शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : नवनियुक्त उपकुलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताएका छन् ।
बिहीबार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर पदबहालीपछि कुराकानी गर्दै उपकुलपति प्रा डा बरालले यस्तो बताएका हुन् ।
“त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उनले भने । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्रा डा बरालले बताए ।
विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उनको भनाइ थियो ।