वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल पराजित, एसिया कपको ढोका बन्द
काठमाडौं । नेपाल यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा पुग्न असफल भएको छ । मलेसियामा जारी एसीसी वुमेन्स प्रिमियर कपको सेमिफाइलनमा मलेसियासँग ४ विकेटले पराजित हुँदै नेपाल एसिया कपमा पुग्न असफल भएको हो ।
वुमेन्स प्रिमियर कपको फाइलनमा पुगेका मलेसिया र युएई एसिया कपमा छनोट भएका हुन् ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाकी एलिसा हन्टरले सर्वाधिक ६९ रन बनाउँदै जिततर्फ पुराइन् । बलिङमा सीता रानामगर र कविता जोशीले २-२, कविता कुवर र रुविना क्षेत्रीले १-१ विकेट लिएपनि जितका लागि प्रयाप्त हुन सकेन ।
यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै ११५ रन बनाएको थियो । नेपालका नेपालका लागि कप्तान इन्दू बर्माले २९, ओपनर कविता कुँवर २३, सीता रानामगर ६, रुबिना क्षेत्रीले २० र डली भट्टले २५ रन बनाएकी थिइन् । बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन् ।