अध्येता भोगिराज चाम्लिङको समाज विमर्श (१) : संसारका सबै मान्छेको डीएनएमा सुँगुर छ – Nepal Press
भिडिओ

अध्येता भोगिराज चाम्लिङको समाज विमर्श (१) : संसारका सबै मान्छेको डीएनएमा सुँगुर छ

काठमाडाैं । भोगिराज चाम्लिङ लामो समयदेखि किराँती समुदायको मुन्दुमबारे अध्ययन गरिरहेका छन् । किराँती समुदायमा प्रचलित मिथकहरुको खोज अनुसन्धान गरिरहेका छन् । साथै पुरातात्विक अध्ययन, जेनेटिक साइन्सलाई समेत आधार बनाएर नेपाली समाजमा प्रचलित मिथकहरुको सहाराले ऐतिहासिक तथ्यहरुको उजागर पनि गरिरहेका छन् ।

उनै चाम्लिङसँग किराँती समुदायको नेपाल आगमन, आर्य समुदायको आगमन, भारतीय उपमहाद्वीपमा भएको आर्य र द्रविड-किराँत समुदायबीच भएको सांस्कृतिक वर्चस्वको लडाइँ, आर्यहरुको जीत र द्रविड-किराँतको हारलगायत विषयलाई पुरातात्विक प्रमाण, जेनेटिक साइन्स र मिथकहरुका आधारमा खोतल्ने प्रयास गरिएको छ । प्रस्तुत छ चाम्लिङले नेपालप्रेसकर्मी नवीनकाजी राईसँग गरेको कुराकानीको सम्पादित अंश :

त्यो बँदेलमा जुनी फेरेको मान्छे

किराँती समुदायमा एक मिथक छ । मिथकअनुसार किराँतीहरुको पुर्खा थिए रिकपा र रिबिमा । रिकपा पुरुष थिए । रिबिमा महिला थिइन् । तर, उनीहरु एकै बाबुआमाबाट जन्मिएका थिए ।

लामो समय छुटेर पराइ जस्तो भएपछि उनीहरुबीच नै विवाह भयो । विवाहपछि बालबच्चा पनि भए । तर, रिकपालाई भने ‘आफ्नै चेलीसित विवाह गरेको छु’ भन्ने कुरा थाहा थियो । एक दिन रिबिमा जंगलबाट घर फिरिरहेकी थिइन् । घरमा रिकपाले छोरीलाई कोक्रोमा राखेर भुल्याइरहेका थिए ।

कोक्रोमा हल्लाउँदै रिकपाले छोरीलाई भने, ‘तिमी एक साइनोले मेरी छोरी । एक साइनोले मेरी भान्जी ।’

रिकपाले यसो भनेको रिबिमाले सुनेपछि रिकपालाई भनिन्, ‘होइन, तिमी यो के बोल्दैछौ ?’

‘त्यस्तो होइन, गीत मात्रै गाएको’ भनेर रिकपा पन्छिए । तर, यस घटनाले रिकपालाई लज्जाबोध भयो । अनि छोरी र बुढीलाई छाडेर साल्पा पोखरीतिर लागे । जुन पोखरी अहिले भोजपुर, खोटाङ र संखुवासभाको सिमानामा पर्छ ।

केही समयपछि रिकपा स्वरुप परिवर्तन गरेर बँदेल बन्यो । रिबिमाले छरेको कागुनी खान आयो । रिबिमाले पासो थापी । पासोमा बँदेल प¥यो । बँदेलको मासु खाएर आन्द्रा चाहिँ चुल्होको सरङमा सुकाई रिबिमाले ।

अनि त्यही आन्द्राबाट रिकपाको पुनर्जन्म भयो । र रिबिमासँग पुनः विवाह भयो ।

यसले के पुष्टि गर्छ भने किराँतीहरुको मुख्य आहारा बँदेल हो । दोस्रो, चेली-माइतीबीचको विवाह विश्वभरिकै आदिवासी समाजमा कुनै समय प्रचलनमा थियो । अहिले विकसित भएको भनिएका जातिको आदिम समाजमा एकै परिवार वा नातागोताभित्र विवाह गर्ने प्रचलन थियो ।

त्यो वेला जनसंख्या ठूलो हुँदैन थियो । सुरक्षाका लागि समूहबद्ध पनि हुनुपर्थ्यो । समूहबाट छुटेपछि बाँच्न गाह्रो हुन्थ्यो । जंगली जनावर र अर्को समूहको आक्रमणमा परिने भएकाले नै नातागोता वा परिवारभित्र विवाह हुन्थ्यो ।

आफ्नै परिवार वा समूहभित्र हुने विवाहलाई मानवशास्त्रमा आदिम साम्यवाद भन्ने गरिन्छ । त्यो समय यस्तो थियो, जहाँ महिला प्रमुख हुन्थे । महिलाको नाम थाहा हुन्थ्यो, पुरुषको हुँदैन थियो । रिकपा र रिबिमाको कथा भनेको आदिम साम्यवादी समाजको कथाको अवशेष हो ।

त्यसवेला तीन पुस्तामा विवाह हुने गर्थ्यो । त्यसैले रिकपाले तीन जुनी लिएको कथा छ । अहिले सामान्यता सात पुस्तामा विवाह हुन्छ । यसो हुनु भनेको जनसंख्या बढेर गएपछिको परिणाम हो । तर, मुसलमानहरुमा त अझै पनि छोटो पुस्तामै विवाह गर्ने प्रचलन छ ।

रिकपा र रिबिमाको मिथ भनेको खेतीपातीको सुरुवात कसरी गरियो भन्ने पुर्खाहरुको अभ्यासलाई डकुमेन्टाइज गर्न किराँतीहरुले मिथमा परिणत गर्दोरहेछ । मिथ भनेको हाम्रो पुर्खाको उहिलेको जीवन भोगाइ हो । उनीहरुले भोगेको जीवनलाई रमाइलो कथाको संरचनामा ढाले । त्यो कथालाई संस्कार, संस्कृतिसँग जोडे । त्यसकारणले गर्दा यस्ता कथाहरु जीवन्त बनेर गए । संस्कार, संस्कृतिसँग नजोडिएको भए कथा उहिल्यै मरिसक्थ्यो ।

त्यो जंगली बँदेल, यो घरपालुवा सुँगुर

मान्छे खेतीपातीमा प्रवेश गरेपछि रैथाने हुन थाल्यो । एकै ठाउँमा बस्न थाल्यो । तर, खेतीपातीको आविष्कार मान्छेले फुत्त गरेको चिज भने होइन । जंगलमा पशुपंक्षीले जे अन्न खान्थे, त्यो देखेर खान मिल्ने रहेछ भनेर मान्छेले सिक्यो ।

सुँगुरले जंगली कोदो बोचार्मा मज्जाले खान्छ । सुँगुरले मात्रै खाने कागुनी पनि हुन्छ ।

त्यो समयमा बँदेलले खाएपछि मान्छेले पनि खान मिल्छ भनेर मान्छेले खेती सुरु गरे । बँदेलले जे अन्न खान्छ, त्यो मान्छेले पनि खेतीपाती गर्न थालेपछि जंगलको भन्दा मलजल गरिएको अन्न स्वादिलो र पोसिलो हुने भयो, मीठो पनि ।

बँदेललाई मान्छेले खेती गरेको अन्न मीठो भएपछि मान्छे र बँदेलको संगत एकदमै बढी भयो । खेतीपाती गरेर मान्छे स्थिर रुपमा बसेपछि बँदेललाई पनि समातेर मान्छेले घरपालुवा बनाउन थाल्यो, ११ हजार वर्षअघि । त्यही बँदेल अहिलेको घरपालुवा सुँगुर बन्यो ।

कुनै समय आर्यहरुको पनि प्रिय भोजन थियो सुँगुर

अहिले हामीले हाम्रो खाना र पहिरनलाई सांस्कृतिक आवरण दियौं । त्यसैले कुनै कुरा खान्छौं, कुनै खाँदैनौं । तर, कुनै वेला सबै जातजातिको साझा नियति थियो बँदेल । सबैले शिकार गर्ने हो, सबै जंगलमा बस्ने हो । त्यसो हुँदा सबैभन्दा सुगम तरिकाले शिकार गर्न माछापछि बँदेल नै सजिलो थियो । पोसिलो पनि थियो ।

तर, अहिले आर्यहरुले सुँगुर खाँदैनन् ।

उनीहरुले सुँगुर नखानु भनेको बायोलोजिकल कारणले गर्दा होइन, सांस्कृतिक कारणले हो । जब उनीहरु भारतीय उपमहाद्वीपमा आइपुगे, यता पहिला नै स्थापित द्रविड र किराँतहरु थिए ।

आर्यहरुको द्रविड र किराँतहरुसँग जम्काभेट भएपछि ठूलो सांस्कृतिक अन्तरविरोध पैदा भयो । त्यसपछि सबैले आआफ्नो सिम्बोललाई सुपेरियर बनाउन सांस्कृतिक प्रतिस्पर्धा सुरु भयो । आर्यहरुका लागि सुँगुरलाई अपवित्र बनाएपछि उसको श्रेष्ठता हासिल हुने भयो । अन्य जातिले बाख्रा खानु नराम्रो भनेपछि उनीहरुको श्रेष्ठता हासिल हुने भयो ।

तर, यसमा सुँगुर र बाख्राको कुनै दोष थिएन ।

आर्यहरु भारतीय उपमहाद्वीपमा आएपछि किराँती र द्रविडहरुसँगको संघर्षको परिणाममात्रै हो, उनीहरुले सुँगुर खान छाड्नु । नत्र संसारभरका मान्छेहरुको प्रिय भोजन हो सुँगुर ।

युरोप, अमेरिकाको गोरो प्रजातिको मान्छे र भारतीय उपमहाद्वीपका आर्यहरुको वंश एकै हो । फरक केही छैन । उतातिर सुँगुर बेजोडसँग खान्छन्, यता खाँदैनन् । यो सांस्कृतिक कारणमात्रै हो । यसको पुष्टि विभिन्न प्राचीन ग्रन्थहरुले समेत गरेका छन् ।

अर्कातिर मुसलमानहरुले पनि सुँगुर खान्थे, अहिले भने खाँदैनन् । मध्यपूर्वका मुलुकहरुमा मुसलमानहरुको बाक्लो बस्ती छ । त्यहाँ पुरातात्विक उत्खनन् गर्दा ८ देखि १० हजार वर्ष पुराना सुँगुरका हाडहरु भेटिएका छन् । यसले के प्रमाणित गर्छ भने मुसलमानहरुले पनि कुनै समय पौष्टिक आहाराको रुपमा सुँगुर खान्थे । तर, उनीहरुको भेट पनि द्रविड र किराँतहरुसँग भयो ।

त्यहाँ पनि सांस्कृतिक लडाइँ सुरु भयो । त्यो लडाइँले उनीहरुले सुँगुरलाई अपवित्र बनाए । त्यसैले आफ्नो संस्कृतिलाई श्रेष्ठ बनाउने लडाइँमा मात्रै केही जनावर पवित्र र केही अपवित्र भएको हो । नत्र संसारका सबै मान्छेको डीएनएमा सुँगुर छ ।

आर्यहरुले गाई खान्थे, यज्ञमा गाईकै बलि दिन्थे

भैंसी संस्कृति भारतको द्रविड र नेपालको भोटबर्मेली भाषीसित प्रशस्त छ । जस्तोः किराँत समुदायकै कुरा गर्दा राईहरुले अर्नाको सिङ बजाउनुपर्छ । अहिले पनि खालिङ राईहरुले बजाउँदैछन् । कुलुङ राईहरुले पनि भूमि पूजा गर्दा मधेसको अर्नाको लामो सिङ बजाउने गरेका छन् । वाम्बुले राईहरुले राँगाको टाउको घरको मूल ढोका अगाडि राख्नुपर्छ ।

काठमाडौं उपत्यकामा आउँदा काठमाडौंका पुराना मन्दिरहरुमा अर्नाको सिङ हुन्छ । यसले के पुष्टि गर्छ भने भैंसी संस्कृति दक्षिण एसियाको ठूलो साझा संस्कृति हो । लिम्बूहरुले त भैंसीलाई पुर्खा नै मानेर पूजा गर्छन् ।

भैंसीको उत्पादन क्षेत्र भनेको चीनको ह्वाङ हो नदीदेखि दक्षिण एसियाको उर्बर मैदान हो । यो क्षेत्र भैंसीका लागि उर्बर क्षेत्र हो । यस क्षेत्रमा पहिलादेखि नै भैंसीको शिकार गर्नु, खानु सामान्य भयो । त्यसैले यहाँका द्रविड, किराँतहरुले भैंसी संस्कृतिको विकास गरे ।

दक्षिण एसियामा भैंसी संस्कृति स्थापित हुँदा ककेसियाको पहाड छिचोल्दै आएका आर्यहरु गाईपालक भइसकेका थिए । आर्यहरु गाई धपाउँदै भारतीय उपमहाद्वीप छिरेका थिए । त्यसवेला उनीहरुका लागि गाई पवित्र या अपवित्र भन्ने नै थिएन । उनीहरु गाई पाल्थे । दूध, दही, घिउ खान्थे ।

गाईको मासु पनि खान्थे । गाइलाई पितृ र प्रकृतिको पूजाको क्रममा बलि पनि चढाउँथे । थुप्रै ग्रन्थहरुले यसलाई पुष्टि गरिसकेको छ । आर्यहरुले राम्रो कोरली गाईलाई यज्ञमा बलिसमेत दिने गर्थे ।

तर, आर्यहरु भारतीय उपमहाद्वीपमा छिर्दा यताका द्रविड र किराँतहरुसँगको सांस्कृतिक युद्ध प्रधान भइसकेको थियो । द्वन्द्व प्रधान नबन्दासम्म चाहिँ आर्यहरुका लागि गाई पवित्र थिएन । उनीहरुका निम्ति भोजन नै थियो ।

१९०० देखि २१०० वर्ष अगाडिसम्म आर्यहरुले गाईको भोजन गर्थे भनेर प्रमाणित समेत भइसकेको छ । त्यसवेलासम्म सांस्कृतिक श्रेष्ठताको सिद्धान्त प्रतिपादन नभइसकेकाले उनीहरु गाईलाई माता मान्दैन थिए ।

तर, जब आर्यहरुको भैंसी संस्कृतिवाला द्रविडहरुसँगको सांस्कृतिक वर्चस्वको लडाइँ चरम भएर गयो, उनीहरुले भैंसीलाई अपवित्र बनाए । महिसासुर बनाए । आफ्नो गाईलाई पवित्र बनाए । त्यसपछि उनीहरुले गाईको मासु खान छाडे, पुज्न सुरु गरे ।

द्रविडहरुमा भने भैंसीको ठूलो अर्थ छ । दक्षिण भारतमा अहिले पनि दूध मन्दिरमा चढाउन नै भैंसी पाल्ने गरिन्छ । त्यो भैंसीको दूध उनीहरु खाँदैनन् । पूजामा मात्रै प्रयोग गर्छन् ।

आर्यहरु भारतीय उपमहाद्वीपमा आइपुग्दासम्म उनीहरुले भैंसी देखेका थिएनन् । यता आइपुगेपछि मात्रै भैंसी देखेका थिए । त्यसैले उनीहरुले भैंसीको नाम ‘गोवल’ राखेका रहेछन् । गोवलको संस्कृतमा अर्थ हुन्छ, गाई जस्तो । यसले के पुष्टि गर्छ भने उनीहरुमा भैंसीको ज्ञान थिएन, गाईको मात्रै थियो ।

तर, भारतीय उपमहाद्वीपमा दुई समुदायको जम्काभेट हुँदा उनीहरुबीच वर्चस्व र स्वपहिचानको निम्ति संघर्ष भयो र पवित्र-अपवित्रको सिलसिला प्रारम्भ भयो ।

आर्यहरुले जितेको त्यो सांस्कृतिक वर्चस्वको लडाइँ

आर्यहरु स्वाभाविक रुपमा अहिले विश्वभरि फैलिएका जातिहरुमध्ये सबैभन्दा कठिन संघर्ष गरेर आएको जाति हो । एसिया र दक्षिण एसियामा उनीहरु सबैभन्दा पछिल्लो पटक आइपुगे ।

उनीहरु आइपुग्दा यहाँ पहिल्यै स्थापित समुदाय, संस्कृति र भूगोल थियो । त्यस्तो ठाउँमा आएर आफूलाई स्थापित गर्नु निकै नै कठिन थियो उनीहरुलाई ।

जसलाई कठिन पर्छ नि, उसले उपाय सोच्न थाल्छ, नयाँ तरिका खोज्न थाल्छ । आर्यहरु हिँडिरहने जाति हुन् । हिँडिरहने भएकाले उनीहरुसित नयाँ नयाँ ज्ञानहरु थिए । बसिरहनेसँग त आफूसँग भएको ज्ञानमात्रै हुन्छ । तर, हिँडिरहनेसँग त थुप्रो ठाउँको ज्ञान हुन्छ ।

अनि बसिरहनेसँग भएको ज्ञानको तुलनामा हिँडिरहने आर्यहरुको ज्ञान श्रेष्ठ सावित हुने नै भयो ।

त्यस्तै उनीहरुको खुबी चाहिँ के देखिन्छ भने उनीहरु हिँड्दै गर्दा आफूलाई अनुकूल लाग्ने कुरालाई अंगीकार गर्थे र त्यसलाई अझै समृद्ध बनाएर लैजान्थे । जस्तोः योगको परम्परा आर्यहरुको होइन । उनीहरु त त्यसै काम गरेका हुन्छन्, गाई लखेटेका हुन्छन् । उनीहरुलाई त त्यसै योग हुन्थ्यो । जो बसिरहन्छ, त्यसका लागि योग चाहिने हो । शहरिया संस्कृतिमा आवश्यक हो योग ।

सिन्धु घाँटीमा थियो योग । सिन्धु घाँटी धेरै ठूलो शहरी संस्कृति भएको ठाउँ थियो त्यो वेला । त्यहाँ योगको विकास भएको थियो । तर, आर्यहरुले त्यो योगलाई अनुकरण गरेर यति समृद्ध बनाइदिए कि माथिल्लो स्तरमा लगेर विकास गरिदिए ।

आर्यहरुले संस्कृत ग्रन्थहरुमा जे जे कुराहरुलाई दार्शनिक ज्ञानको रुपमा उचाइ दिएका छन्, जे जे मिथहरुलाई महाकाव्यको रुप दिएका छन्, त्यो सबै भारतीय आदिवासी समाजमा भएको कथा हो । आर्यहरुको आफ्नो होइन ।

आयुर्वेदको ज्ञान पनि उनीहरुको आफ्नो होइन । त्यो द्रविडहरुसँग भएको ज्ञान हो । रामायण, महाभारतको कथाको स्रोत द्रविड समाज हो । द्रविड समुदायमा सानो आकारमा रहेको कथालाई आर्यहरुले महाकाव्यको स्तरमा समृद्ध बनाइदिए । द्रविडहरुको आयुर्वेदको ज्ञानलाई पनि समृद्ध बनाइदिए ।

अनि जोसँग समृद्ध ज्ञान छ, उसैले जित्ने हो । शासन गर्ने हो । त्यसकारण आर्यहरुसँग खुबी बेजोड छ । आफूलाई अनुकूल लाग्ने चिजलाई ग्रहण गरेर विस्तारित बनाउने कला उनीहरुमा छ ।

आर्यहरुको नेपाल प्रवेश

आर्यहरुले गंगाको मैदानमा जरा गाडेर बसेका थिए । त्यो समय २६०० देखि २८०० वर्ष अगाडिको अनुमान गरिँदोरहेछ । असम त २६ सय वर्षअघि मात्रै पुगेका रहेछन् ।

गंगाको फाँटिलो, उर्बर, गाई पाल्न जंगल, घाँस भएको उत्तम ठाउँमा उनीहरु बसेका थिए । आर्यहरुले धेरै समय जरा गाडेर बसेको भनेको गंगाको मैदान नै हो । त्यहाँबाट उनीहरुलाई तलमाथि गर्नु जरुरी थिएन ।

एकथरि विद्वानहरु गोपाल, महिषपालहरु आर्य हुन् भन्ने तर्क गर्छन् । गाई पाल्ने र भैंसी पाल्ने भएकाले अहिले आर्यहरुले दुवै पाल्छन् । त्यसैले गर्दा काठमाडौं उपत्यकामा भएका गोपाल र महिषपालहरु आर्य नै हुन् भन्ने तर्क गर्छन् ।

तर, मेरो फरक तर्क चाहिँ के हो भने यहाँ गोपाल र महिषपालहरुको शासन तीन हजार वर्षभन्दा पुरानो हो । तीन हजार वर्षको हाराहारीमा आर्यहरु गंंगाको मैदानमै थिए । अनि गंगाको त्यति ठूलो फाँट छाडेर यस्तो कन्दरामा आउने सम्भावना देखिँदैन । त्यसकारण काठमाडौं उपत्यकको गोपाल र महिषपालहरु आर्य होइनन् ।

बरु पहाडमा भोट बर्मेली भाषी जाति जुन थियो, त्यो जाति नै गाईपालक र भैंसीपालक हो । काठमाडौं उपत्यकामा शासन गर्ने गोपाल र महिषपालहरु भोटबर्मेली नै हुन् । अहिले पनि नेवारभित्र स्यापु र म्हेपु भन्ने दुईथरि नेवार छन् । यो भनेको गाई पाल्ने र भैंसी पाल्ने भनेको हो । त्यो वर्ग यहाँ नेवारभित्रै छ । यो वर्ग सम्भवतः द्रविड र किराँतको मिक्सअपबाट बनेको हुनसक्ने मानवशास्त्रीय अध्ययन छ ।

त्यसैले काठमाडौंमा सुरुमा आर्यहरु आएको तर्क कमजोर छ । गंगाको उर्बर मैदान छाडेर यस्तो खोंचमा आउन उनीहरुलाई जरुरी थिएन ।

उसो भए आर्यहरु कहिले आए त ?

अहिले काठमाडौंको पुरातात्विक अध्ययन नै गर्न नसकिने अवस्था छ । शहरीकरण यति अव्यवस्थित भयो कि त्यसले हाम्रा पुराना बस्तीहरु पूरै छोपेर राखेको छ । अनि भूकम्प आउँदा जग खनेर उत्खनन् गर्नुपर्ने अवस्था छ । अथवा केही मन्दिर भत्किएको वेला त्यसको जगमा अनुसन्धान गर्दा केही आधारहरु देखिन्छन् । हाँडीगाउँमा सत्यनारायणको मन्दिर छ । त्यो मन्दिर बेरारर्डी भन्ने पुरातत्वविद्ले उत्खनन् गरेका थिए । उत्खनन्को क्रममा त्यहाँ कुनै समय भारतमा प्रचलित मुद्राहरु भेटियो । उत्तर भारतमा प्रयोग हुने बुट्टा कुँदिएको माटाका भाँडाहरु भेटिए ।

नेपाल र उत्तर भारतबीच निकै पहिला नै व्यापार हुन्थ्यो । २४ सय वर्षअघि कौटिल्यको अर्थशास्त्रले भनेकै छ यसबारे । नेपाल र भारतको अहिलेको पटनाबीच व्यापार हुन्थ्यो । व्यापार भए पनि यहाँ बसोबास नै गर्ने हिसाबले चाहिँ सत्यनारायण मन्दिरमा गरिएको उत्खनन्लाई आधार बनाउन सकियो ।

मन्दिर उत्खनन् गर्दा त्यहाँ बाछोले दूध खाइरहेको कामधेनु गाईको चित्र माटोको भाँडामा कुँदिएको थियो । यो चित्र आर्यसँग सम्बन्धित छ । उक्त चित्र १९०० देखि २१७० वर्ष अगाडिसम्मको अनुमान गरिँदो रहेछ । त्यसलाई आधार मान्दा आर्यहरुको काठमाडौं प्रवेश १९०० वर्षदेखि २२०० वर्षसम्मलाई मान्न सकिन्छ ।

प्रकृति पूजा र पितृ कार्य आर्यहरुले पनि गर्थे

संसारभरिकै आदिवासीले धर्ती र प्रकृतिलाई धन्यवाद दिने गर्छन् । सबै पितृपुर्खालाई सम्झेर धन्यवाद दिने गर्छन् । तर, आर्यहरुले त्यसो गर्दैनन् । उनीहरुले त सर्वशक्तिमान भगवानको कल्पना गरे । तर, भारतीय उपमहाद्वीपमा आउँदासम्म उनीहरु प्रकृति र धर्तीकै पूजा गर्थे । हावा, पानी, घाम, जंगलकै पूजा गर्थे ।

वेद भनेको त सारमा प्रकृति पूजाको कथा न हो । तर, पछिल्लो समय सर्वशक्तिमान भगवानको कल्पना गर्नुमा उनीहरुलाई त्यो आवश्यक थियो । उनीहरुले राज्यको विकास गरिसकेपछि मान्छेलाई अनुशासनमा बाँध्न घामको कथा सुनाएर भएन । शक्तिशाली कृष्णको कथा सुनाएपछि मात्रै मान्छे डराउने भए ।

शक्तिशाली विष्णु, महादेव भनेपछि मान्छे तह लाग्ने भएकाले उनीहरुले शक्तिशाली भगवानको कल्पना गरे । नत्र उनीहरु पनि पितृपुर्खा र प्रकृतिपुजक नै हुन् ।


प्रतिक्रिया

One thought on “अध्येता भोगिराज चाम्लिङको समाज विमर्श (१) : संसारका सबै मान्छेको डीएनएमा सुँगुर छ

  1. वाम्बुले ऱाईहरुको मुख्य पितृपूजा (खाउमो) गरेर घरको मूल ढोकामा राँगाको सिङ् सहितको टाउको सधैको लागि राखिन्छ किन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर