जितगढी किल्ला प्रवेशमा अब पैसा लाग्ने – Nepal Press

जितगढी किल्ला प्रवेशमा अब पैसा लाग्ने

रूपन्देही । बुटवलको ऐतिहासिकस्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी १८७२ वैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो ।

गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

उपमहानगरले यसको संरक्षण सञ्चालन र व्यवस्थापनको लागि कार्यविधि बनाएर स्वीकृत गरिसकेको छ । जितगढी किल्लाको संरक्षण सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार जितगढी अवलोकनको लागि प्रवेश शुल्क लाग्ने भएको हो ।

कार्यविधिअनुसार सर्वसाधारण नेपाली नागरिकले जितगढी किल्ला अवलोकन गर्न २० रूपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ । विद्यार्थीको लागि १० रूपैयाँमात्र शुल्क कायम गरिएको छ । विदेशी पर्यटकको लागि भने १ सय रूपैयाँको टिकट काट्नुपर्ने छ । चलचित्रको सुटिङ र म्युजिक भिडिओको लागि १ हजार रूपैयाँ लाग्नेछ ।

सय जनाभन्दा बढीको उपस्थितिमा फिल्म सुटिङको लागि भने २ हजार ५ सय रूपैयाँ तिर्नुपर्ने छ । विद्यालयलगायत शैक्षिक भ्रमणको सिलसिलामा आएका समूहलाई प्रतिबस १ सय रूपैयाँ, अन्य अवलोकन भ्रमणमा एकमुष्ट आउने समूहले पनि १ सय रूपैयाँ तिर्नुपर्ने छ । अनुसन्धानको लागि आउने अनुसन्धानदाताको लागि ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यसको लागि उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ । नेपाली सेनाका बहालवाला सैनिक, सेनासँग सम्बन्धित तालिम अवलोकन तथा सेमिनारमा आउने व्यक्तिहरू, किल्लाको डिजाइन तथा निर्माण कार्यमा संलग्न व्यक्तिले पनि निःशुल्क प्रवेश पाउने छन् ।

सरकार तथा कुनै संघसंस्थाद्वारा जितगढीको प्रचार प्रसार गर्न निर्माण गरिने गैरव्यवसायिक वृत्तचित्रको लागि पनि प्रवेश गर्न शुल्क तिर्नुपर्ने छैन । अपांगता भएका, ह्वील चेयर प्रयोगकर्ता र यौनिक अल्पसंख्यकहरूलाई पनि निःशुल्क प्रवेश पाउने कार्यविधिमा उल्लेख छ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले छिट्टै कार्यविधिअनुसार प्रवेश शुल्कको व्यवस्था कार्यान्वयन हुने बताए ।

‘कार्यविधि अनुसार समिति पनि गठन हुन्छ । त्यसपछि सरसल्लाह गरेर कार्यान्वयनमा अगाडि बढ्छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *