एमाले नेताको आत्महत्या प्रकरण- मदिराले लट्ठ डिएसपीको मापसे चेकको माग गर्दै चरिकोटमा प्रदर्शन
डिएसपी खड्काको टर्चर सहन नसकेर एमाले नेता कपिलमणि न्यौपानेले आत्महत्या गरेको भन्दै सहकारी सञ्चालक र डिएसपीविरुद्ध किटानी जाहेरी दिने तयारी
चरिकोट । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी निवासी नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य कपिलमणि न्यौपानेको आत्महत्या प्रकरणमा जोडिएका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दीपक खड्काको मापसे चेक गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
डिसपी खड्काको टर्चरका कारण न्यौपानेले आत्महत्या गरेको भन्दै आफन्तले शव पोष्टमार्टम गर्न दिएका थिएनन् । शनिवार साँझ वार्ताका लागि बोलाइएकोमा जिल्ला प्रहरी कार्यालयमा वार्ता टोली पुग्दा डिएसपी खड्का मदिराले लठ भएको अवस्थामा थिए ।
अघिल्लो दिन पनि मदिराकै सुरमा उनले मृतक न्यौपानेलाई फोन गरेर धम्क्याएको परिवारको आरोप छ । डिएसपीको धम्कीपछि न्यौपानेले आत्महत्या गरेका थिए । डिएसपीलाई दुई जनाले समातेर क्यान्टिनतर्फ लगी कागती पानी खुवाएर सामान्य बनाउने प्रयास गरेका छन् ।
यो पनि पढ्नुहोस्: – दोलखाका एमाले नेताको आत्महत्या प्रकरण- डिएसपीको ‘टर्चर’बाट विक्षिप्त थिए न्यौपाने
यता डिएसपीको मापसे चेक गर्न माग गर्दै स्थानीय रुद्रहरी नेपाल,ऋषि बुढाथोकी,शान्ति ओली,शेखर नेपाल र साजन न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । अत्यधिक मापसे गरेर साढे ५ बजे एसपी खड्का कार्यालयमा आएपछि पीडितहरूले मापसे चेकका लागि सिडिओ टुवराज पोखरेललाई निवेदन दिएका हुन् ।
डिएसपीकै कारण न्यौपानेले आत्महत्या गरेको भन्दै सदरमुकाम चरिकोटस्थित जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी भएको छ । स्थानीयले डिएसपीमाथि कारबाहीको माग गरेका छन् । उनीसहित सहकारी सञ्चालक समितिका पदाधिकारी र कर्मचारीविरुद्ध न्यौपानेको आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिने तयारी समेत भइरहेको छ ।
पीडितपक्षले कारबाही र मापासे चेक गर्नुपर्ने भन्दै नाराबाजी सहित प्रहरी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले डिएसपी चढेको गाडी गेटनिर रोक्न खोजेपछि मदिराले मात्तिएका खड्कालाई ३ जना प्रहरीले समातेर प्रहरी परिसरमा हुलेका थिए ।
डिएसपी खड्का मदिरामा लट्ठ भएका कारण उनले प्रयोग गर्ने जिप्रका प्रमुखको मोबाइल नम्बर ९८५४०१५५५५ मा धेरै पटक फोन गर्दा पनि रिसिभ भएको छैन । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार उनी फोनमा कुरा गर्न सक्ने अवस्थामा थिएनन् ।