विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित
काठमाडौं । विश्वकप लिग-२ मा नेपाल पहिलो खेलमा पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले नामिबियासँग ४ विकेटले हार व्यहोर्यो ।
नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नामिबियाका जान फ्रान्कलिनले ३४ र जान निकोल लफ्टी इटनले ३१ रन बनाए ।
८४ रनमा ५ विकेट गुमाएको अवस्थामा इटनले आक्रामक ब्याटिङ गरेका थिए । नेपालका सोमपाल कामीले ३, ललितनारायण राजवंशीले २ र रोहित पौडेलले एक विकेट लिए ।
नेपालले त्रिवि क्रिकेट मैदानमा १५ खेलपछि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हारेको हो ।
सन् २०२२ को नोभेम्बरयता नेपालले त्रिवि मैदानमा खेलेका सबै १५ एकदिवशीय अन्तर्राष्ट्रिय खेल जितेको थियो ।
नेपालले अब शनिबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक श्रींखला सुरु भएको हो ।
नेपालले विश्वकप लिग–२ मा कुल ९ वटा त्रिकोणात्मक शृंखला खेल्ने छ । हरेक शृंखलामा नेपालले दुवै टोलीसँग २/२ खेल खेल्ने छ ।