दुर्गा प्रसाईँले फैलाए एनआईसी एशिया बैंक डुब्न लागेको हल्ला, के हो वास्तविकता ? – Nepal Press

दुर्गा प्रसाईँले फैलाए एनआईसी एशिया बैंक डुब्न लागेको हल्ला, के हो वास्तविकता ?

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले एनआइसी एशिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो बचत झिक्न भनिरहेका छन् । उनको यो भनाइपछि थुप्रैले साच्चै एनआईसी बैंक डुब्न लागेको हो भन्दै समाजिक सञ्चालमै चासो व्यक्त गर्न थालेका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रूपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई बुझाउनुपर्ने सावाँ/ब्याज बुझाएका छैनन । उल्टै, ऋणीहरूलाई समेत ऋण नतिर्न अभियान चलाइरहेका छन् ।

यसैबीच उनले एनआईशी एशिया बैंकको नाम नै तोकेर सामाजिक सञ्जालमा लेखेका छन्, ‘एनआईशी एशिया बैंक डुब्दै, आफ्नो बचत निकाल्नुहोला । सञ्चालक भागे भने सहकारीको जस्तो हालत होला । बेलेमा होस पुर्‍याउनु होला ।’

केही दिनअघि एनआईसी एशियाले आफ्नो ५० वटा शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेको समाचार आएपछि बैंकले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधीरनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै उक्त समाचार कपोकल्पित भएको भन्दै बैंकको गम्भीर ध्यानाकर्षण भएको बताए । बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका लागि आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको उल्लेख गर्दै समाचारको खण्डन समते उनले गरे ।

के छ त एनआईशी एशियाको वित्तीय अवस्था ?

एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड ३८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यद्यपि अघिल्लो वर्षको यसै अवधिको तुलनामा नाफा ४१ प्रतिशतले कम हो । तर, बैंकको नाफा गत वर्षको तुलनामा घटेको भएपनि नोक्सान भएको भने होइन । दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड रूपैयाँमा झरेको छ । सञ्चालन नाफा ४ अर्ब ६९ करोडबाट घटेर ३ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । एनआईशीको खराब कर्जा दर ०.५८ प्रतिशत विन्दुबाट बढेर १.१९ प्रतिशतमा पुगेको छ । बैंकहरूमा ५ प्रतिशत भन्दा कम खराब कर्जा हुनु सामान्य मानिन्छ । यस बैंकको २ प्रतिशतभन्दा पनि न्यून खराब कर्जा छ ।

हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ रहेको छ । केन्द्रीय बैंकको प्रावधानअनुसार बाणिज्य बैंकहरूको न्यूनतम चुक्तापुँजी ८ अर्ब रूपैयाँ हो । यो बैंकसँग ३ खर्ब ८१ अर्ब ३९ करोड ६० लाख रूपैयाँ निक्षेप छ । ऋण लगानी ३ खर्ब २ अर्ब ६५ करोड ५० लाख रूपैयाँ छ । ४ अर्ब १२ करोड फिक्स्ड एसेट छ भने ३ अर्ब ४० करोड रूपैयाँ गैरबैंकिङ सम्पत्ति छ ।
१ अर्ब ३८ करोड ७० लाख कर्मचारी खर्च छ भने कार्यालय सञ्चालन खर्च १ अर्ब ८ करोड ७० लाख रूपैयाँ छ ।

बैंक डुब्न लागेको संकेत राष्ट्र बैंकले कसरी पाउँछ ?

नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमकारी निकाय नेपाल राष्ट्र बैंक हो । संसारभरका केन्द्रीय बैंकले उसको अण्डरमा रहेका बैंकहरूको अनुगमन तथा नियमन गर्छ । नेपालमा हाल २० वटा बाणिज्य बैंक छन् । १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी छ । पुँजीका हिसाबले ‘क’ वर्गका बाणिज्य बैंक बलिया बैंक हुन् । उनीहरूलाई केन्द्रीय बैंकले स्थलगत, गैरस्थलगत र विशेष अनुगमन गर्छ । उनीहरूको अनुगमन गर्दा बैंकको लिक्विडिटी पोजिसनलाई प्राथमिकता दिएर हेर्ने भएकाले यसमा एनआईशी एशिया बैंक सन्तोषजनक अवस्थामा रहेको केन्द्रीय बैंकका सूचना अधिकारी डा. भागवत आचार्यले बताए । उनले बजारमा आएको हल्लामा कुनै पनि सत्यता नभएको बताए । तथापि, नाफामा आएको गिरावटका कारण पुँजी पर्याप्ततामा दबाब परेको चाहि सत्य हो, आचार्यले भने । यसको सीडी रेसियो ७७.१८ प्रतिशत छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दिन भन्नु वित्तीय अपराध भएको भन्दै यो नतिरी नहुने सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *