कांग्रेसको नीति प्रस्ताव- नयाँ दलको लोकरिझ्याइँप्रति आक्रोश, पुराना सबै मित्र ! – Nepal Press

कांग्रेसको नीति प्रस्ताव- नयाँ दलको लोकरिझ्याइँप्रति आक्रोश, पुराना सबै मित्र !

उपसभापति खड्काको प्रतिवेदन- इतिहास साक्षी छ, कांग्रेसको आँखामा सत्ता छैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसका लागि सत्ता ठूलो नभएको उल्लेख गरेका छन् । फागुन ७ गते सुरु हुने महासमिति बैठकको लागि तयार पारिएको नीति प्रस्तावमा उनले नेकपा दुई चिरा भएको बेलामा व्यवस्था रक्षाको लागि सडकमा ओर्लिएको उल्लेख गरेका छन् ।

प्रस्तावमा भनिएको छ, ‘इतिहास साक्षी छ, नेपाली कांग्रेसको आँखामा सत्ता होइन, लोकतन्त्र थियो र छ । कांग्रेसको ध्येय र ध्यान भनेकै लोकतान्त्रिक पद्धति र चरित्रको संरक्षण हो । सत्ताकै मात्र लोभ गरेको भए नेकपा काँक्राको चिराझैँ चिरिएको र तहसनहस भएको समयमा नेपाली कांग्रेस निर्वाचनमा जाने थियो र पूर्ण बहुमतसहित सत्तामा पुग्ने थियो । तर, केवल सत्ता होइन, नेपाली कांग्रेसले संविधानको रक्षा र कार्यान्वयनलाई मूल मुद्दा बनायो र आमनागरिकको साथमा सडकमा ओर्लियो । सत्तामा को रहने वा नहरने भन्दा पनि नागरिकले सत्ता फेर्न पाउने अधिकारसहितको लोकतान्त्रिक शासन व्यवस्था नै फेरिन्छ कि झैं संगठित सर्वसत्तावाद र राज्य कब्जाको स्थिति थियो । त्यो विषम परिस्थितिमा नेपाली कांग्रेसले परिवर्तनको रक्षा गर्ने दायित्वको नेतृत्व लिनुपर्ने थियो र लियो ।’

परिवर्तनलाई संस्थागत गर्नुपर्ने दायित्वबोध गरेका अन्य दल तथा कतिपय दलभित्रका परिवर्तनकारी जुझारु शक्ति र सर्वोच्च अदालत समेतको संवैधानिक एवं विवेकपूर्ण फैसलाका कारण काबु बाहिर जान लागेको राष्ट्रिय राजनीतिक परिस्थिति सह्मालिएको उल्लेख छ ।

कांग्रेसको नेतृत्वले जिम्मेवार ढङ्गले काम गर्दा मुलुक फेरि लोकतान्त्रिक मार्गमा फर्किएको उपसभापति खड्काले जिकिर गरेका छन् ।

उनले अहिले आमतहमा रहेका कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी हुन खोजेको बताएका छन् । नयाँ दलप्रति लक्षित गर्दै समस्या तथा अप्ठेराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजेको उनले आरोप लगाएका छन् ।

मूलतः लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको उनको विश्लेषण छ ।

लोकरिझ्याइँ : दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रस्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नु नै लोकरिझ्याइँ हो । त्यही लोकरिझ्याइँ गर्नेहरूको राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न गौरवपूर्ण इतिहास छ न त विश्वस्त भविष्य । न लोकतन्त्रप्रतिको प्रतिबद्धता छ न त भावी यात्राको प्रस्ट मार्ग चित्र नै । यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको व्यापार गर्न प्रयत्नशील छन् ।

अधिनायकवाद : लोकप्रियताको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिए तापनि सारमा लोकतन्त्रविरोधी नै हुन् । उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न राष्ट्रको वृहत्तर हितको दायित्वबोध छ न त जिम्मेवारी । भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा जनमत तयार पारेर तिनीहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयासमा छन् । घृणाको राजनीति र त्यही घृणाको आवरणमा अधिनायकवाद लाद्ने प्रयत्नहरू भइरहेका छन् ।

पुनरुत्थानको कुचेष्टा : राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आमनागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ रहेको छ । यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तनविरुद्ध आवाज उठाउनेहरू पनि देखिएका छन् । राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो । इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन । पुनरुत्थानको प्रयास जस्तो देखिने सडक कर्म खासमा प्रयास होइन, केवल अर्थहीन कुचेष्टामात्रै हो ।

‘चुनौती कांग्रेसले सम्हाल्छ’

उनले नेपाली कांग्रेसलाई तत्कालीन नेकपाको सरकारले वि.सं २०७४ पछिको समय खेर फाले झैँ अहिलेको समय खेर फाल्ने छुट नभएको उल्लेख गरेका छन् ।

पछिल्लो निर्वाचनपछिको यो समय खेर नजाओस् भन्ने पक्षमा कांग्रेस दृढ रहेको प्रस्तावमा भनिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘परिस्थिति अप्ठेरो छ । चुनौती छन् । समस्या छन् । तर, नेपाली कांग्रेस छ र यो परिस्थितिलाई नेपाली कांग्रेसले सह्माल्छ । नेपाली कांग्रेसका एकएक सदस्य साथीहरू यस परिस्थितिलाई आफ्नो स्थानमा रहेर सम्हाल्न र नेतृत्व दिन सक्षम छन् । प्रगति तथा समुन्नतिको तीब्र र उत्कट चाहना बोकेर भौतारिइरहेका व्यक्तिका चासो र सरोकारलाई हामी सम्बोधन गर्छौं ।’

अबको दिनमा नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूलभूत मान्यताको जगमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी ढङ्गले प्रत्येक व्यक्तिको चासो, सरोकार, आवश्यकता र चाहनालाई सम्बोधन गर्न नेपाली कांग्रेस फेरि पनि प्रतिबद्ध रहने उल्लेख छ।

‘कुनै दलप्रति दुश्मनीको साइनो छैन’

उनले कांग्रेसले सबै राजनीतिक दललाई सहकर्मी तथा राजनीतिक मित्र ठान्ने बताएका छन् ।

प्रस्तावमा भनिएका छन्, ‘अनेक दल हुन्छन् र लोकतन्त्र हुन्छ, अनि प्रतिस्पर्धा हुन्छ । आफूमात्र भएको कल्पना त घोर निरंकुशता हो । नेपाली कांग्रेसको कुनै पनि दलप्रति विशेष आग्रहसहित मित्रवत र कुनै दलप्रति दुश्मनीको साइनो छैन । शान्तिपूर्ण, मैत्रीपूर्ण र लोकतन्त्रप्रति विश्वास भएका सबै राजनीतिक दल नेपाली कांग्रेसका मित्र हुन् । तर, हत्या, हिंसा, लोकतन्त्रविरोधी गतिविधि भने नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य हुनेछैन, सह्य हुनेछैन ।’

लोकतन्त्रको उदारता प्रयोग गरेर लोकतन्त्रकै गला रेट्न उद्यत दल तथा समूहप्रति भने कहिल्यै उदार हुन नसक्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

भनिएको छ, ‘उदारता र दलहरूप्रतिको सम्मान नेपाली कांग्रेसको सीमा हो । तर, दलीय पद्धतिप्रतिको विष वमन र उग्रताविरुद्ध भने नेपाली कांग्रेस दृढतापूर्वक चट्टान भएर उभिइरहने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर