एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी हुन् सर्वाधिक शुन्यमै आउट हुने नेपाली ब्याटर – Nepal Press

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी हुन् सर्वाधिक शुन्यमै आउट हुने नेपाली ब्याटर

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालमा जारी पहिलो त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा बुधबार नामिबियाविरुद्ध घरेलु टोलीका माथिल्लो क्रमका तीन जना ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलसहित देव खनाल र अनिल शाह रन नजोडी आउट भए । भरपर्दा ब्याट्सम्यानले खेल्न नसक्दा पहिला ब्याटिङ गरेको नेपाल केवल १६८ रनमा सीमित भएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित पाचौँपटक शुन्यमा आउट भएका हुन् । देव खनाल दोस्रोपटक र अनिल शाह पहिलोपटक खाता खोल्न असफल भए ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता ६० भन्दा बढी आईसीसी मान्यताप्राप्त खेल खेलेको छ । रोहितले मात्र ६० खेल खेलेका छन् । उनी नेपालका लागि सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । तर सबैभन्दा बढी शुन्यमा आउट हुने नेपाली ब्याट्सम्यान भने होइनन् ।

सबैभन्दा बढी डक आउट हुने खराब राष्ट्रिय कीर्तिमान भने दीपेन्द्रसिंह ऐरीको नाममा छ । दीपेन्द्र ८ पटक खाता खोल्न असफल भएका छन् । ५४ खेल खेल्ने क्रममा दीपेन्द्रले एक शतक र ३ अर्धशतक बनाएका छन् । ७ पटक शुन्यमा आउट भएका सन्दीप दोस्रो स्थानमा छन् ।

कुशल भुर्तेल पनि ७ पटक शुन्यमा आउट भएका छन् । ५१ खेल खेलेका कुशलले एक सतक र ७ अर्धशतक बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो सर्वाधिक रन बनाउने नेपाली ब्याटर हुन् ।

अर्का नेपाली ओपनर आसिफ शेख ५ पटक शुन्यमा आउट भएका छन् । ४८ खेल खेल्ने क्रममा उनले एक शतक र १२ अर्धशतक बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन जोड्ने नेपाली ब्याट्सम्यान हुन् ।

करण केसी र आरिफ शेख ४/४, ज्ञानेन्द्र मल्ल ३ तथा बसन्त रेग्मी, अर्जुन साउद, पवन सर्राफ, ललित नारायण राजवंशी र सोमपाल कामी २/२ पटक शुन्यमा आउट भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *