संस्थापकको विवाद : अग्रजको हातबाटै थुतेर किताब च्यात्नेहरूप्रति पत्रकार महासंघको मौनता – Nepal Press

संस्थापकको विवाद : अग्रजको हातबाटै थुतेर किताब च्यात्नेहरूप्रति पत्रकार महासंघको मौनता

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आइतबार आयोजना गरेको एउटा किताब विमोचन कार्यक्रममा भाँडभैलो भयो । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का जिम्मेवार व्यक्तिहरू कार्यक्रमस्थलमा आएर इतिहास बंग्याएको भन्दै होहल्ला मच्चाएका थिए ।

भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका हालसम्मका सभापतिहरूबारे लेखिएको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रम राखिएको थियो । यो पुस्तक महासंघको प्रदेश समितिले तयार पारेको हो भने समितिका सभापति बालकृष्ण अधिकारीले सम्पादन गरेका हुन् ।

विमोचन कार्यक्रममा सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि र सञ्चारमन्त्री रेखा शर्मालाई विशेष अतिथिका रूपमा निम्त्याएको थियो । तर, कार्यक्रम सुरू हुने बेलामा उनीहरू दुवैले आफूहरू सहभागी हुन नसक्ने सूचना पठाए । फोनिजका तर्फबाट यो कार्यक्रममा आफूहरूले अवरोध गर्ने सूचना दिइएपछि दुवैले आफ्नो सहभागीता रद्द गरेका थिए ।

फोनिजले किताबलाई लिएर प्रदेश समितिसँग पहिल्यै असन्तुष्टि जनाएको थियो । पुस्तकले नेपाल पत्रकार महासंघका संस्थापत सभापति कृष्णप्रसाद भट्टराई (भूपू प्रधानमन्त्री) भनेर उल्लेख गरेकोप्रति फोनिजले आपत्ति जनाएको हो । अहिलेसम्म महासंघका सबै आधिकारिक दस्तावेजमा भट्टराई नै संस्थापक सभापति भएको उल्लेख छ । तर, फोनिजले भने सत्यनारायणबहादुर श्रेष्ठ संस्थापक सभापति भएको दाबी गर्दै आएको छ ।

संस्थापक सभापतिको बहस भने हालका एमाले सांसद सूर्य थापाले पत्रकार भएकै बेला ऐतिहासिक दस्तावेजका आधारमा सत्यनारायणबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष रहेको भनेर थालेका थिए । त्यसपछि प्राप्त दस्तावेजहरूले २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा गठन भएको पुष्टि गरेका थिए । संस्थापक सभापतिको सन्दर्भमा वामपन्थी पत्रकार खेमा र आदिवासी जनजाति पत्रकार एक ठाउँमा देखिने गरेका छन् ।

फोनिजले आइतबारको कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएको थियो । तर, उनीहरूका तर्फबाट पनि आफ्नो भनाई राख्न दिने प्रतिवद्धता जनाइएपछि विमोचन कार्यक्रम तय भएको हो । फोनिजका अध्यक्ष (नेपाल टेलिभिजनमा कार्यरत) गजुरधन राई, महासचिव मिलन लिम्बूलगायतका पदाधिकारीहरू कार्यक्रममा उपस्थित भएका थिए ।

प्रमुख अतिथि र अतिथि दुवै नआएपछि कार्यक्रममा उपस्थित महासंघका भूतपूर्व सभापतिहरूको हातबाट पुस्तक विमोचन गरियो । त्यसअघिसम्म शान्तिपूर्णरुपमा कार्यक्रम सञ्चालन भइरहेको थियो । किशोर नेपाल, हरिहर विरही, रामकृष्ण रेग्मी तथा महासंघ अध्यक्ष विपुल पोखरेललगायतले बोलिसकेका थिए । पोखरेलले संस्थापत अध्यक्षका विषयमा उठेको विवाद तत्काल समाधानको पहल गर्ने प्रतिवद्धता जनाए ।

तर, जब पुस्तक विमोचनको प्रक्रिया सुरु भयो, हुलहुज्जत गर्दै फोनिजको समूह मञ्चतर्फ उक्लियो । उनीहरूले मञ्चमा रहेका अतिथिहरूको हातबाटै किताब थुते । अनि धमाधम च्यात्न थाले । सत्यनारायणको प्रिन्ट फोटो देखाउँदै नाराबाजी गरे । कार्यक्रमको राम्ररी समापन नै हुन सकेन ।

प्रतिष्ठान प्रदेशका सभापति अधिकारीले हिजोको घटना अशोभनीय र दु:खद भएको बताए ।

उनले भने, ‘उहाँहरूलाई हामीले आफ्नो भनाई राख्न दिन्छौं भनेर पनि प्रतिवद्धता जनाएका थियौं । अचानक अभद्र व्यवहार देखाउनुभयो । हामी सबै दु:खी छौं ।’

यस पुस्तकमा सत्यनारायण श्रेष्ठको प्रसंग पनि समेटिएको उनले बताए । अधिकारीका अनुसार सत्यनारायणको नेतृत्वमा २००८ सालमा नेपाल पत्रकार गठन भएको तर, त्यसले निरन्तरता पाएको देखिएको छैन ।

‘श्रेष्ठ नेतृत्वको समिति २००९ पछि निष्क्रिय बन्यो । त्यसपछि २०१२ सालमा कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठन भएको अर्को संघको निरन्तरता नै अहिलेको पत्रकार महासंघ हो भन्ने आधिकारिकरूपमा दखिन्छ,’ उनले भने, ‘महासंघका डकुमेन्टहरू पनि यही नै उल्लेख छ ।’

हिजो भएको घटनालाई लिएर पत्रकार महासंघले कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । झिनामसिना विषयमा पनि विज्ञप्ति निकालिरहने महासंघले अग्रजको हातबाट किताब थुतेर च्यात्ने जस्तो अमर्यादित हर्कतप्रति मौनता साँधिरहेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सामाजिक सञ्जालमा यो घटमा महासंघको नेतृत्व जिम्मेवार नरहेको भनेर टक्टकिन खोजेका छन् ।

उनले लेखेका छन्, ‘यो पुस्तक नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रकाशन होइन । जानकारीमा आएअनुसार यो पुस्तक महासंघ प्रतिष्ठान प्रदेश समितिको प्रकाशनमा भएको स्पष्ट हुनु जरुरी छ । उक्त पुस्तकमा के लेखिएको छ भन्ने कुरा केन्द्रीय समितिको जानकारीमा छैन । केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुले पढेका समेत छैनन् ।’

उनले फोनिजको आइतबारको क्रियाकलापलाई घुमाउरो समर्थन गर्दै थप लेखेका छन्, ‘पुस्तक विमोचन प्रकरणले महासंघभित्रको समावेशीता र संस्थापकको बहसलाई फराकिलो बनाइदिएको छ ।’

यो विषयमा धारणा जान्न पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसँग फोन सम्पर्क प्रयास गर्दा उनको फोन उठेन । आफ्नो संस्थाको संस्थापकको विवादमा प्रतिष्ठान शाखालाई अचानो बनाएर केन्द्रीय नेतृत्व उम्किन सक्छ ? पत्रकारहरूले प्रश्न गरेका छन् ।

यता विमोचन गर्ने ठाउँमा गरिएको अभद्र व्यवहार र पुस्तक च्यातिएको घटनाप्रति फोनिज नेतृत्व पनि जिम्मेवारी लिनबाट पन्छिएको छ । फोनिजका एक पदाधिकारीले किताब च्यात्ने नीति नरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर