प्रहरीको अनुसन्धानमा प्रभावकारी बन्दै सीसीटीभी, देशभर साढे १३ हजारभन्दा बढी जडान
काठमाडौं । गत भदौ २९ गते राति काठमाडौं तीनकुनेस्थित दिव्य स:मिलमा चार जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सीसीटीभी मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो ।
यसैगरी गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने क्रममा एक जना पीडितको साथमा रहेको एक लाख ३० हजार रूपैयाँ भएको झोला खसेर हराएको जानकारी प्राप्त भयो । सीसीटीभी मनिटरिङबाट उक्त झोला बा ६३ प ९८२७ नम्बरको स्कुटर चालकले कलंकी चोकबाट टिपेको देखियाे । चालकसँगको समन्वयमा उक्त नगद पीडितलाई बुझाउन प्रहरी सफल भयो ।
यी त केही प्रतिनिधिमूलक घटना भए । यसरी हुने दैनिक घटनाको निगरानी तथा भइसकेका घटनाको फुटेज पहिचान गरी विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने गर्छ । सीसीटीभी मनिटरिङ कक्षबाट दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै जुलुस, सभा र सम्मेलनमा तथा हुलदङ्गा गर्ने समूहलाई निगरानी गर्ने काम पनि भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए ।
उनले भने, ‘समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा संलग्नलाई पहिचान तथा कारबाही गर्न सीसीटीभी प्रभावकारी माध्यम हो । यसले चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलाप न्यूनीकरण तथा नियन्त्रण गर्न र प्रहरी परिचालनलाई सहज तथा प्रभावकारी बनाउन मद्दत पुर्याइरहेको छ । त्यसैले प्रहरी संगठनले सीसीटीभी प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।’
चालू आर्थिक वर्षको साउनदेखि माघसम्म देशभर एक हजार २९५ वटा थप सीसीटीभी जडान भएका छन् । तीमध्ये सबैभन्दा बढी कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत ३९०, काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २६१, गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत १६२, बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत १२६, लुम्बिनी प्रदेश प्रहरी कार्यालयअन्तर्गत १०३, कर्णाली प्रदेश प्रहरी कार्यालयअन्तर्गत ९४, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत ८९ र मधेश प्रदेश प्रहरी कार्यालयअन्तर्गत ७० वटा जडान भएका छन् । तीमध्ये विभिन्न संघसंस्थाबाट एक हजार ११४ वटा र प्रहरी कार्यालयबाट १८१ वटा जडान भएका हुन् ।
हालसम्म देशभर नेपाल प्रहरीले मनिटर गर्ने सीसीटीभी १३ हजार ६७५ वटा छन् । तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत तीन हजार ९९३, कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत दुई हजार ४५८, गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ६५१, मधेश प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ५३२, लुम्बिनी प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ४१०, बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ३६८, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत ८१५ र कर्णाली प्रदेश प्रहरी कार्यालयअन्तर्गत ४४८ वटा छन् ।
सीसीटीभी क्यामेराको प्रयोगले मुख्य मुख्य सडक र महत्वपूर्ण स्थानमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनीकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापन, विभिन्न प्रकारका आपराधिक तथा गैरकानूनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका रहेकोले यसको प्रभावकारिता बढ्दै गएको प्रहरी प्रवक्ता डीआईजी ढकालले बताए ।
उनले भने, ‘शान्ति सुरक्षा कायम, अपराध नियन्त्रणलगायत सुशासनसँग सम्बन्धित विषयमा प्रभावकारी काम गर्न सूचना तथा सञ्चार प्रविधि सरल माध्यम हो । यस प्रणालीलाई प्रभावकारी बनाइ त्यसको उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सीसीटीभी क्यामेराको भूमिका महत्वपूर्ण छ । क्यामेरा अकाट्य प्रमाण भएकोले घटनासँग सम्बन्धित मानिस उम्किन पाउँदैन ।’
चालू आर्थिक वर्षको पुससम्म ६ महिनाको अवधिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको तथा हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएकोलगायत अन्य विभिन्न घटनामा जम्मा एक हजार २९७ फुटेज माग भएकोमा ५८१ फुटेज उपलब्ध गराइएको छ । त्यसै फुटेजको आधारमा ४०९ वटा घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ ।
यसै अवधिमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी फरार १४ हजार ६३३ र ट्राफिक सपोर्ट कारबाही २५ हजार ६३६ गरी ४० हजार २६९ जनालाई सीसीटीभीकै आधारमा पहिचान तथा फलोअप गरी कारबाहीको दायरामा ल्याउन प्रहरी सफल भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सञ्चार तथा सीसीटीभी शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दामोदर कँडेलले जानकारी दिए ।
उनले भने, ‘आधुनिक प्रविधिको प्रयोग गर्दै चौबीसै घण्टा सीसीटीभीको माध्यमले मनिटरिङ गरी परिणाममुखी एवं प्रमाणमुखी प्रहरी कार्यलाई थप व्यवस्थित बनाउन निरन्तर लागिरहेका छौं ।’