कांग्रेसकै मन्त्रीहरूको आलोचनामा विश्वप्रकाशको प्रतिवेदन- प्रचण्ड सरकारको अपजसको भारी कसले बोक्ने ? – Nepal Press

कांग्रेसकै मन्त्रीहरूको आलोचनामा विश्वप्रकाशको प्रतिवेदन- प्रचण्ड सरकारको अपजसको भारी कसले बोक्ने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुष्पकमल दाहाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न प्रस्ताव गरेका छन् ।

महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘एकल बहुमत नभएको स्थिति र शक्ति बाँडफाँटको पाँच वर्षे सहमति अनुरूप गठबन्धनभित्रको दोस्रो दलको नेतृत्वमा हामी सरकारमा सहभागी छौं । सरकारमा सहभागिताको वर्ष दिन पुग्नै लाग्दा हुँदै गरेको महासमिति बैठकमा सरकारको प्रभावकारिता र कमजोरीउपर हामीले खुलेर छलफल गर्नुछ भने हाम्रा मन्त्रीहरूले सम्हालेको मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुछ ।’

वर्तमान सरकारमार्फत कम्तीमा संविधान रक्षाको साझा कार्यभार सम्पादन भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी अपर्याप्त भएपनि सुशासनको दिशामा केही प्रयास गरेको शर्माको जिकिर छ ।

प्रतिवेदनमा भनिएको छ, ‘जटिल मोडमा पुग्दै गरेको अर्थतन्त्र क्रमशः सम्हालिंदै सुधारोन्मुख दिशामा छ । यद्यपि नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आबद्ध पार्टीका साथीहरूमा भरपर्दो विश्वास जगाउन सरकारले सकिरहेको छैन ।’

वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छवि गाँसिएको भन्दै सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरूको भारी बोक्नुपर्ने ? भन्ने प्रश्न र असन्तुष्टि कांग्रेसको पार्टी पंक्तिमा रहेको प्रतिवेदनमा लेखिएको छ ।

कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नै भएपनि केही मन्त्रीको भूमिका प्रभावकारी नदेखिएको शर्माले उल्लेख गरेका छन् ।

‘प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू एवं स्थानीय तहको हाम्रो नेतृत्वको कार्यसम्पादन प्रभावकारिताको समीक्षा प्रदेश कार्यसमिति मार्फत अलग्गै गर्नुपर्ने छँदैछ तर महासमितिको यो बैठक सबै तहको सरकारमा रहेका पार्टी प्रतिनिधिहरूलाई जनअपेक्षाको कसीमा खरो उत्रने ढंगले कार्यक्षमता र गति बढाउन निर्देशित गर्दछ’, शर्माको प्रतिवेदनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर