सीतापाइलामा श्रीमान्बाट मारिएकी ईश्वरीको बलात्कार मुद्दा- यस्ताे छ जाहेरी र आराेपीकाे बयान
काठमाडौं । फागुन ९ गते काठमाडौंको नागार्जुन नगरपालिका-६ ईचाडोलमा राजु घिमिरे भन्ने काजी विश्वकर्माले श्रीमती ईश्वरी, ८ वर्षीया छोरी र २ वर्षीया नातिनीको हत्या गरी नजिकै रहेको जंगलमा आत्महत्या गरे ।
सामूहिक हत्या गरेपछि घिमिरेले रेकर्ड गरेको भिडिओमा आफूले ईश्वरीबाट पटक पटक धोका पाएको र घरबार बिग्रिएको उल्लेख गरेका छन् । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार ३९ वर्षीया ईश्वरीले आफैंले बलात्कारको आरोप लगाएका व्यक्तिसँग विवाह गर्छु भन्दै काजीलाई धम्की दिने गरेकी थिइन् ।
बलात्कारको आरोप लागेका ईचाडोलकै ५४ वर्षीय रमेश श्रेष्ठ गत फागुन १ गतेमात्र ५ लाख रूपैयाँ धरौटीमा छुटेका थिए । श्रेष्ठ धरौटीमा छुटेयता ईश्वरी र काजीबीचको सम्बन्ध थप तनावपूर्ण बनेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएकाे छ । ईश्वरीले झण्डै डेढ महिनाअघि रमेशविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।
यस्तो छ जाहेरीको व्यहोरा
म जाहेरवाला नागार्जुन नगरपालिका-६ ईचाडोलमा आफ्नो परिवारसँग बसोबास गर्दै आएको छु । म बस्ने कोठा नजिकै मेरो आमाको सोलुखुम्बु सगरमाथा खाजा घर होटल सञ्चालन गर्दै आएको र म पनि कहिलेकाहीँ आफ्नो काममा फर्कंदा होटलमा पसी चिया नास्ता गरी कोठामा आउने गरेकोमा सो होटलमा आउनेजाने क्रममा प्रतिवादी रमेश श्रेष्ठसँग चिनजान भएकाले निजसँग १-२ चोटी सँगै बसी खाजासमेत खाएकी थिएँ । यसरी चिनजानको क्रममा निज प्रतिवादी रमेश श्रेष्ठले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेछु, तिमी र म विवाह गरी काठमाडौं घरमा सुखसँग बस्ने भनी विभिन्न प्रलोभनमा पारी विवाह गर्ने विश्वास दिलाई पटक पटक निजले घर लाने र जबरजस्ती करणी गर्ने गरेको र यो कुरा कसैलाई नभन्नु यदि भनेमा मलाई तथा मेरो परिवारमा समेत नराम्रो हुन्छ भनी मलाई धम्की दिएकोले आफूलाई पनि डर लागी कसैलाई नभनी बसेकाेमा निज प्रतिवादीले गत मंसिर ११ गते बिहान साढे १० बजेको समयमा ईचाडोलस्थित बंगलामुखी मन्दिरमा भेट्न बोलाएको र आफूले निजले बोलाएको स्थानमा गई निजलाई भेटी सोध्दा निजले निजको घर जाने कुरा गरेकाेमा आफूले घरमा नजाने भन्दा तिमी र म विवाह सम्बन्धमा सल्लाह गर्ने भनी ललाइफकाइ आफ्नो घरमा लगेकाेमा घर पुगेपछि निजले घरभित्र कोठामा लगी कोठाको ढोका लगाइ विभिन्न डरत्रास देखाइ मेरो इच्छाविपरीत आफूले शरीरमा लगाएको लुगा जबरजस्ती खोली करणी गरेको र पहिले जस्तै धम्की दिएपछि म घर फर्की आएकोमा पछि निजले फोन गरी भेट्न बोलाउने र आफूले नभेट्ने भन्दा निजले विभिन्न टर्चरसमेत दिने गर्दै आएकोले निजले दिएको टर्चर सहन नसकी आफूले पुस २३ गते विषादी सेवन गरी आत्महत्या गर्न खोज्दा मेरो श्रीमानले थाहा पाइ तत्कालै उपचार गरी आफूलाई बचाएको र आफूले पनि निज रमेश श्रेष्ठको टर्चर सहन नसकी यस्तो कार्य गर्न पुगेको भनी श्रीमानलाई बताइ श्रीमानले यस्तो गर्ने मान्छेलाई छोड्नु हुँदैन भनेकाले यो जाहेरी दर्ता गर्न ल्याएकी हुँ ।
जाहेरी दर्ता भएपछि प्रहरीले आरोपी रमेशलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।
यस्तो छ रमेशले दिएको बयान
मेरो मीरा श्रेष्ठसँग २०४६ सालमा प्रेम विवाह भई हामीबाट जायजन्म दुई छोरी र एक छोरा गरी ३ सन्तानको जन्म भएको हो । जेठी छोरीको विवाह भइसकेको छ। घरमा मेरो श्रीमती र छोरासँग सम्पत्तिको कुरामा विवाद भएपछि निजहरुले मविरुद्ध अंश मुद्दा हालेपछि २०७८ सालमा मेरो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको हो । छोराछोरी श्रीमतीसँग बस्दै आएका छन् । म एक्लै छुट्टै घरमा बस्दै आएको छु । मेरो नाउँमा पुरानो स्यान्ट्रो कार छ । सोही स्यान्ट्रो कार प्रयोग गरी आफ्नो जीविकोपार्जन गर्दै आइरहेको छु । म कामको सिलसिलामा आउनेजाने क्रममा कहिलेकाहीँ घर नजिकै रहेको निज जाहेरवाला तथा पीडितको आमाले सञ्चालन गरेको सोलुखुम्बु सगरमाथा खाजा घर नामको होटलमा खाजा, नास्ता, रक्सीसमेत खान जाने गर्थें ।
सोही क्रममा २०८० सालको असोज महिनादेखि निज जाहेरवाला तथा पीडितसँग मेरो चिनजान भएको हो । निज जाहेरवाला अर्काको घरमा भाँडा माझ्ने, लुगा धुने जस्ता घरको काम गर्ने रहिछन् । एक दिन म सोही होटलमा खाजा खाने क्रममा जाहेरवालाको आमाले तिमी घरमा एक्लै बस्छौ, तिम्रो कपडाहरु धुन भए भन्नु, छोरीले अर्काको घरमा गएर कपडा धोइरहेकी हुन्छे, तिम्रो घरमा पनि गएर धोइदिन्छे भनेकी थिइन् । सो कुरामा निज जाहेरवालाले पनि हुन्छ भनेर दशैँअघि निज जाहेरवाला एक पटक मेरो घरमा गएर कपडा धोइ दिएकी थिइन् । उनीसँग मेरो फोनमा कुराकानी भइरहन्थ्यो । कुराकानीको क्रममा आफू एक्लै बस्दै आएको र एक जना साथी चाहियो, विवाह गरी घरजम गरी बस्नपर्याे भन्दा उनले चाहिए भए एउटी खोजिदिन्छु भनेकी थिइन् । मैले पनि हुन्छ भनेको थिएँ ।
दोस्रो पटक दशैँ पछाडि उनी मेरो घरमा कपडा धुन आएकी थिइन् । एकिन मिति मलाई याद भएन । सो समयमा म रक्सी खाएको नशामा रहेको थिएँ । निज पीडितले मेरो कपडा धोइसकेपछि दिउँसोको अन्दाजी १ बजेको समयमा उनी मेरो कोठाभित्र आइ खाटमा म बसेको छेउमा आएर बसेर कुरा गर्न थालिन् । कुरा गर्दै जाँदा उनी नजिक भई निजले मेरो साप्रामा हात राखेपछि उनीसँग मेरो सहमतिमा एक पटक शारीरिक सम्पर्क भएको थियो । त्यसपछि मैले उनलाई आफैंले कोठा नजिक लगेर छाडिदिएको हुँ । त्यसपछि उनीसँग कुराकानी भइरहने गर्थ्यो ।
त्यसपछि मंसिर ११ गते उनको सहमतिमा मेरो घरमै उनीसँग शारीरिक सम्पर्क राखेको हुँ । निजले मसँग पटक पटक आफूलाई घर खर्च चाहियो भनेर पैसा माग्ने गर्थिन् । मैले ५ सय-हजार रुपैयाँ उनलाई दिने गरेको थिएँ । उनीसँग विवाहको कुरा निस्कंदा उनी आफैंले मसँग विवाह गरौं भन्ने गरेकी थिइन् र कहिलेकाहीँ अर्कै केटी खोजिदिन्छु भन्ने गरेकी थिइन् । मैले आफूसँग विवाह गर्न भनी अर्कै केटी खोजिरहेको थिएँ । सो कुरा उनले थाहा पाइ, कि मैले खोजेको केटीसँग विवाह गर कि त मलाई एक लाख रुपैयाँ रकम दिनु, नत्र म मुसा मार्ने औषधि खाएर तेरो नाम लिएर मरिदिन्छु भनेकी थिइन् । उनले त्यो कुरा भनेपछि मैले जेसुकै गर, म तिमीलाई पैसा दिन्न , तिमीले खोजेको केटीसँग विवाह गर्दिनँ भनेको थिएँ । पुस २३ गते निजले मुसा मार्ने औषधि खाएको र निजको श्रीमानले थाहा पाइ अस्पताल लगेको भन्ने कुरा थाहा पाएँ ।
ईश्वरीले पहिलो श्रीमानबाट जन्मिएका छोरालाई साथमा लिएर काजीसँग विवाह गरेकी थिइन् । काजीबाट पनि एक छोरा र एक छोरी जन्मिएका थिए । उनले ईश्वरीसँग तीनै छोरी र श्रीमतीको पहिलो श्रीमानका छोराकी छोरीलाई हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।
(तस्बिर : राजु-ईश्वरी दम्पती)