सालकको खपटासहित मकवानपुरबाट दुई जना पक्राउ
हेटौँडा। मकवानपुरको थाहा नगरपालिकाबाट दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब १० किलो ६ सय ९० ग्राम, गाँजा जस्तो देखिने २ किलो ८ सय १४ ग्राम र करिब १ किलो २ सय ७८ ग्राम तौलको संरक्षित जनावर सालकको खपटासहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-७ डाँडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलीप कुमार गोले रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चित्लाङ र इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक श्याम थापा मगरको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ रहेको छ ।