गोदावरीमा अर्थमन्त्रीको जिकिर- बिग्रिएको अर्थतन्त्र म आएर सुधारेँ (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन् । गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेस गरेको प्रतिवेदनमा आफूले अर्थमन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको जिकिर गरेका छन् ।
डा. महतले गत वर्ष २०७९ चैत १७ गते अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए ।
‘नेपाली कांग्रेसको तर्फबाट वर्तमान गठवन्धन सरकारमा प्रतिनिधित्व गरी हामी सरकारमा समावेश हुँदा र मैले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । मैले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरु कार्यान्वयनका क्रममा छन् ।’
डा. महतले पर्यटक आगमन, होटल र रेस्टुरेन्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको बताए । यस्तै विप्रेषण उल्लेखनीय रूपमा बढेको, विद्युत उत्पादन र निर्यात बढेको, घरजग्गा क्षेत्र केहि चलायमान हुने संकेत देखिएको, सार्वजनिक खर्च बढ्दोक्रमा रहेको उनले उल्लेख गरेका छन् ।
आगामी दिनमा पूँजीगत खर्च बढ्ने प्रतिनिधिलाई आश्वासन बाँडेका छन् ।
महतको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न हामी प्रयत्नशील रहेका छौं । हाल बैङ्क तथा वित्तीय प्रणालीमा तरलता सहज रही लगानीयोग्य पुँजी पर्याप्त रहेकोले लगानीको लागत कम भै उत्पादन वृद्धि हुने अपेक्षा रहेको छ । साथै, जल विद्युत, पर्यटन, कृषिमा व्यवासायीकरण र सूचना प्रविधि उद्योगलाई संभावनाका क्षेत्रको रुपमा पहिचान गरी लगानी वृद्धि गर्ने नीति लिइएकोले दूरदराज र पिछडिएको क्षेत्रमा समेत पूर्वाधार, उत्पादन र रोजगारीका अवसर सिर्जना हुने छन् ।’
अर्थतन्त्रमा चुनौती कायम रहेपनि आर्थिक परिसूचक सुध्रिँदै गएको आधारसहित अर्थमन्त्री महतले पेश गरेको प्रतिवेदनका केही बुँदा-
-पर्यटन, घरजग्गा, पुँजीबजार, निर्माण, सेवा क्षेत्रका गतिविधिहरू चलायमान हुँदै गएका छन् ।
-चालू आर्थिक वर्षमा आर्थिक वृद्धि सन्तोषजनक रहने विश्व बैङ्कको प्रक्षेपण रहेको छ । नेपालको आर्थिक वृद्धि सन २०२३ र २४ मा ३.९ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण र सन् २०२५ मा ५ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ ।
-मुद्रास्फीति ६.५ प्रतिशतको वार्षिक लक्ष्यभित्रै रहेको छ ।
-चालू आर्थिक वर्षको पहिलो ६ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।
-बाह्य क्षेत्र सन्तुलन कायम भएको छ। साथै, विदेशी विनिमय सञ्चिति पर्याप्त छ ।
-चालु आर्थिक वर्षमा ९०० मेगावाट बराबरको जलविद्युत उत्पादन थप हुने अनुमान रहेको छ । यसबाट आर्थिक गतिविधिहरू थप गतिशिल हुँदै जाने अपेक्षा रहेको छ ।
-सन् २०२३ मा पर्यटक आगमन ६५.२ प्रतिशतले वृद्धि भई १० लाख नाघेको छ। जुन कोभिड पछिकै उच्च हो । साथै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।
-वैदेशिक लगानी प्राप्तीमा सुधार हुँदै गएको छ । चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा ३ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको कात्तिक महिनासम्ममा यस्तो लगानी ४३ करोडमात्र रहेको थियो ।
-प्रभावकारी मागको सिर्जना गर्न सरकारी खर्च बढाउने, लगानीका साधनको पर्याप्तता सुनिश्चित गराउने र निजी क्षेत्रको मनोवल बढाउने गरी नीतिगत तथा संस्थागत प्रयास भएका छन् ।
-अर्थतन्त्रले गति लिई आर्थिक क्रियाकलापहरुमा बिस्तार भएकोले मध्यमकालमा आर्थिक वृद्धिको लक्ष्य प्राप्तिको आधार तयार भएको छ ।
-निजी क्षेत्रसँगको निरन्तर संवाद र सुधारका प्रयासले यस क्षेत्रको मनोबलमा क्रमशः सुधार भएको छ ।
-बजेट अनुशासन कायम गर्न लिइएको प्रयासले साधनको प्राथमिकतापूर्ण परिचालनमा सहयोग पुगेको छ।
-मौद्रिक नीतिमा हाल गरिएको सुधारले आर्थिक वृद्धिलाई सहयोग पुग्ने अनुमान छ । वित्तीय प्रणालीमा लगानीयोग्य पूँजी पर्याप्त अवस्थामा रहेको छ, यसले आर्थिक वृद्धिलाई सघाउ पुर्याउने अपेक्षा छ ।
-उत्पादनमा आधारित अनुदान प्रणालीले अनुदानको उपयोगलाई सही दिशातर्फ निर्देशित गरेको छ ।
-अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालनमा नेपालको पहिचान बढेको छ ।