कप्तान रोहितले खाता नखोली आउट, नेपालले गुमायो ५ विकेट
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित पौडेल पाचौँ विकेटका रुपमा आउट भएका छन्।
रोहितले खाता खोल्न सकेनन्।
नेपालले २३.२ ओभरमा ५ विकेट गुमाएर एक सय १० रन जोडेको छ। नेपालका आसिफ शेखले ५८ र कुशल भुर्तेलले १८ रन जोडे भने देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्।
४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए। आसिफले ६४ बलमा एक छक्का र ८ चौका प्रहार गरे। नेपाल ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएर दबाबमा आएको थियो। पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।
त्रिवि क्रिकेटमा मैदानमा भइरहेको खेलमा नामिबियाले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो। नामिबियाका बर्नार्ड स्कोल्ट्जले ३ तथा ज्याक ब्रास्सेल र जान निकोल लफ्टी इटनले एक एक विकेट लिए।