वीरगञ्जमा दुई दिनदेखि कर्फ्यु, बजार सुनसान
जनकपुरधाम । दुई समुदायबीच रौतहटमा भएको झडपपछि वीरगञ्जमा पनि उग्र प्रदर्शन सुरु भएपछि हिजो साँझ ६ बजेदेखि लगाएको कर्फ्यु आज दोस्रो दिन पनि जारी छ ।
आज बिहान ६ बजेदेखि बिहान १० बजेसम्म कर्फ्यु खुकुलो पारेको थियो । कर्फ्यु खुकुलो पारेका बेला पनि वीरगञ्जको घडिअर्वा क्षेत्रमा टायर बालेर प्रदर्शन गरिएको छ ।
बिहान १० बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यु लागेको सूचना पर्साका सिडिओ दिनेश सागर भुसालले जारी गरेको सूचनामा उल्लेख छ । कर्फ्यु आदेश कार्यान्वयनका लागि वीरगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्युका कारण बजार सुनसान छ ।
रौतहटको ईशनाथ नगरपालिकास्थित मोतीपुरमा सरस्वती पूजा पश्चात् मूर्ति सेलाउने विषयलाई लिएर दुई समुदायबीच झडप भएको थियो । त्यहाँ पनि कर्फ्यु लगाएर सर्वदलीय बैठक गरी विवाद समाधान गरिएको छ । तर रौतहटमा हिन्दूमाथि आक्रमण गरेको विरोधमा वीरगञ्जमा हिन्दूवादीहरु प्रदर्शन गर्न थालेपछि कर्फ्यु लगाउनु परेको छ ।
कर्फ्यु उल्लंघन गर्न खोजेको भन्दै वीरगञ्जमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै रौतहटकै घटनाको विरोधमा प्रदर्शन गर्दा जनकपुरधाममा पनि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।