नेपाली जुनियर ब्याडमिन्टन टाेलीकाे बिदाइ
काठमाडाैं । पाकिस्तानको इस्लामावादमा मार्च ३-७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यू-१५ तथा यू-१७ जुनियर ब्याडमिन्टन प्रतियोगिता र सोही दौरान हुने ब्याडमिन्टनको विभिन्न कार्यक्रममा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय टोली शनिबार पाकिस्तान प्रस्थान गर्दैछ ।
उक्त टाेलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका छन् । उक्त अवसरमा सदस्यसचिव घिसिङले जुनियर खेलाडीहरु नै भविष्यको च्याम्पियन भएकाे बताए ।
अध्ययन र खेल दुवैलाई निरन्तरता दिए भविष्य उज्ज्वल रहने उनकाे भनाइ छ । नेपाल ब्याडमिन्टन संघलाई पनि नयाँ खेलाडी उत्पादन गर्न र संघलाई चलायमान बनाउन गुरुयोजना बनाइ अघि बढ्न सदस्यसचिव घिसिङले निर्देशन दिए ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जुनियर खेलाडीहरु भविष्यमा ओलम्पिक च्याम्पियन बन्ने लक्ष्य राख्न सुझाव दिए ।
खेल र खेलाडी विकासको लागि नेपाल ब्याडमिन्टन संघलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सम्पूर्ण टोलीलाई ओलम्पिक कमिटीको तर्फबाट शुभकामनासहित बिदाइ गरे ।
पाकिस्तान जाने टाेली
खेलाडी (यू-१५) : रिजन मगर, सुदेश राजकोटी, सदिप राई, रिहाना शेरचन र निभा राई ।
खेलाडी (यू-१७) : कविर केसी, सुविन श्रेष्ठ, अमन डंगोल, समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठ ।
टीम लिडर : मानबहादुर मल्ल
व्यवस्थापक : बेनुप खत्री
प्रशिक्षक : सञ्जीव श्रेष्ठ ।
लिडर्स मिटिङ : नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ
अम्पायर कोर्स : राजु श्रेष्ठ र राधेश्याम मचामसी ।
जेन्डर इक्विटी एन्ड वोमन्स इम्पावरमेन्ट वर्कसप : गीताकुमारी शाही र सन्ध्या थापा ।