सरस्वती प्रतीक्षासँग भ्यालेन्टाइन संवाद: प्रेमले मलाई जितेर हार्नुभन्दा हारेर जित्न सिकायो
काठमाडौं । पोखराको फेवा ताल युगौंदेखि आफ्नै सुरमा मग्न छ । यो ताल आफैंमा शान्त छ । तर, बतासका झोंकाहरु पानीमा ठोक्किँदा बेलाबेला चलमलाउँछ । अनि फेरि आफ्नै लयमा फर्कन्छ । फेवा तालकै शहर पोखराकी स्थायी बासिन्दा साहित्यकार सरस्वती प्रतीक्षा पनि आफ्नै सुरमा हुन्छिन् । पोखरामै बसेर लेख्छिन् । बेलाबेला काठमाडौंबाट प्रकाशित हुने पत्रिकाहरुमार्फत् लेखहरु छाप्छिन् । स्वयं पनि काठमाडौंको साहित्यिक माहोलमा आइपुग्छिन् बेलाबेला । अनि फेरि पुरानै लयमा फर्कन पोखरा नै पुग्छिन् ।
‘यद्यपि प्रश्नहरु’, ‘विम्बहरुको कठघरा’ उनका प्रकाशित कवितासंग्रह हुन् । ‘नथिया’ उनको उपन्याससमेत प्रकाशित छ । सयौं कविता, कैयौं संस्मरण, निबन्ध, कथा लेखेकी सरस्वती प्रतीक्षा व्यक्तिगत जीवनमा भने ‘सिंगल’ छिन् । तर, उनकै शब्दमा ‘डिभाइन लभ’ मा छिन् । एकतर्फी होस् या दुईतर्फी, उनी प्रेम गर्नमात्रै सिपालु होइनन्, प्रेमका विषयमा बोल्न पनि उस्तै पोख्त छिन् ।
यिनै दर्शनसँग जोडेर प्रेमबारे बोल्न खप्पिस सरस्वती प्रतीक्षालाई हामीले प्रेमका केही प्रश्न सोधेका छौं । उनले लिखित रुपमा जवाफ फर्काएकी छन् । उनै सरस्वती प्रतीक्षासँग गरिएको प्रेम संवादः
– नेपालमा महिला लेखकहरु प्रेमको कुरा गर्न उति रुचाउँदैनन्, किन ?
नेपाली समाजको मनोविज्ञान एकदम दोहोरो चरित्रको छ । यहाँ एकातिर प्रेमको प्रतीक मानेर दिनहुँ राधाकृष्णको पूजा गरिन्छ, अर्कोतिर प्रेम जायज, नाजायज भनेर वर्गीकरण पनि यही समाजले गर्छ । घृणा गर्दा हामी खुलमखुला गर्छौं, मानौं कुनै गर्वको कुरा गरिरहेछौं । प्रेम गर्दा चाहिँ लुकेर गर्छौं, मानौं कुनै पाप गरिरहेछौं । यस्तो दोहोरो चरित्र बाँचिरहेको समाजमा एउटी महिला लेखकका अनेकौं सामाजिक र पारिवारिक अप्ठेरा हुन सक्छन् । त्यसैले प्रेमको सवालमा मौनता साँध्न बाध्य हुने होला !
– तपाईंको विचारमा प्रेम समस्या हो कि समाधान ?
प्रकृतिमा हावा वा पानी फरक फरक क्वालिटीको भए जस्तै प्रेम पनि फरक फरक क्वालिटीको हुन्छ । खराब क्वालिटीको प्रेम गरेको खण्डमा प्रेम नै समस्या बनिदिन्छ । राम्रो क्वालिटीको प्रेम गरेको खण्डमा प्रेम आफैंमा एक समाधान हो ।
– प्रेम झूटो हो कि साँचो कसरी थाहा पाउने ? त्यस्तो कुनै विशेष तरिका हुन्छ ?
वास्तविक प्रेम प्राकृत हुन्छ भन्ने लाग्छ । एउटा मान्छे अनेकौं पत्र-पत्रमा बाँचिरहेको वर्तमान परिप्रेक्ष्यमा आफूभित्रको सबैभन्दा नैसर्गिक र सक्कली रुप जसको सामु निर्धक्क देखाउन सकिन्छ, त्यो प्रेम नै चोखो हुन्छ । जब सम्बन्धमा आवश्यकताभन्दा बढी नाटकीय हुन्छ, कुनै न कुनै स्वार्थले गाँजिएर मान्छेले आवश्यताभन्दा बढी गुडनेसको अभिनय गर्छ, त्यो प्रेम झूटो हुन्छ सायद ।
– महिलाले प्रेमीबाट आशा राख्ने मुख्य पाँच कुरा के के हुन् ?
भनाइ नै छ नि ‘लभ इज नट इनफ इन लभ ।’ यो भनाइ यसै भनिएको होइन । प्रेमलाई प्रेमले मात्र जोगाउन सक्दैन । जोगाउन अरु जे जे चाहिन्छ, सायद त्यही चाहन्छे एउटी महिलाले आफ्नो प्रेमीबाट । जस्तो कि समझदारी र स्पेस । समझदारीलाई विश्वाससित जोडेर हेर्न पनि सकिन्छ । केयरिङ, शेयरिङ र डेयरिङ एउटी महिलाले चाहने महत्वपूर्ण कुराहरु यस्तै यस्तै त हुन् ।
– प्रेमी र प्रेमिकाबीचको सबैभन्दा रोमान्टिक माहोल कस्तो हुनसक्छ ?
यो त नितान्त व्यक्तिगत स्वभाव र रोजाइमा भरपर्छ । जस्तो कि एउटी युवतीलाई सुमधुर संगीतमा वाइनको ग्लास जुधाउँदाको मादकता मन पर्नसक्छ, उसैको प्रेमी नन्अल्कोहलिक रहेछ भने उनीहरुबीचको रोमान्टिक माहोलले अरु नै कुरा माग गर्नसक्छ । यो व्यक्तिपिच्छेको स्वभाव र रोजाइमा भरपर्ने कुरा हो ।
– मान्छेले जीवनमा एक पटक प्रेमको अनुभव लिन पर्छ वा पर्दैन ?
अनुभव लिउँ न त भनेर कोरियन डिस वा थाइ फुड खान गए जस्तो हुँदैन प्रेम । अनुभव लिने उद्देश्य राख्दैमा कसैसित प्रेम हुन्छ नै भन्ने छैन । कसैको जीवनमा बारबार प्रेम घटित हुनसक्छ, कसैको जीवनमा एक पटक पनि प्रेम घटित नहुन सक्छ । त्यसैले अनुभव लिन पर्छ वा पर्दैन भन्ने कुरा अलि व्यवहारिक लाग्दैन । फेरि पनि आफ्नो शक्ति र कमजोरीको सीमा के हो भनेर थाहा पाउन पनि मान्छे एक पटक गम्भीर प्रेममा पर्न चाहिँ जरुरी छ ।
– प्रेममा पर्दाका पाँचपाँच फाइदा र बेफाइदा के के हुन् ?
प्रेमले जीवनलाई नयाँ ढंगबाट एक्सप्लोर गर्न सघाउँछ । यसले तपाईंलाई साहसीमात्र होइन, दुस्साहसी पनि बनाउँछ । प्रेमले मान्छेभित्रको केटाकेटीपन पनि जगाइदिन्छ । कसैका सामु झुक्न र चुपचाप अहम् फुकाल्न सिकाइदिन्छ । यसले भुवा झैं नरम हुन र चट्टान झैं कडा हुन पनि सिकाइदिन्छ । रिस, घुर्की, झगडा, तनाव आदि चाहिँ प्रेमका साइड इफेक्ट हुन् । यीमध्ये के के फाइदा हुन् र के के बेफाइदा ? तपाईं आफैं केलाउनुस् !
– तपाईंको जीवनको पहिलो प्रेमलाई कसरी सम्झनुहुन्छ ? कि बिर्सिसक्नु भयो ?
सम्झने भनेर सधैं सम्झने पनि होइन र बिर्सेको भनेर पूरै बिर्सेको पनि होइन । स्मृति र विस्मृतिको बीचमा कतै केही हुन्छ भने मेरो पहिलो प्रेम त्यतैकतै होला । मान्छेहरुले पहिलो प्रेमलाई लिएर बढी नै ग्लोरिफाइ गरे जस्तो लाग्छ । म चाहिँ त्यसरी ग्लोरिफाइ गर्न रुचाउँदिनँ । एक दशकभन्दा बढीको केवल एकतर्फी प्रेम हुनाले पनि पहिलो प्रेमको सन्दर्भमा म प्रेमभन्दा पनि प्रेमको अवधारणामा बाँचें भन्ने लाग्छ ।
– तपाईंलाई सबैभन्दा बढी मनपरेको प्रेमको कविता कुन हो ?
मलाई सबैभन्दा बढी मनपरेको प्रेमको कविता म आफैंले लेख्नै बाँकी छ ।
– तपाईंको नजरमा आदर्श जोडी कस्ता हुन्छन् ? त्यस्तो कुनै उदाहरण दिन सक्नुहुन्छ ?
मेरो विचारमा आदर्श जोडी ती हुन्, जो आफ्नो प्रेम प्रदर्शन गर्नमा भन्दा चुपचाप प्रेममा बाँच्न विश्वास गर्छन् । गहिरो प्रेममा हुनेहरुले प्रेम निभाउँछन् न कि प्रेमको नौटंकी देखाउँछन् । गोपनीयताका कारण म कसैको नाम त लिन सक्दिनँ । तर, प्रेममा सबै कुरा न्यौछाबर गरेर प्रेम निभाइरहेका जोडीहरु देखेकी छु ।
– मानिस एक पटक प्रेममा परेपछि फेरि प्रेममा पर्न सक्ने खतरा कति छ ? तपाईंको अनुभवले के भन्छ ?
जीवनमा एकाध प्रेमहरु प्रेमको रिहर्सल जस्तो बनेर आइदिन्छन् । त्यतिबेला प्रेम नै लागेको त्यो भावना वर्षौंपछि फर्केर हेर्दा प्रेम जस्तो केही थियो भन्ने पनि लाग्छ । तर, तपाईंले साँच्चै नै आफ्नो सोलमेट भेट्नु भो भने न त्यो प्रेम कहिल्यै पुरानो हुन्छ, न प्रेमको आद्रता घट्छ न त फेरिफेरि अरु कसैलाई प्रेम गर्ने सम्भावना नै बाँकी रहन्छ । यसर्थ पनि पहिलो प्रेमभन्दा अन्तिम प्रेम महत्वपूर्ण हुन्छ भन्ने लाग्छ मलाई ।
– उमेरअनुसार प्रेमलाई हेर्ने दृष्टिकोण र प्रेम गर्ने तरिकामा फरक आउँछ भन्छन् । त्यस्तो हो ?
अवश्य हो । उमेरसँगै मान्छेमा मात्र परिपक्वता आउँदैन, उसले गर्ने प्रेममा पनि परिपक्वता आउँछ । शुरुशुरुमा खोला झैं गड्गडाउँदै बग्ने प्रेम जतिजति समय बित्दै जान्छ, उतिउति सागर झैं गहिरो र शान्त हुँदै जान्छ ।
– प्रेममा मान्छे पागल हुन्छ भन्छन् । यो भ्रम हो कि सत्य ?
एक हदसम्म सत्य हो । कसैलाई प्रेम गर्नु भनेको उसैसित समाहित हुन तयार हुनु हो । सम्पूर्ण रुपमा समाहित हुन मेरो अस्तित्व कति र उसको अस्तित्व कति भनेर हिसाबकिताब नै नगरी एक हुन राजी हुनु हो । यो खाले समर्पणमा पुग्न पागलपनको पराकाष्ठामा नपुगिकन सम्भव नै हुँदैन । यसर्थ प्रेम पागलपन पनि हो एक प्रकारले ।
– प्रेमलाई लुकाउन सकिन्छ ? मान्छेहरु त भन्छन् कि साँच्चिकै कोही प्रेममा प¥यो भने उसले प्रेमलाई लुकाउनै सक्दैन ।
प्रेम दिलले गर्ने भए पनि प्रेम हेराइमा पनि देखिन्छ, अनुहारको भावभङ्गीमै देखिन्छ, शरीरको हाउभाउमै देखिन्छ । प्रेमले खिलखिलाएको अनुहारको आभा नै अर्कै हुन्छ । यसर्थ नजिककाले त्यसको छनक पाउनु स्वाभाविक पनि हो । सामाजिक सञ्जालमा छिनछिनमा हुँदो नहुँदो लेखेर प्रेमको बारे थाहा दिने काइदा भने अलि सस्तो र काइते लाग्छ मलाई ।
– तपाईंले भ्यालेन्टाइन डेमा गुलाफ उपहार पाउनु भएको छ ? प्रेम दिवसमा के के उपहार पाउनुभयो, सम्झना छ ?
गुलाफ उपहार त पाएकी छु । तर, भ्यालेन्टाइन डेमा होइन । म वर्षमा एक दिनमात्र प्रेम दिवस मनाउने भन्ने कुरामा विश्वास गर्दिनँ । प्रेम गर्नेहरुको निम्ति त हर दिन नै प्रेम दिवस हो, हर दिन नै भ्यालेन्टाइन डे हो । जसले एक दिनेवाला प्रेम दिवस मनाउँदैन, उसले प्रेम दिवसमा उपहार दिने वा पाउने भन्ने सवाल नै भएन ।
– तपाईंले जीवनमा पाएको सबैभन्दा सुन्दर प्रेम प्रस्ताव कस्तो थियो ? पछिल्लो पटक अन्तिम पटक कसैले गरेको प्रेम प्रस्ताव कस्तो थियो ? कसरी लिनुभयो उक्त प्रस्तावलाई ? स्वीकार्नुभयो कि नाइ ?
जिन्दगीको प्याराडक्स के भने मेरो जिन्दगीका एकाध प्रेम विनाप्रस्ताव नै घटित भए । यो वा त्यो रुपमा आउने प्रेम प्रस्ताव चाहिँ मैले सधैं सम्मानपूर्वक नै अस्वीकार गरिरहें । मसित प्रेम प्रस्ताव राख्ने कसैलाई पनि आजसम्म अपमान गरेको वा बेइज्जतीपूर्ण ढंगले ‘नो’ भनेकी छैन । लामो समयसम्म आफैंले एकतर्फी प्रेम गरेकाले पनि होला, कसैले प्रेम प्रस्ताव राख्दा म त्यो संवेदनशीलताको कदर गरेर नै अस्वीकार गर्छु । अस्वीकारको पीडा सहन नसकेर पुरुष अहंकारवशः कसैकसैले त्यसैलाई अहम्को विषय बनाएर बजारमा हुँदोनहुँदो भन्दै हिँड्छन्, त्यो बेग्लै कुरा !
पछिल्लो पटक प्रेमभन्दा पनि विवाहका प्रस्तावहरु पो धेरै आइरहेका छन् । तर, म जिन्दगीको यस्तो मोडमा आइसकें- अब मलाई न कुनै नयाँ विवाहको जरुरत छ न त नयाँ प्रेमको । साँच्चै भन्नुपर्दा वर्षौंदेखि म भावनात्मक रुपमा ठहरावको स्थितिमा छु ।
– प्रेमले मान्छेलाई अन्ततोगत्वा कमजोर बनाउँछ भनिन्छ । साँच्चिकै हो र ? तपाईंको अनुभव के छ यसमा ?
प्रेममा हुँदा आफ्नो प्रेमी वा प्रेमिकासामु कमजोर हुनु र कमजोरी देखाउनु बेग्लै कुरा ! समग्रमा प्रेमले कमजोर बनाउँछ भन्ने म मान्दिनँ । प्रेममा प्रेमभन्दा बढी अहम् भयो भने त्यसले कमजोरमात्र बनाउँदैन, प्रतिशोधको बाटोमा गएर एकले अर्कोलाई सक्न नै उद्यत हुन्छ मान्छे । होइन भने सामान्यतया प्रेमले मान्छेलाई बलियो बनाउँछ । यसले छुट्टै खाले आँट र ऊर्जा दिन्छ ।
– तपाईं प्रेम र विवाहलाई कसरी लिनहुन्छ ? प्रेममा सम्झौता हुन्छ कि हुँदैन ?
विवाह संस्थागत कुरा हो र प्रेम प्राकृतिक । विवाह संस्था स्थापना नहुँदा पनि मान्छेहरु प्रेम गर्थे । कुनै दिन विवाह संस्थाको अन्त्य भएछ भने पनि मान्छेहरुले प्रेम गरिरहनेछन् । प्रेम आफैं हुन्छ र विवाह गर्नुपर्छ । ‘हुनु’ र ‘गर्नु’को बीचमा जे अन्तर हुन्छ, त्यही अन्तर प्रेम र विवाहको बीचमा छ । अपवाद जस्तो कसैकसैको विवाहमा प्रेम पनि घुलित भएर आउँछ, त्यो बेग्लै कुरा ! सम्झौता विवाहमा गर्नुपर्छ किनभने विवाहमा सन्तानदेखि सम्पत्तिसम्म, नातागोतादेखि घरव्यवहारसम्म थुप्रै कुराहरु जोडिएका हुन्छन् । प्रेममा केको सम्झौता !
– प्रेमको कारणले कहिल्यै रुनुभएको छ, कुनै घटना याद छ ? रुनु भएको छैन भने किन रुनुभएन ? तपाईंसँग त्यस्तो के तागत थियो ?
कसैले प्रेममा पनि छु भन्छ र म रुँदै रुदिनँ भन्छ भने त्यो फगत एक ढोंग हो भनेर बुझ्दा हुन्छ । सत्य हो, प्रेमले खुशी दिन्छ । तर, खुशीसँगै घुर्की, झगडा, शंका, गाली सब कुराको प्याकेजको नाम हो प्रेम । म पनि यसबाट अछुतो छैन । एक पटक होइन, पटक पटक रोएकी छु ।
– प्रेमको कारणले नै मुस्कुराएको कुनै विशेष घटना छ ? छ भने कहिले घटेको थियो, कस्तो अवस्थामा घटेको थियो ?
प्रेमको कारणले जो मान्छे हरदिन नै मुस्कुराइरहेको हुन्छ, उसलाई मुस्कुराएको कुरा भन्न कुनै घटना नै सम्झन पर्दैन । जसरी प्रेमविना कारण हुन्छ, त्यसरी नै प्रेमको कारण मुस्कुराउन पनि कुनै घटना वा अन्य कारण नै चाहिँदैन ।
– प्रेमको कारणले केही गुमाएँ जस्तो लाग्छ ? लाग्छ भने के गुमाउनुभयो ?
कहिलेकाहीँ प्रेमको कारणले आफ्नो स्वतन्त्रता गुमाएँ कि भन्ने लाग्छ । पखेटा हुँदाहुँदै पनि उड्न मन नलाग्नु अनि उसलाई जमिन मनपर्छ भनेर उसको आसपास बस्न मन लाग्नुले आफ्नो भागको आकाश गुमाएँ कि भन्ने लाग्छ । फेरि पनि यो सबको बदलामा जे पाएकी छु, त्यो सबैभन्दा महत्वपूर्ण छ मेरा लागि । पाउनुको फेहरिस्तसामु एकाध कुरा गुमाउनु त केही हुँदै होइन ।
– तपाईंको जीवनमा प्रेम (जो टुटे पनि होलान् या नटुटेका पनि होलान्)ले सिकाएको सबैभन्दा ठूलो पाठ के हो ?
प्रेमले मलाई जितेर पनि हार्नुभन्दा हारेर पनि जित्न सिकायो । पाएर पनि नपाउनुभन्दा नपाएर पनि पाउन सिकायो । सँगै भएर पनि सँगै नहुनुभन्दा सँगै नभएर पनि सँगै हुन सिकायो ।
बेजोड । सन्तुष्टिको भरपूर खुराक । लाजवाब विश्लेषण ।