रेडियो कार्यक्रमबाट चिनजान, विवाह गर्न दबाबपछि हत्या
काठमाडौं । राजधानीको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको पाइएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे जानकारी गराएको हो । माघ २७ गते काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला भेटिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न आरोपमा दोलखा वैद्येश्वर गाउँपालिका-७ घर भई अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए ।
एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ ।
उनले भने, ‘माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित सिरहा-धनुषा होटल एण्ड लजमा भएको घटना हो । जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भइ अहिले काठमाडौं महानगरपालिका ९ भीमसेनगोलामा निजको श्रीमान् नसे दमाईंसँग डेरा गर्दै बस्दै आउनुभएका प्रमिला दमाईको हो भनि पहिचान भएको छ । हामीले प्रतिवादी बनाएका दोलखा वैद्येश्वर गाउँपालिका ७ भइ अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठ । दोलखाबाट मेरो साथी भन्ने रेडियो कार्यक्रमबाट भेट भएको पाइयो ।’
पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।