घोराही गोलीकान्डपछि हेडक्वार्टरको सर्कुलर – पीएसओ र घुमुवालाई दिएका पेस्तोल दुरुपयोग भए कार्यालय प्रमुखमाथि कारबाही  – Nepal Press

घोराही गोलीकान्डपछि हेडक्वार्टरको सर्कुलर – पीएसओ र घुमुवालाई दिएका पेस्तोल दुरुपयोग भए कार्यालय प्रमुखमाथि कारबाही 

काठमाडौं। सादा पोसाक तथा व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी कर्मचारीले बोक्ने पेस्तोलको दुरुपयोग बढेपछि प्रहरी प्रधान कार्यालयले मातहतलाई सर्कुलर जारी गरेको छ।

दाङको घोराहीमा प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले ड्युटीमा रहेकी श्रीमती प्रहरी जवान धनमाया थापामगरलाई गोली हानी हत्या गरेपछि प्रहरी प्रधान कार्यालयले मातहतका कार्यलय प्रमुखहरुको लापरबाही औँल्याउँदै कारबाही गर्ने चेतावनी दिएको छ। झाँक्री पीएसओका रुपमा कार्यरत थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार  व्यक्तिगत सुरक्षा एव सादा पोसाक (घुमुवा)मा खटिने प्रहरी कर्मचारीलाई हतियार दिनुपर्ने भएमा कार्यालय प्रमुखलाई जाहेर गरेर मात्र हतियार दिने तथा सो हतियार समयमै फिर्ता गरेको नगरेको अनुगमन गर्ने, कार्यालय प्रमुखले नियमित जाँच गर्नुपर्ने भएपनि लापरबाही भएको देखिएको छ।

प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखकै कमजोरीका कारण यस किसिमका घटनाहरु भएको उल्लेख गरेको छ। नियमित अनुमगन गर्न र यस्ता घटना हुन गर्न नपाउने गरी व्यवस्था मिलाउन हेडक्वार्टरले सर्कुलर जारी गरेको छ।

यस्ता घटना दोहोरिए सम्बन्धित कार्यालय प्रमुखमाथि प्रहरी नियमावलीअनुसार कारबाही हुने चेतावनी हेडक्वार्टरको छ।

यसअघि गत बैशाखमा तत्कालिन कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्किका पीएसओ प्रकाश पुन मगरको लापरबाहीका कारण एक महिला गोली लागेर घाइते भएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *