सागमा ऐतिहासिक स्वर्णधारी सन्तोषी: सम्झना च्यारच्यारे स्याण्डिलको, सपना पेरिस ओलम्पिकको ! (भिडिओ)
काठमाडौं । कुनै समय एनजीओको मासिक ४० हजारको जागिर हापेर दौडिन सुरु गरेकी धावक सन्तोषी श्रेष्ठले हालै बंगलादेशको ढाकामा ४२ किलोमिटर दौडेर गोल्ड मेडल जितिन् । स्कुल पढ्दा दशैँमा किनेको टी-सर्ट, भाइको ट्र्याक र च्यारच्यारे स्याण्डिल टेकेर दौडिन सुरु गरेकी सन्तोषीले तेह्रौं सागमा १० हजार मिटरमा गोल्ड मेडल जितिन् ।
राम्रोसँग पढेर करियर बनाउने सोचेकी सन्तोषीले थाहै नपाइ दौडिन सुरु गरिन् । दौडिएरै संसारका विभिन्न शहरको चक्कर लगाइन् । दौडिएरै आफूलाई चिनाइन्, देशलाई चिनाइन् । रहरले कुद्न सुरु गरेकी उनको काँधमा जिम्मेवारी पनि थपिँदै गयो । रहरैरहरमा दौडिएकी उनलाई थाहै थिएन, ‘दौडिएरै यहाँसम्म आइपुग्छु !’ तर, निरन्तर दौडिइन्, दौडिएरै आफू चम्किइन्, देशलाई चम्काइन् ।
हिजोदेखि आजसम्मको समग्र यात्रालाई फर्केर हेर्दा उनलाई यो यात्रा कस्तो लाग्छ ?
उनी सुनाउँछिन्, ‘कहाँ पो आइपुगेछु भनेर अजीवको महसुस हुन्छ । रमाइलो पनि लाग्छ । जे गरें, ठीक गरें भन्ने लाग्छ । नोस्टालजिक पनि हुन्छु । फेरि त्यही समयमा फर्कन पाए हुन्थ्यो भन्ने लाग्छ । फेरि यसो सोच्छु, त्यो समयमा फर्क्यो भने त्यति धेरै दु:ख छन् । होइन, मलाई यहाँ नै ठीक छ भन्ने लाग्छ ।’
त्यो च्यारच्यारे स्याण्डिल, त्यो पहिलो पुरस्कार
सरसर्ती हेर्दा सन्तोषीले तेह्रौं सागमा गोल्ड मेडल जितिन् । भर्खरै सम्पन्न ढाका इन्टरनेशनल म्याराथनमा गोल्ड मेडल जितेकी छन् । तर, यो गोल्ड मेडलसम्मको उनको यात्रा कक्षा ६ बाट सुरु हुन्छ । त्यो पनि दशैँमा बुवाले किनिदिएको च्यारच्यारे स्याण्डिलसँग !
त्यो वेला निमाविस्तरको खेलकुदअन्तर्गतको प्रतिस्पर्धामा सन्तोषीले पनि आफ्नो नाम टिपाएकी थिइन् । तर, फसाद त त्यसवेला पर्यो, जब शिक्षकले भने, ‘दौडने विद्यार्थीले अनिवार्य रुपमा जुत्ता लगाउनुपर्छ !’
बुवाले किनिदिएको जुत्ता सानो भइसकेको थियो । सानो जुत्ताका कारण खुट्टामा घाउ पनि बनेका थिए । जुत्ताको नाममा च्यारच्यारे स्याण्डिल थियो । दौडनुपर्ने थियो- विष्णुमतिको किनार । जुत्ता अनिवार्य भएपछि धेरैले दौडबाट नाम झिके । तर, शिक्षकले अर्को सर्त थपे, ‘ज-जसले नाम कटाएको छ, उसले दुई सय फाइन तिर्नुपर्छ ।’
दुई सय रुपैयाँ बचाउन सन्तोषी त्यही च्यारच्यारे स्याण्डिल लगाएर दौडिइन् । ४०-५० जना प्रतिस्पर्धी थिए । उनले दायाँबायाँ नहेरी निरन्तर दौडिइन् । दौड सकिएपछि पो थाहा पाइन्, उनी त पहिलो भइछिन् !
यहाँबाट दौडिन सुरु गरेकी सन्तोषीको दौड गोल्ड मेडलसम्म पुगिसकेको छ । उनी भन्छिन्, ‘मलाई त्यो दौडपछि फेरि निरन्तरता दिन्छु भन्ने नै थिएन । तर, कतै जानु नै छ भने त्यो कुरा आफूतिरै आइरहँदो रहेछ ।’
त्यो सानी केटीले जितेको सानो ट्रफी
अलि पछि उपत्यकाव्यापी दौड प्रतियोगितामा सन्तोषी चौथो भइन् । सबैले भने, ‘ट्रेनिङ नै नगरी कस्तो राम्रो दौडेको !’
यसपछि उनले आफैं रेसहरु खोजेर दौडन सुरु गरिन् । दाइ केदार श्रेष्ठको सहयोगमा बाटो हिँडेर, सोधेर आफैं खोजीखोजी दौडन सुरु गरिन् । ती दौडको मुख्य उत्प्रेरणा थियो, केही नगद पुरस्कार ! दौड जितेपछि प्राप्त हुने नगद पुरस्कारले उनको पकेट खर्चमात्रै धान्दैन थियो, घर खर्चमा पनि साथ सहयोग हुन्थ्यो ।
‘त्यो समयमा त्यस्तो नगरेको भए यतिखेर म यस्तो हुँदिन थिएँ सायद’, उनी भन्छिन्, ‘त्यही भएर जीवनमा के होला, केही बिग्रेला भनेर सोच्नुहुन्न । जे जसो भए पनि अगाडि बढ्नुपर्छ । केही भएन भने आफूले गुमाउने केही छैन । भयो भने त धेरै थोक पाइन्छ नि !’
हेर्नुस् सन्तोषीसँगको भिडिओ कुराकानी-
सन्तोषीको अनुभवले भन्छ, केही प्राप्त भएन भने सिकाइ हुने भयो । त्यही भएर सबै कुराको अनुभव लिनुपर्छ । प्ल्याटफर्म पाउनासाथ पर्फम गरिहाल्नुपर्छ ।
सन्तोषीसँग अहिलेसम्म जितेका ट्रफीहरु घरभरि छन् । कक्षा ६ मा दौडिँदा पाएको ट्रफीदेखि म्याराथनको गोल्ड मेडलसम्म छ । वेलावेला सन्तोषी घरमा भएका पुराना ट्रफीहरु हेर्छिन् । त्यो वेलाको दौड सम्झिन्छिन् । त्यो वेलाको आफू र आफू वरिपरिको वातावरण सम्झिन्छिन् ।
सन्तोषी भन्छिन्, ‘अनि त्यो वेलाको म आफैंलाई सम्झन्छु । सानी केटी सम्झेर म आफैंलाई आफू प्यारो लाग्छ ।’
दोधारको दौड
घर धादिङ भए पनि दाइ र भाइसँग सन्तोषी काठमाडौंमा बस्थिन् । काठमाडौंका बसाइ भए पनि गाउँकै जस्तो थियो । खेतमा काम गर्नैपर्थ्यो । पानी बोक्नैपर्ने, ग्याँस र स्टोभ चलाउनैपर्ने, मट्टीतेलको लाइन, ग्यासको लाइनमा उभिनैपर्ने ।
उनी आफैं घरको एडमिनिस्ट्रेटिभ थिइन्, अकाउन्टेन्ट पनि आफैं । सन्तोषी भन्छिन्, ‘म आफैं आमाजस्ती थिएँ । जति पैसा छ, त्यतिले सबै खर्च मिलाउनुपर्थ्यो । घरमा माग्ने बानी थिएन । घरले पैसा नदिउञ्जेलसम्म जति छ, त्यतिले पुर्याउनुपर्थ्यो । घरबाट पैसा छ कि छैन भनेर सोध्दा छ भनेर भन्नुपर्छ भनेर दाइले सिकाउनु भएको थियो । हामी त्यसै भन्थ्यौं । हाम्रो संसार सानो थियो । तर, दु:ख ठूलो थियो । त्यतिवेला भने हामीलाई सुखै थियो, रमाइलो नै थियो ।’
घरमा हजुरबा, हजुरआमालाई पनि सन्तोषीकी आर्मी बुवाले नै हेर्नुपर्थ्यो । उपचार खर्च छुट्टै थियो । बालबच्चाको पढाइ खर्च छुट्टै भइहाल्यो । बुवाका यी सबै जिम्मेवारी दाइले सम्झाएको, बुझाएको बताउँछिन् सन्तोषी । घरले फोन गरेर खर्चबारे सोधे पनि दाइले जहिल्यै छ भनेर सिकाउने गरेका थिए ।
यिनै चिजहरुबाट जेलिएकी सन्तोषीको चाहना नै थिएन- ‘एक दिन खेलाडी बन्छु ।’
सन्तोषीको चाहना थियो, ‘ब्याचलर पास गरेर रिसर्चर हुन्छु । स्वास्थ्य क्षेत्रमा काम गर्छु ।’
तर पनि सन्तोषीले रेसहरु छाडिरहेकी थिइनन् । प्रतियोगिताहरु पनि जितिरहेकी थिइन् । हुँदाहुँदा राष्ट्रिय च्याम्पियनको बाटोतिर अगाडि बढ्न थालिन् ।
सँगै दक्षिण एसियन गेम पनि आइरहेको थियो । यसले फेरि लोभ्यायो उनलाई । सोचिन्, ‘पब्लिक हेल्थ, रिसर्च या अन्य पेशामा जान मसँग समय धेरै नै छ । तर, म बाँच्दाबाँच्दै उमेर टन्नै हुँदा पनि स्पोर्टस्का लागि समय हुने छैन । यही उमेर हो, बेस्ट पर्फम गर्ने ।’
यसपछि एथलेटिक्समै सक्रिय भइन् उनी । सागमा जे जस्तो नतिजा आए पनि स्वीकार गरेर त्यसपछि यो क्षेत्रबाट बाहिर निस्कने योजना बनाइन् । १२ औं साग आयो । सन्तोषी शीर्ष दुई वा तीनमा पर्ने खेलाडी थिइन् । तर, यस सागमा पहिलो हुने खेलाडीलाई मात्रै लाने निर्णय भयो । दुईवटा प्रतियोगितामा दोस्रो र एउटामा तेस्रो भएकी थिइन् । दुई जनालाई लाने निर्णय भएको भए उनी खेल्न सक्ने थिइन् ।
तर, १२ औं साग सन्तोषीका लागि अधुरै रह्यो ।
त्यो २५० को जुत्ता, यो १५ हजारको जुत्ता
केही सामान्य जुत्ताहरुबाटै सन्तोषी दौडिरहेकी थिइन् । एक दिन उनलाई कोच रघु वन्तले ७-८ वर्ष अगाडि अचानक १५ हजारको जुत्ता किनिदिए !
दौडन सुरु गर्दाताका सन्तोषीले रघुलाई चिन्दिन थिइन् । उनी आफ्नै मनमौजीले दौडिरहेकी थिइन् । कतिपय दौड प्रतियोगिताहरुमा अन्य खेलाडीका कोचहरु हुन्थे । उनको थिएनन् । उनी ती खेलाडीका कोचहरु नजिक जान्थिन्, केही सिक्न पाइन्छ कि भनेर । तर, ती खेलाडी र कोचहरु सन्तोषीलाई कसरी हराउने भनेर रणनीति बनाइरहेका थिए ।
सन्तोषीलाई पनि दौडिएरै हिँड्नु थिएन । रहरले दौडिएकी उनी आफैंमा ढुक्क थिइन्, ‘एक दिन त यो क्षेत्र छाड्छु !’
तर, जतिजति दौडँदै गइन्, उतिउति दौडको रोमाञ्चकतामा फस्दै गइन् ।
प्रशिक्षक रघु वन्तले दिदीको माध्यमबाट फोन गरे । रघुले सन्तोषीलाई पहिल्यैदेखि नियालिरहेका रहेछन् । सन्तोषीले कुनै ट्रेनिङविनै कान्छीमाया कोजु र विश्वरुपा बुढापछिका सबै खेलाडीलाई एउटा रेसमा उछिनेकी थिइन् ।
यो देखेर रघुले सन्तोषीलाई फोन गरेका थिए, प्रशिक्षण दिन्छु भनेर ।
सन्तोषी सुनाउँछिन्, ‘तर, दाइले हामीलाई पहिल्यै सिकाउनुभएको थियो सोच्न । हामीलाई कसैले अवसर दिइहाल्यो भने लिइहाल्ने, लहैलहैमा लाग्ने बानी थिएन । अरुको कुनै कुरा लिनु भनेको ‘ह्वाइ ?’ भनेर प्रश्न गर्न सिकाउनुभएको थियो ।’
रघुले सन्तोषीलाई निरन्तर सोधखोज गरिरहे । परिवारलाई पनि फोन गरेर भने । अन्तत: ६ महिनापछि प्रशिक्षक रघुसँग सन्तोषीको भेट भयो । भेटको सुरुवातमै उनले प्रशिक्षकलाई भनिन्, ‘म त ब्याचलर पढुञ्जेल मात्रै कुद्ने हो ।’
रघुले भने, ‘हुन्छ ।’
‘म त बेलुकामात्रै ट्रेनिङ गर्छु ।’
‘हुन्छ ।’
सन्तोषीले जे जे सर्त तेर्स्याइन्, रघुले सबैमा हुन्छ भनिरहे । खासमा उनलाई कुनै खालको ट्रेनिङ नै गर्नु थिएन, सिर्फ पढ्नु थियो । तर, प्रशिक्षकले सबै सर्तमा हुन्छ भनेपछि दाइसित सल्लाह गरिन् । दाइले पनि भने, ‘तिम्रो लागि यो चुनौती हो, अवसर पनि हो ।’
उनै गुरुले सन्तोषीलाई पहिलो भेटमै १५ हजारको जुत्ता किनिदिए । किन किनिदिए त ? फेरि किनेर लगाउन सक्ने अवस्था सन्तोषीको थिएन ।
तर, गुरुले कन्भिन्स गरेपछि उनले जुत्ता लगाइन् ।
शुक्रबार कान्तिपुर म्याराथन, शनिबार धरान रन सन्तोषीको कब्जामा
८ वर्षअघि गुरुकै प्रशिक्षणमा दौडन सुरु गरेपछि सन्तोषीमा पनि दौडका टेक्निक, ज्ञानहरुको विकास भइसकेको थियो । २०७२ मा धरान रन हुने भयो ।
धरान रनमा दौडने सन्तोषीको सबैभन्दा ठूलो रहर थियो । धरानमा हरेक हप्ता रन गराउने । अनि वर्षमा एउटा ग्राण्ड रनको आयोजना गर्ने, पुरस्कार पनि धेरै थियो । अघिल्ला वर्षहरुमा यो रेसमा जाने सोच सन्तोषीले अरुलाई बताउँदा कसैले पत्याएका थिएनन्, घरबाट पनि जान नदिने र ट्रेनिङ गराउने सिनियरहरुले पनि नलाने ।
यस वर्ष भने सन्तोषी धरान रनमा भिड्न जाने भइन् । सन्तोषी सुनाउँछिन्, ‘अरु सबै बसमा गएँ । तर, मलाई गुरुले प्लेनको टिकट काटिदिनुभयो । म एक दिन प्लेन जसरी पनि चढ्छु भन्ने थियो । रहर पनि थियो ।’
शुक्रबार काठमाडौंमा आयोजित हाफ म्याराथन जितेकी थिइन् उनले । शनिबार धरान रन थियो । बेलुका विराटनगर गइन् । इटहरीमा आएर बसिन् । होटेलको टीभीमा सन्तोषीले हाफ म्याराथन जितेको समाचार आइरहेको थियो । उनी शनिबारको धरान रनका लागि उत्साहित थिइन् ।
भोलिपल्ट धरान रन भयो । सन्तोषी पहिलो भइन् । उनले ३० हजार नगद पुरस्कार पनि पाइन् । अघिल्लो दिनमात्रै कान्तिपुर म्याराथनबाट १० हजार जितेकी थिइन् ।
दौडको पुरस्कारले नै खर्च चलाइरहेकी सन्तोषी
सन्तोषी कुनै विभागीय टीममा छैनन् ।
तर, ट्र्याक एण्ड फिल्डमा प्राय: विभागीय टीमको दबदबा थियो/छ । विभागीय टीम भन्नाले आर्मी, पुलिस, सशस्त्र । खेलाडीहरु भविष्यलाई सुरक्षित बनाउन विभागीय टीमसँग जोडिने गर्छन् । तर, सन्तोषीले अफर नै आउँदा पनि विभागीय टीम रोजिनन् ।
उनी भन्छिन्, ‘मलाई विनाविभागीय खेलाडी भएरै केही गरेर देखाउनु थियो । जहिल्यै हाम्रो क्षेत्रको खेलहरुका समाचारमा विभागीय टीम भनिन्थ्यो । सिभिलियनले त केही गर्नै सक्दैन भन्ने भाष्य थियो । मलाई त्यो तोड्नु थियो ।’
अन्तत: तेह्रौं सागमा स्वर्ण पदक जित्ने पहिलो सिभियलन खेलाडी बनिन् सन्तोषी । यतिमात्रै होइन, सागको इतिहासमा ट्रयाक एण्ड फिल्डको क्षेत्रमा नेपाली महिला खेलाडीले पहिलो पटक स्वर्ण पदक जितेर इतिहास नै बनाइन् । पब्लिक खेलाडीले पनि मेडल जित्न सक्छ भन्ने प्रमाणित गर्ने सपना थियो उनको, त्यो पनि पूरा गरिन् ।
तर, सन्तोषीले आर्थिक व्यवस्थापन चाहिँ कसरी गरिरहेकी छन् ?
उनी घरबाट पैसा लिँदिनन् । परिवारले उनको खर्च धान्न सक्ने अवस्था पनि छैन । तर, विभिन्न रेसहरु जितिरहेकी छन् । पहिला जागिर पनि गर्थिन् । ६-७ महिना भयो, उनले जागिर छाडेको । अहिले रेसहरु खेलेरै आफ्नो खर्चको जुगाड गरिरहेकी छन् । भर्खरै सम्पन्न पोखरा म्याराथन (२१ किलोमिटर) मा पहिलो बनेर डेढ लाख पुरस्कार जितिन् ।
उनी भन्छिन्, ‘अहिले चाहिँ टुर्नामेन्टमा जितेको प्राइस मनीले नै खर्चको जुगाड गरिरहेकी छु । तर, मैले जित्छु नै नि !’
पेरिस ओलम्पिकको सपना
सन्तोषीको विशेषज्ञता ५ हजार र १० हजार मिटरमा हो । उनले १० हजार मिटरमै सागमा गोल्ड मेडल जितेकी थिइन् । तर, अहिले भने उनी म्याराथनमा फोकस भइरहेकी छन् ।
सबै खेलाडीको सपना जीवनमा एक पटक म्याराथन गर्छु भन्ने हुने सन्तोषीको भनाइ छ । सन्तोषी पनि रिटायर्ड जीवनमा कुदौं भनेर सोचिरहेकी थिइन् । तर, यस पटक ढाका म्याराथन नै जितिन् ।
यसको एकै कारण छ, सन्तोषीको सपना ।
उनको अब एकै सपना छ, एक पटक जसरी पनि ओलम्पिक खेल्न सकुँ । यसका लागि म्याराथनबाहेक अर्को बाटो नै थिएन । १० हजार मिटरको दौडमा क्वालिफाइ नभई हुँदैन । ओलाम्पिक कमिटीले सबै देशको सहभागिता होस् भनेर एथलेटिक्स र स्वीमिङमा निश्चित कोटाहरु दिएको हुन्छ । त्यही कारण सन्तोषी यस वर्ष हुने पेरिस ओलम्पिकमा जाने सपना बुनेर हिँडिरहेकी छन् ।
ओलम्पिककै तयारीका लागि उनले यस वर्षको लण्डन म्याराथनबाट आएको अफर पनि इन्कार गरिदिइन् । सन्तोषी भन्छिन्, ‘त्यहाँ गएको भए नाम इन्ट्रीको समय पनि सकिन्छ । ओलम्पिकका लागि रिकभरीको समय पनि कम हुन्छ ।’
वाह !!! क्या खुब….
मेहनत गर्दै जाउ,
अगाडि बढ्दै जाउ,
गुरु बाजेक आशिर्वाद छ ।