदा आवश्यक नठानेपछि स्थानीयले दिनुको कुनै अर्थ नरहने जनाए ।

गंगादेव गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ५ वडाध्यक्ष नेपाली काँग्रेसले जितेको छ । ७ वडा रहेको सो गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १र१ वडाध्यक्ष जितेका छन् । २०७४ सालके स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र ४ वडाध्यक्ष जितेको नेकपा माओवादी केन्द्र यस पटक तेस्रो स्थानमा खुम्चिएको छ । सो निर्वाचनमा नेकपा एमालेले २ र नेपाली काँग्रेसले १ वडा जितेका थिए ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित ३ वटा वडा नेपाली काँग्रेसले जितेको छ । ९ वडा रहेको सो गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३र३ वडा जितेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित २ वटा वडा नेकपा एमालेले जितेको थियो । नेकपा माओवादी केन्द्रले ४ र नेपाली काँग्रेसले ३ वडा जितेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेले जितेका जिल्लाका तीन वटा स्थानीय तहमा भने फाल्गुन १ गते सार्वजनिक बिदा दिइएको छैन ।

कांग्रुबाट निर्वाचित रुन्टिीगढीका अध्यक्ष जनक पुनले स्थानीय सरकारले आवश्यकता नठानेकाले बिदा नदिइएको बताए । ‘बिदा स्थानीय सरकारको आवश्यकता र विवेकको कुरा हो, हामीलाई त्यस्तो लागेन, बिदा राखिएन’– उनले भने ।

रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले व्यवस्था परिवर्तनका लागि फागुन १ को महत्त्व गौरवपूर्ण रहेकाले यो दिन सार्वजनिक बिदा दिनु न्यायोचित हुने ठानेर बिदा दिएको बताएका छन्  । सुनछहरी गाउँपालिकाले भने फागुन १ को साथै फागुन २ गते पनि बिदा दिएको छ । फागुन १ गते जनयुद्ध दिवस र २ गते नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको स्मृति दिवसको सन्दर्भ पारेर सार्वजनिक बिदा घोषणा गरेको गाउँपालिकाले जनएको छ । गाउँसभाबाट पारित गरेर हरेक वर्ष फागुन १ र २ गते बिदा सार्वजनिक बिदा दिने क्यालेण्डर बनाएको गाउँपालिको भनाइ छ ।

रोल्पामा माओवादीले ७ स्थानीय तहमा, नेपाली काँग्रेसले २ र नेकपा एमालेले १ स्थानीय तह जितेका छन् । ७२ वडा रहेको रोल्पामा नेकपा माओवादी केन्द्रले ४८ वडामा जितेको छ । नेपाली काँग्रेसले १४ र नेकपा एमालेले ८ वडामा जीत हासिल गर्दा नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १र१ वडा जितेका छन् ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा नगरप्रमुख उपप्रमुखसहित ९ वडामा नेकपा माओवादी केन्द्र विजयी हुँदा नेपाली काँग्रेसले १ वडाध्यक्ष जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिकामा नगरप्रमुख उपप्रमुख सहित ९ वडाध्यक्ष नेकपा माओवादी केन्द्र र १ वडाध्यक्ष नेपाली काँग्रेसले जितेको थियो ।

नगरपालिकाको वडा नं २ नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका उम्मेदवारको बराबर मत आएपछि भएको गोला प्रथाद्वारा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । सो वडाको २ सदस्य नेकपा माओवादी केन्द्र र २ सदस्य नेपाली काँग्रेसले जितेका छन् ।

सुनिल स्मृति गाउँपालिकाको अध्यक्ष उपाध्यक्षसहित ७ वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । ८ वडा रहेको सो गाउँपालिकामा १ वडा भने नेपाली काँग्रेसका बागी उम्मेदवार विजयी भएका छन् । सुनिलस्मृति गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित ४ वडाध्यक्ष जितेको थियो । ३ वडाध्यक्ष नेपाली काँग्रेस र १ वडाध्यक्ष स्वतन्त्रले जितेको सो गाउँपालिकामा यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले यस अघि जितेका सबै वडा गुमाएको छ । वडाध्यक्ष स्वतन्त्र जितेको वडामा समेत वडा सदस्य नेकपा माओवादी केन्द्रले जितेको छ ।

लुंग्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । ७ वडा रहेको सो गाउँपालिकाको २ वटा वडा भने नेपाली काँग्रेसले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित २ वटा वडा नेपाली काँग्रेसले जित्दा नेकपा माओवादी केन्द्रले ५ वटा वडा जितेको थियो ।

सुनछहरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ६ वडा नेकपा माओवादी केन्द्रले जितेको छ । सो गाउँपालिकाको एउटा वडा मात्रै नेपाली काँग्रेसले जितेको छ । ७ वटा वडा रहेको सो गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित ४ वटा वडा नेकपा माओवादीले जितेको थियो । सो निर्वाचनमा नेकपा एमालेले २ र नेपाली काँग्रेसले १ वडामा जीत हासिल गरेका थिए । यस पटक सो गाउँपालिकामा नेकपा एमाले शून्य भएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । ५ वडा रहेको थवाङमा १ वडा भने नेकपा एमालेले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष उपाध्यक्ष र ४ वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जित्दा १ वडा स्वतन्त्रले जितेका थिए । स्वतन्त्रबाट जितेका उम्मेदवारको निधन भएपछि भएको उपनिर्वाचनमा सो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

परिवर्तन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा नेकपा माओवादी केन्द्रले जितेको छ । ६ वडा रहेको सो गाउँपालिकाको २ वटा वडा भने नेपाली काँग्रेसले जितेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिका नेकपा माओवादी केन्द्रले क्लीन स्वीप गरेको जिल्लाको एक मात्र गाउँपालिको हो ।

माडी गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित ५ वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जितको छ । ६ वडा रहेको सो गाउँपालिकाको १ वडामा नेकपा एकीकृत समाजवादीले जितेको छ ।

यता तीन गाउँपालिका रहेको रुकुम पूर्वमा रहेका तीन वटै पालिकामा माओवादीले जितेको छ । फागुन १ गते तीन वटै पालिकाले बिदा दिएका छन् ।

सिस्ने गाउँपालिकाको उपाध्यक्षमा गोपाल रेउलेले एमालेबाट जिते पनि अन्य सबै अध्यक्ष उपाध्यक्ष माओवादीबाट निर्वाचित भएका हुन् । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले फागुन १ गते जनयुद्ध सुरु भएको स्मरणमा बिदा दिइएको बताए ।

पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले फागुन १ गते विशेष दिन भएकाले स्थानीय बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको बताए । भूमे गाउँपालिका काबा अध्यक्ष सबिना बुढाले रुकुमका लागि फागुन १ गते विशेष दिन भएकाले बिदा दिइएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर