श्रमदानबाट सिन्धुपाल्चोकको बरुवामा गुम्बा निर्माण – Nepal Press

श्रमदानबाट सिन्धुपाल्चोकको बरुवामा गुम्बा निर्माण

सिन्धुपाल्चोक । विसं २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ‘सङक क्षेलिङ गुम्बा’को निर्माण जनश्रमदानबाट सुरु गरिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवा निर्माणाधीन गुम्बा जनश्रमदानबाट निर्माण गर्न लागिएको गुम्बा निर्माण समितका अध्यक्ष सत्यमान तामाङले जानकारी दिए ।

उनका अनुसार गुम्बा निर्माणका लागि रु तीन करोड खर्च लाग्नेछ । “गुम्बा निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीयको श्रमदानमा निर्माण भइरहको छ”, उनले भने ।

सङ्घ र प्रदेश सरकारबारे पटक–पटक ध्यानाकर्षण गराएइए पनि अन्तिम चरणमा स्थानीय आफै गुम्बा निर्माणमा अग्रसर भएको सो वडाका निवर्तमान वडाध्यक्ष पासाङ स्याङ्बाले बताउनुभयो । गुम्बा निर्माणका लागि सहयोग जुटाउने काम भइरहेको उनको भनाइ छ ।

सात सय वर्षभन्दा पुरानो गुम्बा भूकम्पले भत्काएपछि स्थानीयलाई पूजा गर्न निकै कठिन भएको थियो गुम्बाका प्रमुख लामा छेवाङ ग्याल्बो लामाले बताए । “बर्खामा पानी पर्ने, हिउँदमा हावा चल्ने खुल्ला ठाउँमा पूजा गर्नुपर्दा धेरै समस्या हुने गरेको थियो । गुम्बा निर्माणले तीव्रता पाएसँगै ढुक्क भएको छ”, उनले भने । विसं २०७७ सालदेखि निर्माण सुरु गरिएको गुम्बामा अब मूर्ति स्थापना, रङ, बुट्टा भर्नेलगायत काम बाँकी रहेको निर्माण समितिका अध्यक्ष तामाङले बताए। कूल ४८ घर गुठी रहेको गुम्बा करिब एक रोपनी जग्गामा फैलिएको छ ।

बौद्ध धर्मअनुसारका हरेक संस्कारमा बौद्धमार्गीलाई लक्षित गर्दै गुम्बा निर्माण गरिएको समितिले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सूचीमा गुम्बा निर्माण गर्नुपर्ने उल्लेख भए पनि अहिलेसम्म पनि कुनै निकायबाट सहयोग नपाएको समितिको भनाइ छ ।

गुम्बा निर्माणका लागि हालसम्म कोषमा रहेको रु ५० लाख, जनश्रमदानबाट सङ्कलित रु ३० लाख, गाउँपालिकाबाट प्राप्त रु ३० लाख र गुठियारलगायतबाट उठेको रु ७० लाख सङ्कलन भएको समितिका अध्यक्ष सत्यमान तामाङले जानकारी दिए ।

श्रमदानबाट पनि धेरै काम गर्न सकिने रहेछ भन्ने सन्देश दिन सकिएको स्थानीय ग्याल्जेन स्याङ्बाले भने । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का अनुसार २०७२ को भूकम्पले जिल्लामा रहेका करिब दुई सय गुम्बामा क्षति पुगेको थियो ।

बौद्ध धर्मावलम्बीको विवाह, व्रतबन्धलगायत पुनित कार्य गुम्बामा आयोजना गरिन्छ । पुनःनिर्माणमा ढिलाइ हुँदा यो समुदायलाई समस्या आफ्नो रीतिरिवाजमा समस्या परिरहेको स्थानीयले बताएका छन् ।

“तामाङ समुदायको हरेक काम गुम्बाबाटै हुन्छ । भूकम्पपछि विवाह–व्रतबन्धलगायत काम गोठमा वा टहरो बनाएर गर्दै आइरहेका छौँ,” स्थानीय ग्याल्जेन स्याङ्बाले भने ।

पाँचपोखरीमा ४१ वटा गुम्बा पुनःनिर्माण गर्नुपर्ने गाउँपालिका अध्यक्ष टासी लामाले बताए । “४१ वटा गुम्बा निमार्ण गर्नुपर्ने छ, बल्ल पाँच÷छवटा बन्यो अरू पनि क्रमशः बनाउने योजना छ” उनले भने।

गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून रहेकाले पनि गुम्बा, मठमन्दिरलगायत क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसकिएको लामाले भने । पालिकाभित्र रहेका गुम्बा तथा अन्य धार्मिक संरचनाको पुनःनिर्माण र संरक्षणका लागि गाउँपालिकाले स्रोतले भ्याएसम्म आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *