मेडिकल चस्मामा लगाइएको भ्याट खारेजीको मागसहित सर्वोच्चमा रिट दायर – Nepal Press

मेडिकल चस्मामा लगाइएको भ्याट खारेजीको मागसहित सर्वोच्चमा रिट दायर

काठमाडौं । मेडिकल चस्मामा लगाइएको मुल्य अभिवृद्धि कर (भ्याट) खारेजीको मागसहित सर्वोच्च अदालतम रिट दायर भएको छ । अधिवक्ता सृजना अधिकारी र चार्टर्ड एकाउन्टेन्ट शैलेन्द्र उप्रेतीले रिट दायर गरेका हुन् ।

प्रारम्भिक सुनुवाइका लागि मंगलबार पेशी तोकिएको छ । आर्थिक ऐन २०८० को दफा ३१ ले आँखाको विकलाङ्गता वा समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यक मेडिकल चस्मामा घुमाउरो तरिकाले भ्याट लगाइएको रिटमा उल्लेख गरिएको छ ।

संविधानले नै आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क भनेकामा सोही वर्गमा पर्ने आँखासम्बन्धी समस्याको उपचारमा प्रयोग हुने मेडिकल चस्मामा भ्याट लगाउने निर्णयले मौलिक हक र मानवीय मूल्य मान्यताको ठाडो उल्लंघन हुने रिट निवेदकको दाबी छ ।

‘नेत्र ज्योतीको समस्या हुने व्यक्तिलाई दृष्टिमा सहजता पुर्‍याउनका लागि चस्माले असिस्टिभ टेक्नोलोजीका रूपमा काम गर्ने गरेको अवस्था छ । कुनै व्यक्तिलाई जीवनको कुनै पनि अवस्थामा चस्माको आवश्यकता पर्न सक्ने अवस्था हुन्छ । त्यसर्थ, चिकित्सकको सल्लाहबमोजिम तोकिएको चस्माको प्रयोग गर्नु अति आवश्यक हो, विलासिताको वस्तु होइन । चस्माको प्रयोगले प्रयोगकर्ताको समग्र जीवनयापनमा सहजता ल्याई प्रभावकारीरूपमा कार्य गर्न सहजता ल्याउँछ ’, रिटमा भनिएको छ ।

निवेदकले आफ्नो माग सौन्दर्य प्रशोधन वा मनोरञ्जन वा गैर चिकित्साजन्य प्रयोजनका लागि उपयोग हुने चस्मा वा विलासिता वस्तुमा लाग्ने भ्याट सम्बन्धमा नरहेको पनि स्पष्ट पारेका छन् । अन्तरिम आदेश जारी भएर अन्तिम सुनुवाइका लागि अग्राधिकार पनि दिइनु पर्ने रिटमा माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *