भरतपुर विमानस्थल विस्तार प्रक्रिया सुरु
चितवन । भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अघि बढेको छ । भरतपुर महानगरपालिका मेयर रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विमानस्थलको विस्तारको प्रक्रिया तत्काल बढाउने सहमति भएको हो ।
विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइनअनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आर्चायले जानकारी दिए ।
सर्भे आगामी सोमबारबाट सुरु गरी एक हप्ताभित्र सक्ने गरी काम थालिनेछ । मेयर दाहाल, उपमेयर चित्रसेन अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गर्ने कार्य एक साथ अगाडि बढाउने सहमति गरेको भरतपुर महानगरले जनाएको छ ।
महानगरका अनुसार सर्भे रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्नेछ ।
यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ ।
गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले व्यहोर्नेछ ।
विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलगायत संरचना छन् । ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर-पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनु पर्नेछ ।
विमानस्थल विस्तार हुँदा ठूला जहाजले समेत अवतरण र उडान गर्न सक्नेछ । हालको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् ।
विमानस्थल विस्तार भएपछि रात्रिकालीन उडान, ठूलो क्षमताको जहाज, धेरै वटा फ्लाइट, जहाजको फ्युल पम्प निर्माण हुने बताइएको छ ।