सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ९३८८ जना पीडित
काठमाडौं । सन् २०२३ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सोमबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको हो ।
यसअघि सन् २०२२ मा यस्ता घटनामा घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्यांक थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लंघनका घटनामा ९ सय ८८ जना र ज्यादतीका घटनामा ८ हजार ४ सय जना पीडित भएको उल्लेख छ । तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २ हजार २७४ घटना र सबैभन्दा कम कर्णालीमा कम घटना भएका छन् ।
वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दु राखेर शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकार उल्लंघन सूचकले नेपालका सातै प्रदेशको सापेक्षिक स्थिति पहिचान गर्न मद्दत गर्ने बताए । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।