अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाउने तयारी – Nepal Press

अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाउने तयारी

काठमाडौं । सरकारले आज (माघ २९) चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दैछ । चालू वर्षको ६ महिनामा सरकारले गर्न सकेको खर्च र उठेको राजस्वको आधारमा बजेटको अनुमान संशोधन हुँदै आएको छ ।

जेठ १५ गते १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको सरकारले बजेटको संशोधित खर्च अनुमान आज सार्वजनिक गर्दैछ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सो अनुमान सार्वजनिक गर्नेछन् । महालेखा नियन्त्रकको कार्यालयलाई आधार मान्ने हो भने हालसम्म (माघ मसान्तसम्म) ३८.७९ प्रतिशत अर्थात् ६ खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँ मात्र बजेट खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दा चालूतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

यस्तै राजस्वबाट १२ खर्ब ४० अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा निकै कम राजस्व उठेको छ ।

माघ मसान्तसम्म सरकारले ५ खर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको करिब ४० प्रतिशत मात्र हो । यसले पनि सरकारले बजेट खर्चमा संशोधन गर्ने देखिएको छ । राजस्वको लक्ष्य पनि घटाउन सक्ने देखिन्छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूले बजेटको अनुमान संशोधन हुने बताएका छन् । आजै पत्रकार सम्मेलन गरेर बजेट समीक्षा सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर