बिहीबारदेखि काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन सुरु हुँदै – Nepal Press

बिहीबारदेखि काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन सुरु हुँदै

काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ बिहीबारदेखि नेपालमा पहिलो पटक विश्व सामाजिक मञ्चको सम्मेलन सुरु हुने भएको छ । काठमाडौंमा सुरु हुने सम्मेलनको १६औँ संस्करणमा ९२ मुलुकका करिब ४० देखि ५० हजारको सहभागिता हुने अपेक्षा गरिएको छ ।

सम्मेलनको उद्घाटन समारोह बिहीबार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ भने विषयगत छलफल तथा सम्मेलन र समानान्तर सत्र शुक्रवारदेखि आइतबारसम्म भृकुटीमण्डप क्षेत्रमा हुनेछन् । यसमध्ये अन्तर महादेशीय युवा मञ्च १७ फेब्रुअरी २०२४ मा आयोजना हुनेछ । हरेक दिन कार्यक्रम विषयगत प्लेनरीबाट सुरु हुनेछन्, त्यसपछि समानान्तर सत्र, सभा सम्मेलन हुनेछन् र दिनको अन्त्यतिर सांस्कृतिक कार्यक्रमका साथ समाप्त हुनेछन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ताको सहभागिता अनिवार्य हुने जनाइएको छ । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय दुई कार्यक्रम दर्ता भएका छन् ।

विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने नेपाल आयोजक समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकेले जानकारी दिए ।

उनका अनुसार मञ्चले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउँदै आएको छ ।

सम्मेलनमा वर्ल्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकारजस्ता विषयमा बहस छलफल गर्नेछ भने सीमान्तकृत सामाजिक समूहले लैङ्गिकता यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रम गर्नेछन् ।

यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाको संरक्षण, जवाफदेहिताजस्ता विषयमा बहस गर्नेछ ।

मञ्चको अन्तर्राष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र : ऐक्यबद्धता, सामाजिक र पुँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र सङ्घर्ष, प्यालेस्टाइन समसामयिक सवालमा सन्ध्याकालीन क्याफे संवाद हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *