१५७ हेक्टर मानव निर्मित जगदीशपुर ताल: ७ हजार किलाेमिटरबाट आउँछन् चराहरू (भिडिओ) – Nepal Press

१५७ हेक्टर मानव निर्मित जगदीशपुर ताल: ७ हजार किलाेमिटरबाट आउँछन् चराहरू (भिडिओ)

कपिलवस्तु । जगदीशपुर ताल नेपालमा मानव निर्मित सबैभन्दा ठूलो तालको रुपमा परिचित छ । करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालको १५७ हेक्टर भाग पानीले ढाकेको र जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठूलो ताल हो ।

४,७५०,००० घन मिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ । सन् २००३ मा रामसार सूचीमा सूचीकृत भएको यो ताल यो क्षेत्रको महत्वपूर्ण धरोहर बन्दै गएको छ । जिल्ला सदरमुकाम तौलिहवाबाट १२ किलोमिटर उत्तर र गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटबाट ७ किलोमिटरको दूरीमा कपिलवस्तु नगरपालिका वडा नं ९ र १० स्थित जगदीशपुरमा रहेको छ जगदीशपुर ताल ।

मानव निर्मित नेपालकै ठूलो तालको रुपमा रहेको यो तालको मुख्य आकर्षण नै विभिन्न प्रजातिका चराहरु हुन् । विभिन्न प्रजातिका चराहरुको संगमस्थलको रुपमा रहेको यो तालमा सीमसार क्षेत्रमा नेपाल मात्रै नभएर विश्वकै लोपोन्मूख चराहरुको आगमनले महत्व बढाएको हो ।

अहिले ताल रहेको क्षेत्र ४५ वर्षअघिसम्म गाउँ थियो । थारु समुदायको बाहुल्यता रहेकोले त्यो गाउँलाई जगदीशपुर थारु गाउँ भनिन्थ्यो । गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो । त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैंसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे । प्रशस्त खेतीयोग्य जमीन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा नभएकाले त्यतिबेला पनि नजिकका स्थानीय यहाँ आउने गर्दथे ।

उत्तरी क्षेत्रमा वाणगंगा र कोइली नदीबाट कुलो र नहरमार्फत खेतमा सिँचाइ गरिए पनि दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा थिएन । त्यही समस्या समाधानको लागि वि.सं. २०३५ सालमा सिँचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाँध बाँधेर जगदीशपुरमा जलाशय निर्माण गर्ने र त्यहीँबाट सयौँ हेक्टर जमीन सिँचाइ गर्ने योजना अगाडि सारेपछि यो अहिलेको अवस्थामा आउन सकेको हो ।

सिँचाइको लागि त्यो योजनाका लागि कपिलवस्तु नगरपालिका वडा नं ९ र १० मा बनाइएको जलाशय अहिले चराहरूको लागि मुख्य आकर्षणको केन्द्र र नमुना पर्यटकीय स्थलको रूपमा प्रख्यात भएको हो ।

यस तालमा ४६ प्रजातिका माछा, घस्रने प्रजातिका ४२ उभयचर प्रजातिका १० तथा स्तनधारी समूहका समेत प्राणीहरु रहेका छन् । साथै यहाँ गर्मीयाममा बसाइ सर्ने ७ प्रजाति, जाडो याममा बसाई सर्ने ६४ प्रजाति र अन्य रैथाने प्रकृतिका प्राणीहरु रहने यसका जानकारहरु बताउँछन् ।
विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चराहरु प्रशस्त मात्रामा आउने गर्दछन् ।

यस्ता आगन्तुक चराहरु जाडो तथा गर्मी मौसम छल्न आई पुनः आफ्नै मुलुक फर्कने गर्दछन् । विभिन्न प्रजातिका जलचर तथा थलचर प्रजातिका प्राणीहरु प्रशस्त पाइने यस तालमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमेनिस्तान र कीर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको पाइन्छ ।

ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाइएको छ । ताल सन् २००३ अगस्तमा रामसार साइटमा सूचीकृत भएको थियो । कृत्रिम रुपमा बनाइएको मुलुककै ठूलो यस जगदीशपुर तालमा १ सय १८ बढी प्रजातिका चराचुरुङ्गी पाइने पंक्षी संरक्षण संघले जनाएको छ ।

यो तालमा हरेक वर्ष विश्वमा नै लोपोन्मुख मानिएका चराहरु समेत आउने भएकोले चराहरुको घरको रुपमा परिचित हुँदै गएको छ । तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुड जस्ता लापोन्मुख चराहरु आउने गर्छन् ।

अहिले पर्यटकीय क्षेत्र तथा जगदीशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै नजिकै थारु होमस्टेहरु र पर्यटकहरूलाई आकर्षित गर्न तालमा डुंगा सञ्चालन गरिएको छ । चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा बासस्थान बनाउने भएकाले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ । तर तालको वरिपरी डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइन्छ ।

लुम्बिनी, तिलौराकोट आउने भारत हुँदै आएका केही म्यानमार, थाइल्याण्डजस्ता पर्यटकहरु जगदीशपुर ताल जाने वातावरण तयार नगरिएको स्थानीयको गुनासो छ । उचित प्रचारप्रसार र सहज रुपमा यात्राको बन्दोबस्त गर्न नसेकाले तिलौराकोट आउने पर्यटकहरुलाई जगदीशपुर ताल लैजान नसकिएकाले अब बलियो योजना बनाउनुपर्ने स्थानीयको आग्रह छ । यो बुद्धले २९ वर्ष बिताएको शुद्धोधनको दरबार रहेको तिलौराकोटबाट झण्डै ७ किलोमिटरको दूरीमा पर्छ जगदीशपुर ताल ।

कात्तिक महिनाको अन्तिमदेखि फाल्गुन महिनाको अन्तिमसम्मको समयमा चिसो छल्न आएका विदेशी चराहरु नै त्यहाँका आकर्षणका केन्द्रहरु हुन् । तालको त्यसैको छेऊमा छ एउटा ऐतिहासिक स्थल सगरहवा । बुद्धको शासनकालमा नै कोशलका राजा प्रसेनजीतका छोरा बिरुधकले तत्कालीन शाक्य वंशको विध्वंस गराएको सम्झनामा संरक्षण गरेर राखिएको सगरहवाको बीचमा रहेको लम्बु सागर ।

यही ताल जगदीशपुर तालमा आएका पर्यटक चराहरुको स्वाद फेर्ने सहायक पोखरी हो । यस बाहेक अन्य साना पोखरीहरु, नजिकै रहेको वाणगंगा नदी पनि पाहुना चराहरुको आहाराको केन्द्रहरु हुन् । प्रायः फागुन महिनाको दोस्रो साताको सुरुवातदेखि तेस्रो सातासम्ममा फर्किइसक्ने गरेका विदेशी चराहरु यो साल जगदीशपुर तालबाट चाँडै नै फर्किन थालेका छन् ।

१० वटा सीमसार क्षेत्रमध्ये नेपालमा चरालाई आहाराको हिसाबले सबैभन्दा सहज ठाउँ हो जगदीशपुर ताल क्षेत्र । यहाँ आउने धेरै चराहरु आहाराको लागि त्यसैको आसपासमा रहेका सानातिना नदी एवं तलाउहरुमा जाने गर्छन् । त्यही क्षेत्रमा हुने विभिन्न किराफट्यांग्रा, लेऊहरु र राति बस्नको लागि सुविधा भएको कारणले पनि यो क्षेत्रमा चराहरुको आकर्षण बढेको जानकारहरु बताउँछन् ।

यो साल फागुन अन्तिमसम्म जगदीशपुर तालको भ्रमणमा आएका धेरै पाहुना चराहरु फर्किइसक्ने र यो वर्ष अलिक पछिसम्म चराहरु रहेको जगदीशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा धेरै चराहरु चिसो छल्न जगदीशपुर तालमा आएपनि अझै पूरै तथ्यांक निकाल्न नपाएको गुरुङले बताए । सिमसार क्षेत्रहरुमध्ये सबैभन्दा धेरै चराहरु आउने जगदिशपुर तालमा गतवर्ष २० हजार ८ सय चराहरुको गणना भएको थियो । गुरुङका अनुसार अति चिसो हुने ठाउँहरुबाट कात्तिकको अन्तिमतिर आएर फाल्गुनको अन्तिमसम्म बस्ने गर्दछन् ।

२०७८ सालमा लुम्बिनी प्रदेश सरकारले पंक्षी आरक्ष (बर्ड सेन्चुरी) घोषणा गरेको यो तालको संरक्षणको जिम्मेवारी पछिल्ला पाँच छ वर्षयता कपिलवस्तु नगरपालिकाले जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चलाई दिएको छ ।

मञ्चले तालको जैविक विविधता र चराहरूको बासस्थान संरक्षण गर्नुको सट्टा हिउँद याममा तालभित्रै मोटरबोट सञ्चालन गर्न थालेपछि चराहरूको संख्या घट्न थालेको संरक्षणकर्मीहरूको आरोप छ । मञ्चले हरेक वर्ष तालको पश्चिम दक्षिणतर्फको ५ हेक्टर क्षेत्रफलमा रसी लगाएर मोटरबोट सञ्चालन गर्दै आएको छ ।

किन घटे जगदीशपुरमा जलपंक्षी

पाहुना चराहरूको बारेमा जानकारी लिने, उनीहरूको जलक्रिडा र रोमाञ्चक गतिविधिको अवलोकनका लागि कात्तिकदेखि माघ फागुनसम्म आन्तरिक तथा बाह्य गरी दैनिक तीन चार सयको संख्यामा अवलोकनकर्ता पुग्ने गर्छन् ।

तिनै अवलोकनकर्ताहरूलाई तालमा डुंगा सयर गराउन थालेपछि भने चराहरूको संख्या घटिरहेको छ । यो ताल मरूल, सुनजुरे, सिलसिले, कालीजुरे, मालक, सुइरोपुछ्रे, बेल्चाठुंडे, सिन्दुरे, निलटाउके, कैलो टाउके, जुलागैरी, चखेवा, पेकिङ डग, माल्टाज, फिस्टा, खट्खटे, सारस, भुँडीफोर, ध्यानी, बकुल्ला, सेतो गरूड लगायतका चराहरूको लागि राम्रो बासस्थान मानिन्छ । विश्वकै सबैभन्दा सानो मानिने हरि हाँस, सिलसिले र नागुन हाँस यहीँ बासस्थान रहेका रैथाने हाँस हुन् ।

ती हाँसले जगदीशपुरमै बच्चा कोरल्ने गर्छन् । धेरै प्रजाति र संख्यामा चराहरू आउने भएकोले जगदीशपुर ताल पंक्षीविद्हरूको लागि अध्ययन गर्ने थलो मानिन्छ । नेपालका प्राकृतिक रूपमा भएका सिमसार तथा तालतलैया आसपासमा मानिसहरूको बस्ती बस्दै जाँदा अरू देशहरू नै सुरक्षित मानेर चराहरू पनि उतै गएका पनि हुनसक्ने बताउँछन् ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करीब ११ किलोमिटर उत्तर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० मा पर्ने यो तालमा बर्सेनि ५० हजार बढी चराचुरूङ्गीहरू आउने गर्थे । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले केही वर्ष पहिले गरेको अध्ययन अनुसार नेपालको जल क्षेत्रमा भेटिएका एक सय ६२ प्रजातिका चरामध्ये जगदीशपुरमा सिमसारमा आश्रित ६१ प्रजाति र अन्य ५७ प्रजातिका चराचुरूङ्गीहरू भेटिएका थिए । ती चराहरूमध्ये विश्वमै दुर्लभ मानिएका ७ प्रजाति थिए । तर यसवर्ष गरिएको गणनामा सिमसारमा आश्रित ४३ प्रजातिका मात्रै चराहरू भेटिएका छन् ।

नेपालमा पानी चराहरूको महत्वपूर्ण बासस्थान मानिने यो तालमा पछिल्लो पाँच वर्षमा झण्डै ६० प्रतिशत जलपंक्षी घटेको तथ्यांक सार्वजनिक भएको छ । सन् २०१८ मा यो तालमा ४३ प्रजातिका २३ हजार जलपंक्षी गणना भएका थिए। २०२४ मा आइपुग्दा जलपंक्षीको संख्या झण्डै १४ हजार घटेको छ । चराविद् तथा नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत ईश्वरीप्रसाद चौधरीसहितको टोलीले गत माघमा जगदिशपुरसँगै रूपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न तालहरूमा गणना गरेको थियो ।

गणना गर्दा सबैजसो ताल तथा सिमसारहरूमा जलपंक्षीको संख्या घटिरहेको चौधरीले बताए । चौधरीले सन् २०१८ मा २३ हजार जलपंक्षी रहेको जगदीशपुर तालमा पाँच वर्षपछि गणना गर्दा ९ हजारमा झर्नु चिन्ताको विषय भएको बताए । त्यसअघि सन् २०२० मा जगदीशपुरमा २ हजार दुई सय हाराहारी घटेर २० हजार ८ सय ७ गणना भएकोमा सन् २०२१ मा एकैपटक आठ हजार ७ सय ४४ चराहरू घटेको देखिएको थियो । सो वर्ष जम्मा १२ हजार ६३ मात्र पानी चराहरू गणना भएका थिए ।

त्यसपछि पनि हरेक वर्ष तालमा चराहरू घटिरहेका छन् । चौधरीका अनुसार जगदिशपुरमा २०२२ मा ९ हजार ८ सय ३७ र २०२३ मा ९ हजार ४ सय ८७ चरा गणना भएका थिए । चराविद् चौधरीले पहिलेजस्तो चराहरूको चोरी शिकारी घट्दै जाँदा पनि पाँच वर्षमा एउटै तालमा ६० प्रतिशत चराहरू घट्नु चिन्ताको विषय भएको बताए ।

चौधरीले नेपाल मात्र नभएर भारतका जलाशय र सिमसारहरूमा पनि चराहरूको संख्या घटिरहेको उल्लेख गर्दै पहिले जुन देशबाट नेपाल र भारतमा चराहरू आउने गर्थे अहिले त्यही देशमा बासस्थान र पर्याप्त आहारा भेटिनु र जलवायु परिवर्तनका कारण पनि यहाँ चराहरू नआएको हुनसक्ने बताए ।

अझै मुआब्जा पाएनन् स्थानीयले

१५७ हेक्टर क्षेत्रमा रहेको यो ताल बनाउँदा धेरै स्थानीयको जग्गा परेको थियो । अझैपनि २० जनाले त्यसको क्षति पाउन नसकेको जगदीशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ बताउँछन् । ‘ताल बनाउँदा स्थानीयको त्यति धेरै सहयोग भयो तर यति लामो समयसम्म उनीहरुले मुआब्जा पाउन सकेका छैनन्, अझै २० जनाजतिको कित्ताकाट हुनसकेको छैन, उनीहरुकै नाममा पुर्जा छ’ उनले भने ।

संचालन स्रोतका कुनै योजना बनेनन्

यति महत्वपूर्ण स्थलको व्यवस्थित संचालनका लागि स्थानीय, प्रदेश सरकारले कुनै संचालन स्रोतको योजना बनाउन नसकेको स्थानीयको गुनासो छ । यसको संरक्षणमा जुटेकाहरु पनि यसलाई सरकारले नियमित स्रोतको व्यवस्थापन गर्नसके थप व्यवस्थित बन्ने सुझाव दिँदै आएका छन् ।

व्यवहारिक रुपमा यसको संरक्षण जगदीशपुर जलाशय बहुसरोकार मञ्चले गरेपनि कानुनी रुपमा उसलाई सबै अधिकार दिइएको छैन । मन्चका अध्यक्ष गुरुङ भन्छन्–‘संस्थागत जिम्मेवारीअनुसार काम गर्दै आएका छौं कानुनीरुपमा कतै केही उल्लेख गरिएको छैन, स्थानीय, प्रदेश सरकारले दिने कुनै स्रोत पनि छैनन् आन्तरिक व्यवस्थापनका खर्च यही चलेका ५ वटा डुंगाको रकमबाट गरिएको छ, अहिले डुंगा मात्रै चलेको छ, चराहरु गएपछि मात्रै स्टिमर चलाउने हो ।’ यहाँ डिभिजन बन कार्यालयबाट कार्यक्रमहरु मन्चको सहकार्यमा गरिन्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *