दियो चोरेको आरोपमा महिलालाई मलमूत्र खुवाइयो, झाँक्री पक्राउ
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-७ मा ‘बोक्सी’ को आरोप लगाएर एक महिलालाई मलमूत्र खुवाइएको छ ।
५५ वर्षीया महिलालाई कुटपिट गर्दै उनलाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको मोरङ प्रहरीले बताएको छ । घटनामा संलग्न आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी पक्राउ परेकी छन् । माझीको घरबाट हराएको दियो चोरेको ती वृद्धमाथि आरोप लगाइएको छ ।
जिप्रका मोरङका डीएसपी रञ्जनकुमार दाहालले झाँक्री माझीलाई बिहीबार साँझ पक्राउ गरिएको बताए । दाहालका अनुसार माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएकी थिइन् ।
प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको महिलामाथि आरोप लगाइएको हो । माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको भन्दै मलमूत्र खुवाएको स्वीकारेकी छन् ।
पीडितले किटानी जाहेरी दिइसकेका छन् । डीएसपी दाहालले अनुसन्धानका लागि अदालतबाट आज म्याद थपेर मुद्दा प्रक्रिया अघि बढाइने बताए ।