सन्दीपको २० पेज लामो पुनरावेदन : फैसला अपुष्ट, आधारहीन र त्रुटिपूर्ण छ, बदर गरिपाउँ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतले गरेको फैसला पुनरावलोकन गर्न हिजो उच्च अदालत पाटनमा निवेदन दिएका छन् । पुनरावेदन दर्तासँगै सन्दीपले जेलबाहिर बसेर मुद्दा लड्ने अनुमति अदालतबाट प्राप्त गरे ।
सन्दीपको पुनरावेदन २० पेज लामो छ, जसमा १३ वटा मुख्य बुँदा छन् । उनले जिल्ला अदालतको फैसला उल्टाएर आफूलाई सफाइ दिलाउन माग गरेका छन् । फैसला अपुष्ट, आधारहीन र त्रुटिपूर्ण रहेको उनको जिकिर छ ।
जिल्ला अदालतले अनुमानका आधारमा कसुर ठहर गरेको सन्दीपले पुनरावेदनमा उल्लेख गरेका छन् ।
‘प्रस्तुत मुद्दामा अदालतको फैसलाले कसूर अनुमानको भरमा स्थापित हुने भनी ठहर गरेको छ, जुन प्रचलित फौजदारी कानून, स्थापित मान्य सिद्धान्त र न्यायको रोहबाट प्रतिकूल हो । अनुमानमा कसुर र सजायको सिर्जना हुन सक्दैन’, पुनरावेदनमा भनिएको छ, ‘अनुमानकै भरमा मात्र विश्वसनीय र ठोस प्रमाणबेगर जबरजस्ती करणी जस्तो नैतिक पतन देखिने जघन्य फौजदारी मुद्दामा कसुरदार हुन् भनी भन्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत मात्र हुने नभइ न्यायको मर्म र भावनाविपरीत समेत हुन्छ ।’
प्रतिवादी आफ्नो इच्छाले नगरकोट नगएको र काठमाडौं इनको कोठा नम्बर ३०५ मा पीडितको करबलले नै बसेको कुरा जिल्ला अदालतको फैसलाले स्वीकार गरेको पुनरावेदनमा जनाइएको छ । फैसला अध्ययन गर्दा निर्णयकर्ताले जबरजस्ती करणीसम्बन्धी कानूनी व्यवस्थालाई गलत रुपमा प्रयोग गरेको देखिने सन्दीपको तर्क छ ।
‘पीडित र प्रतिवादी एउटै कोठामा बसेको अवस्थामा प्रमाण ऐन २०३१ को दफा ७ (ग) बमोजिम पीडितलाई प्रतिवादीले करणी गर्ने मनसायले नै बसेको अनुमान गर्नुपर्ने र पीडितले व्यक्त गरेको कथनअनुसार हायत प्यालेस होटलमा नबसी अन्यत्र नै बसेको अवस्थामा करणी गरेको कार्य स्थापित भएको मान्नु पर्यो भनी पहिले नै करणीको कार्यलाई स्थापित गरी त्यसपछि उमेरको एकिनता गरी जबरजस्ती करणी भएको भनी ठहर गरिएको छ’, निवेदनमा सन्दीपले भनेका छन् ।
पुनरावेदनमा उनका अन्य केही जिरहहरु यसप्रकार छन्:
न्यायकर्ताले पहिले नै प्रमाणको अभावमा यौन कार्य भएको ठहर गर्नुभएको छ । त्यसपछि मञ्जुरीको व्यवस्थालाई आर्थिक दुर्बलतामा विवेचना गर्नुभएको छ । एउटा महिला अपरिचित व्यक्तिको सवारीमा हिँडडुल गर्न सवार हुन्छिन्, कोठा रोजी रोजी बस्छिन्, साथीलाई आफू सुरक्षित रहेको खबर प्रवाह गर्छिन्, अनि मध्यरात बितिसकेपछि करणी गरेको कथा सुनाउँछिन् र सोही दन्त्यकथालाई पीडितले भनेको मान्नुपर्यो भनी अदालत सहजै निष्कर्षमा पुगेको देखाउँछ भने यसमा परेको प्रभाव सामाजिक सञ्जाल, न्यायिक अफवाहबाट धावा बोल्ने संयन्त्रहरुको प्रभाव भएको हो भन्ने निष्कर्ष फैसलाबाट नै देखिन्छ । यदि यौन सम्बन्धको वात गर्ने हो भने अञ्जान केटीसँग निजको उद्देश्य के छ भन्ने नै थाहा भएकोसँग सम्बन्ध राख्ने भन्ने हुन नै सक्दैन ।
गौशाला २६ ले होस्टल बन्द हुने भएकाले अब जानुपर्छ भनी बताएकी थिइन् भनी बकपत्रमा उल्लेख गरेको छ । तर, सरकारी साक्षीका रुपमा उपस्थित होस्टलका सञ्चालक नारायणबहादुर बलामीले गौशाला २६ले साँझको समयमा बाहिर जाँदा म साथीकोमा बस्छु भनेर होस्टलबाट निस्किएर गएकी थिइन् भनी बकपत्र गर्नुभएको छ । त्यसैगरी गौशाला २६ ले मध्यरातमा होस्टलमा जाँदा भोलिपल्ट होस्टलमा आमाले कहाँ गएकी, किन गएकी, कसरी गएकी जस्ता प्रश्नहरु गर्न सक्ने हुनाले अहिले होस्टल फर्किने कि के गर्ने भन्ने प्रश्न म प्रतिवादीलाई गरेको देखिन्छ भने मैले उक्त दिन आफू साथीकोमा जान्छु, आउँदिनँ भनी एक साथीलाई टेक्स्ट गरेकी थिएँ भनेर उल्लेख गर्नुभएको छ । यसर्थ गौशाला २६ मिति २०७९/०५/०५ का दिन होस्टल नफर्किकन प्रतिवादीसँग बाहिर नै बस्ने मनसाय र योजनाका साथ हिँडेको देखिन्छ, जुन तथ्यलाई अदालतले कसुरदार ठहर गर्ने सन्दर्भमा पूर्ण रुपमा अनदेखा गरेको छ ।
निज गौशाला २६ आफूखुशी, आफ्नो स्वतन्त्र इच्छाले निजको पूर्वयोजनाअनुसार मलाई भेट्न बोलाएकी छिन् र मैले राति होस्टल पुर्याइदिन्छु भन्दा पनि होस्टल बन्द भइसक्यो, तपाईंसँग अझै कुरा गर्नु छ भनेको अवस्था छ र जुन कुरालाई गौशाला २६ कै बकपत्रमा उल्लेखित कथनहरुबाट समेत स्पष्ट हुने गरी कुनै जोरबल नगरी असहज नभई सहज रुपमा नै कोठामा गएको र बसेको उल्लेख गरिएको छ । गौशाला २६ एक उमेर पुगेकी सावालिग व्यक्तिले आफूखुसी गरेको कार्यलाई निजको आर्थिक अवस्थाको फाइदा लिई अनुचित प्रभावमा पारी मैले निजलाई करणी गरेको भन्ने फैसला त्रुटिपूर्ण छ ।
मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरुबाट गौशाला २६ ले नै म प्रतिवादीलाई विचार आदानप्रदान गर्नुछ भनिकन आफू अनुकूल भेट्ने, बाहिर जाने र होटलमा बस्ने दबाब दिएको प्रस्ट हुन्छ । आफू होस्टल फर्किने समयलाई आलटाल गरी रात पारी होस्टल बन्द भइसकेको बहाना गरी होटेलसम्म लैजाने परिवन्ध निजले नै बनाएकी छन् । गौशालाकै आग्रहमा होटलमा बस्ने कुरा भएपछि म प्रतिवादीले खेलाडीहरु बस्ने हायात प्यालेसमा नै बस्ने प्रस्ताव राख्दा उक्त होस्टलमा देव खनाल पनि हुन्छ भनेर जान नमानेपछि म प्रतिवादीले बारदात भएको भनिएको होटल बुक गरेको हुँ । होस्टेलमा निजसँगै बस्ने साथीलाई आफू नगरकोट जाने र यदि व्वाइफ्रेन्डले फोन गर्यो भने म प्रतिवदीसँग घुम्न जाने कुरा नभन्नु भनी निर्देशन गरी सहज रुपमा होटल जाने, होटलको चाबी लिएर आफैं कोठामा जाने जस्ता व्यवहारले निजले आफू अनुकूलको वातावरण तयार गरेको देखिन्छ ।
सँगै होटलको कोठामा जाने, आफैं ढोका खोलेर कुरेर बस्ने, अनि बिहान सँगै निस्किने, प्रतिवादीको गाडीमा सवार हुने, प्रतिवादीको गाडीको पछाडिबाट स्न्याप भिडिओ खिच्ने, सेल्फी खिचेर पठाउने, वारदात भएको भनिएको मिति पछाडि एक हप्तासम्म प्रतिवादीको नाम लेखिएको जर्सी लगाएर क्रिकेट हेर्ने, खुशीले उमङ्ग हुने, होहल्ला गर्ने, खुशी साथीलाई साटासाट गर्ने जस्ता गौशाला २६ का कार्य आचरणले जबरजस्ती करणी भएको पुष्टि गर्र्दैन । जबरजस्ती करणी भएको कल्पनासमेत गर्न सकिँदैन । तसर्थ कोठामा सँगै बस्नु भनेको बलात्कार गर्नु होइन ।