सरकारी छाप र जरायोको सिङसहित नेविसंघका नेता पक्राउ
पोखरा । सरकारी छाप र जरायोको सिङसहित नेविसंघका नेतासहित ३ जना पक्राउ परेका छन् । पोखराको महेन्द्रपुलस्थित ब्लु ह्वेल होम डेकोरबाट छाप र जरायोको सिङसहित ३ जनालाई कास्की प्रहरी पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्युरो पोखराको टोलीले पृथ्वीनारायण क्याम्पस पोखराका नेविसंघका पूर्व सभापति सलिश (सतिश) बास्तोलासहित सुजन गिरी र विवेक श्रेष्ठलाई पक्राउ परेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
उनीहरूको साथबाट छाप बनाउन प्रयोग भएको मेसिन, मनिटर र सिपियु बरामद भएको डीएसपी विकले बताए । सरकारी कागजात किर्ते गर्ने गतिविधि गरेको आशंकासहित उनीहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा १० दिन म्याद थपेर अनुसन्धान सुरु भएको डीएसपी विकले जानकारी दिए । पक्राउ परेकाहरूलाई बरामद भएको सिङसहित थप अनुसन्धान प्रक्रियाका लागि डिभिजन वन कार्यालय कास्की पठाउने तयारी छ ।