संगीत विद्यालय स्थापना गर्न महोत्सव आयोजना हुने
डोटी । डोटीमा ११ दिने सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ, डोटीले फागुन १७ गतेदेखि २७ गतेसम्म दिपायलमा आयोजना गर्न लागेको हो ।
दिपायलमा संगीत विद्यालय स्थापना गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
‘हाम्रो मुख्य लक्ष्य संगित विद्यालय स्थापना गर्नु हो’ संघका अध्यक्ष गोपाल सूचिकारले पत्रकार सम्मेलनमा भने ‘यसका साथसाथै स्थानीय संस्कृति र पर्यटन क्षेत्रको विकास तथा प्रचार प्रसार गर्ने उद्देश्य हो ।’
उनले महोत्सवमा बढी भन्दा बढी स्थानीय कला संस्कृति र स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताए ।
महोत्सव आयोजना गर्नका लागि जिल्लाका स्थानीय तहहरूले सहयोग गर्ने आयोजक संस्थाले जानकारी दिएको छ । यसका साथसाथै पर्यटन बोर्ड र प्रज्ञा प्रतिष्ठानले पनि सहयोग गर्ने अध्यक्ष सूचिकारले बताए ।
उनले विगतमा अन्य संस्थाहरूले आयोजना गरेको जस्तो भड्किलो र खर्चिलो महोत्सव नहुने दाबी गरे । महोत्सवमा प्रस्तुति राख्ने स्थानीय र राष्ट्रिय कलाकारहरूको सूची तयार गर्ने कार्य भइरहेको समेत सूचिकारले जानकारी दिए ।
महोत्सवको निर्धारित उद्देश्य पुरा हुनु पर्ने सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए ।
‘महोत्सवका लागि महोत्सव नभएर साँच्चै सन्देश दिने हुनु पर्छ अध्यक्ष जोशीले भने ‘महोत्सवका लागि गाउँपालिकाले सक्दो सहयोग गर्नेछ ।’