रौतहटमा मूर्ति सेलाउने क्रममा झडप, प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यु
जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिका ७ घिउराटोलमा सरस्वती मूर्ति विसर्जनका लागि जाने क्रममा दुई समुदायबीच झडपपछि स्थिति अनियन्त्रित बन्दा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी भइसकेको जानकारी दिए । उनका अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
कर्फ्यु उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने बताए । उनले भने, ‘त्यहांको अवस्था ठिक छैन । झडप भएको छ । स्थित नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको छ ।’ उनले झडपमा कति जना घाइते भएकोबारे डिटेल नआएको बताए ।
घिउराका विद्यार्थीहरूले सरस्वती पूजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि डिजे बाजाको विषयमा विवाद भएको थियो । त्यसपछि मूर्ति सेलाउने कार्यक्रम रोकियो । आज प्रहरीको रोहबरमा दुवै पक्षबीच छलफल भएपछि डिजेबाजा अर्को बाटो भएर लैजाने गरी मूर्ति सेलाउन दिने सहमति भएको थियो ।
सहमति अनुसार नै सरस्वती मूर्ति सेलाउन जाने क्रममा मुस्लिम समुदायका व्यक्तिले ढुंगामुढा गरेपछि झडप भएको स्थानीयले बताएका छन् । झडपपछि दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते छन् ।