हामीले छोड्यौं भने भुटानले पनि जित्छ जस्तो लाग्छ : सीता रानामगर
काठमाडौं । नेपाली महिला टोली मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा सेमिफाइनलबाट बाहिरियो । शत प्रतिशत नजिता निकालेका नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित हुँदै बाहिरिएको थियो ।
४ खेलमा नेपालकी पूर्व कप्तान रुविना क्षेत्रीले पहिलो शतक र सीता रानामगरले ह्याट्रिक विकेट लिन सफल भइन् । भने अन्य खेलाडीको प्रदर्शन खासै राम्रो रहन सकेन ।
टोलीकी अनुभवी खेलाडी सीता रानामगरले महिला क्रिकेटमा नयाँ खेलाडी आउन नसक्नु दुखद भएको बताइन् । ‘हामी त खेलिराखेका छौँ । अन्तर्राष्ट्रिय अम्पायरले पनि भनिराख्नुभएको छ । नेपाली टिमका रुविना र सीता गयो भने केही पनि छैन भनेर । जति पनि जुनियरहरु छ । आफूले पनि रेस्पोन्बिलिटी लिएर खेल्नुपर्छ,’ उनले भनिन्, ‘एक दुई जना त आएको छ । अझै ४/५ जना आयो भने हामीलाई ढुक्कले टिम छोड्न हुन्थ्यो ।’
उनले थपिन्, ‘अहिले पनि छोड्न मन लाग्छ । हामीले छोड्यौँ भने भुटानले पनि जित्छ जस्तो लाग्छ ।’
मलेसियालाई सजिलो रूपमा लिँदा पनि नेपाल हार्न पुगेको सीताले सुनाइन् । ‘ओभर कन्फिडेन्ट पनि भयौँ । मलेसियालाई सजिलो रूपमा पनि लियौँ । खेलमा हामी आफै हतारियौं,’ उनले भनिन्, ‘अन्तिम ओभरसम्म पनि जित्छौँ जस्तो लागेको थियो । तर, लगातार दुई चौका गएपछि हार्न पुग्यौँ ।’