सीता र रुविनाका लागि ट्रफी जित्न नसक्दा दुख लागेको छ : कप्तान इन्दु
काठमाडौं । नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले मुख्य बलर घाइते हुँदा र फिल्डिङमा चुक्दा सेमिफाइनलमा मलेसियासँग पराजित भएको बताइन् ।
एसीसी वुमन्स प्रिमियर कप क्रिकेट खेलेर सोमबार स्वदेश फर्किएकी कप्तान बर्माले ट्रफी जित्ने ठूलो आस भए पनि जित्न नसक्दा दुख लागेका बताएकी हुन् । ‘यस पटक हामीलाई ठूलो आश थियो । तर, भएन । मलेसियाविरुद्ध पनि जित निकाल्छौँ भन्ने थियो तर अन्तिम मोमेन्टमा के भयो-भयो,’ उनले भनिन् ।
सीता रानामगर र रुविना क्षेत्रीका लागि ट्रफी जित्न नसक्दा दुख लागेका कप्तान बर्माले बताइन् । सीता रानामगर र रुबिना क्षेत्रीको लागि भए पनि हामीले एउटा ट्रफी चाहिँ जित्नुपर्ने थियो । त्यो पनि सहज तरिकाले नपाउँदा एकदम दुख लाग्छ । उहाँहरूले यति लामो समय क्रिकेटलाई योगदान दिनुभएको छ । तर, हामीले जिताउन सकेनौँ,’ उनले भनिन् ।
महिला टोलीलाई फिल्डिङ कोच तथा फिटनेस ट्रेनरको आवश्यकता रहेको कप्तान बर्माले सुनाइन् ।
उनी भन्छिन्, ‘एउटा राम्रो प्रशिक्षक ल्याउनुपर्यो । फिल्डिङ प्रशिक्षक तथा फिटनेस ट्रेनर यस्तो चिज चाहिँ महिला टोलीलाई आवश्यक छ जस्तो लाग्छ ।’