ऋषि देवकोटा ‘आजाद’ : गिरफ्तारी र हत्या अघिपछिका तीन दिन – Nepal Press

ऋषि देवकोटा ‘आजाद’ : गिरफ्तारी र हत्या अघिपछिका तीन दिन

शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस ! यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाको आतंक र संत्रासपूर्ण विगतको सम्झना हुन्छ ।

२०३२-३३ सालदेखि २०४० सालसम्मा म तत्कालीन भूमिगत नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई समेटेर गठन गरिएको ‘मध्य दक्षिण क्षेत्र’ अन्तर्गत विभिन्न जिल्लाहरूको पार्टी काममा सक्रिय थिएँ । सुरूमा माधव नेपाल त्यहाँको पार्टी कामको प्रमुख र म उपप्रमुख थिएँ । पछि उहाँ त्यहाँबाट स्थानान्तरित भएपछि मैले पार्टी प्रमुख भएर सचिवको जिम्मेवारी लिनुपरेको थियो ।

त्यसबेला त्यस क्षेत्रमा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) कम्युनिष्ट समूहहरूमा सबैभन्दा सशक्त संगठन थियो । सिराहा, सिन्धुली, महोत्तरी, सर्लाही, धनुषा आदि जिल्लाहरूमा त्यसको प्रभाव राम्रो थियो । ‘आजाद’ त्यसबेला नेकपा (चौम) को एउटा चर्चित नेता हुनुहुन्थ्यो । उहाँ प्रतिकृयावादीहरूले निशाना लगाइएको एकजना चर्चित र ‘खतरनाक’ कम्युनिष्ट र जनताका बीचमा लोकप्रियता प्राप्त गरेका नेता हुनुहुन्थ्यो ।

मैले त्यसबेला नेकपा (चौम) का जनआधारित र आफ्नो ठाउँमा लोकप्रियता प्राप्त गरेका नेताहरूसित भेटघाट गर्ने र सम्भव भएसम्म छरिएर रहेका कम्युनिष्टहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने प्रस्तावसहित कुरा गर्न थालिसकेको थिएँ । सिराहाका जयगोविन्द साहलाई भारतका सिमावर्ती शहर– दरभंगा र जयनगरमा पुगेर भेटेको थिएं । सूर्यनाथ यादव रानलाई भारतको सिमावर्ती शहर जयनगर र धनुषाको चोराकोयलपुर गाउँमा भेटेको थिएँ भने ऋषि देवकोटा ‘आजाद’ लाई दरभंगा र धनुषा जिल्लाका विभिन्न गाउँहरूमा भेटेको थिएँ ।

उहाँहरूमध्ये ‘आजाद’ सित २०३५ को आखिरीतिर सिराहामा भेट भएको थियो । त्यसवेला मलाइ लागेको थियो– छरिएर रहेका यस्ता क्रान्तिकारीहरुलाई एउटै पार्टीमा गोलबन्द गर्न पाए ‘क्या काइदा हुन्थ्यो !’ एक किसिमको लोभ र नजानिदो ईष्र्या समेत जागेको थियो । र, यही स्पिरिटमा मैले उहाँहरूसित, खास गरेर ऋषि देवकोटासित कुरा गरेको थिएँ । एकाध पटकका भेटमै हामी बीचमा मित्रभाव बढेको थियो । परिचयका प्रारम्भिक दिनदेखि नै कमरेड ‘आजाद’ लाई मैले क्रान्ति र परिवर्तनप्रति समर्पित, दृढ र साहसी योद्धाको रूपमा पाएँ ।

२०३६ को भदौ २४ गते तत्कालीन ‘पाँच वाम समूह’ द्वारा ‘जनमत संग्रह’लाई निष्पक्ष र धाँधलीरहित बनाउन ‘पाँच पूर्व शर्तहरु’ अघि सारी बहुदलको पक्षमा देशव्यापी जनप्रदर्शनको आयोजना गरिएको थियो । बृहद विरोध सभा वा बहुदलका पक्षमा आयोजना गरिएका सभाहरू र आयोजना गरिएका स्थानहरूमध्ये एउटा केन्द्र जनकपुरलाई बनाइएको थियो ।

जनकपुरधामको रंगभूमि मैदानमा एक लाख जति जनता जनप्रर्दशनमा उत्रिएका थिए । यस किसिमको शक्ति प्रदर्शनपछि त्यस क्षेत्रका प्रमुख हस्ती मानिनु हुने कमरेड ऋषि देवकोटा ‘आजाद’ लाई त्यसबेलाको पंचायती सत्ताले विशेष गम्भीर चासोका साथ खोजी गर्न थालेको थियो ।

तत्कालीन समयमा नेकपा (चौथो महाधिवेशन) को त्यसक्षेत्रका प्रमुख संगठक रहनुभएका ‘आजाद’ ले २०३६ कै मध्यदेखि आफ्नो पार्टीभित्र औपचारिक रूपले नै वैचारिक संघर्ष थालनी गर्नुभएको थाहा पाएपछि मैले उहाँसँगको सम्पर्कलाई अझ नियमित र व्यवस्थित बनाउने प्रयत्न गरेको थिएँ । त्यसैबीच भारतको दरभंगामा निर्वासित जीवन बिताइरहनु भएका नारायणमान बिजुक्क्षे ‘रोहित’ बस्नुभएको आश्रयस्थलमा ‘आजाद’ र मेरो भेट भएको थियो ।

त्यसबेला ‘रोहित’ पुष्पलालले नेतृत्व गरेको ‘कम्युनिष्ट पार्टी’ बाट असन्तुष्ट भई, छुट्टै पार्टी– नेपाल मजदूर किसान संगठन’ बनाएर छुट्टै गतिविधि गर्न थालिसक्नु भएकोन थियो । ‘आजाद’ र म दरभंगामा ‘रोहित’जी लाई भेटेर एकतावद्ध हुनुपर्छ भन्ने प्रस्तावसहित कुरा गर्न त्यहाँ पुगेका थियौं ।

हामीहरूले ‘रोहित’ जीसित कुरा गरेपछि केही समय छुट्टै बसेर कुरा गरेका थियौं । त्यसपछि हामी त्यहाँको रेल्वे स्टेशनमा पुगेपछि हात मिलाउंदै छुट्टिएका थियौं– आआफ्नो गन्तव्यतिर लागेका थियौं । म मधुवनी हुँदै धनुषा प्रवेश गर्ने विन्दूबाट नेपाल छिरेको थिएं । ‘आजाद’ भने त्यहाँबाट रक्सौल जाने रेल चढेर डेंग स्टेशन ओर्लेर सर्लाहीको सिमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने योजनामा हुनुहुन्थ्यो । हामीले छुट्टिने बेलामा सिन्धुली वा धनुषामा अर्को भेट गरेर महत्वपूर्ण निर्णय गर्ने कुरा गरेका थियौं ।

हाम्रो भेटघाटकै बीचमा ‘आजाद’ ले पार्टीबाट विद्रोह गरी ‘विद्रोही कम्युनिष्ट एकता केन्द्र’ को स्थापना गर्नुभएको थियो । त्यसपछि कम्युनिष्टहरूका बीचमा एउटा तरंग पैदा भएको थियो । कम्युनिष्ट क्रान्तिकारीहरू बीचमा नयां तरंग पैदा भएको थियो । त्यो विद्रोहले तत्कालीन नेकपा(माले) सित एकता गर्ने संकेत गरेको थियो ।

२०३७ को मध्यतिर ‘आजाद’ ले नेकपा (चौम) सित विद्रोह गरिसकेपछि मैले धनुषाको भूमिहीन किसानहरुको एउटा वस्तीमा उहाँलाई भेटेको थिएं । भूमिहीन किसानहरुका स–साना बुकुरा भएको वस्तीमा मध्यरातमा भेट्दा उहाँ पुरानो, कतैकतै फाटेको धोती र मैलो हुन थालेको गोलगञ्जीमा हुनुहुन्थ्यो ।

मध्यरात, भूमिहीन किसानको सानो झुप्रो, त्यसभित्र सानो टुकीको मधुरो उज्यालो, अत्यन्त सामान्य पहिरनभित्र रहेको दुब्लो–पातलो शरीर तर तेजिला आँखा–आजादको त्यसबेलाको त्यो रूप आज पनि मेरा आँखा वरिपरि आइरहन्छ ।

त्यहीं बसेर केही गृहकार्यपछि ‘विद्रोही एकता केन्द्र’ विधिवत नेकपा (माले)मा सम्मिलित हुने कुराको एक किसिमले टुंगो लगाएर विहान उज्यालो हुने बेलामा गरमजोशीका साथ हात मिलाउंदै बिदा भएका थियौं । मैले उहांसितको मित्रता विशेष किसिमले बढ्दै गएको लागेको थियो, मलाई !

त्यसवेला हाम्रो भेटघाटपछि एकताको औपचारिक घोषणा गर्ने सैद्धान्तिक सहमती बनेको थियो । यसैक्रममा माले पार्टीका अन्य केही नेताहरूसित समेत भेटघाट भएको थियो । एकता घोषणाको औपचारिक मिति र समय आदिको एक किसिमले टुंगो गरी त्यसवेला हामीहरू छुट्टिएका थियौं ।

म त्यही मितिको पर्खाइमा थिएँ । तर त्यसैबीच २०३७ फागुन १० गते राति सिन्धुली उहाँलाई प्रहरीले गिरफ्तार गरेको कुरा हामीले अप्रत्याशित रूपमा सुन्नुपर्यो । त्यो खबरबाट हामी अत्यन्त संत्रस्त बन्यौं । एक किसिमले संत्रास फैलिए पनि स्थानीय प्रहरी– प्रशासनका सूचनाहरू बुझ्ने प्रयत्नमा लाग्यौं । यसका लागि खासगरी स्थानीय साथीहरूलााई परिचालित गर्यौं । जनकपुरदेखि नै प्रहरी प्रशासनको अस्वभाविक चहलपहल देखिन्थ्यो । तर त्यसको पर्सिपल्ट नै ‘आजाद’ लाई गोली ठोकी हत्या गरेको समाचार हामीले सुन्नुपर्यो । हामीलाई पत्याऊँ– नपत्याऊँ जस्तो भयो । तर सबैतिरको सूचनाबाट उहाँको हत्या गरिएको कुरा सही थियो । हामीले थाहा पायौं– हत्या गरिसकेपछि ‘आजाद’ को लाशलाई नजिकैको जंगलमा लगेर सुकेका पातहरू सुकेका परालका मुठाहरुको मद्दतले डढाइएछ । त्यसरी क्रान्तिको मसाल बोकेर सुन्दर सपनाहरु बोकी अघि बढ्दै गरेका एउटा स्पप्नदर्शी क्रान्तिकारीको जीवन समाप्त गरिएको थियो ।

मेरो अगुवाइमा रहेको तत्कालीन ‘माले’को ‘मध्य दक्षिण क्षेत्रीय कमिटी’ का तर्फबाट तत्कालीन महोत्तरी–सर्लाही–सिन्धुली सीमान्त जिल्ला कमिटीलाई कमरेडहरूको सहयोग लिएर आजादको गिरफ्तारी र हत्या सम्बन्धमा जाँचपड्ताल गरी रिपोर्ट तयार गरेको थियो ।

उहाँको गिरफ्तारी र हत्या गरिएको ठाउँ सिन्धुली जिल्लाको भिमान बजारमा उहाँका तीन दिनहरु कसरी बिते भन्ने विषयमा प्रत्यक्षदर्शीहरुको रिपोर्टमा आधारित मेरो अगुवाइमा रिपोर्ट तयार पारिएको थियो । उक्त रिपोर्ट जसलाई २०३८ माघमा तत्कालीन मालेको केन्द्रीय समितिको राजनीतिक पत्रिका ‘मुक्तिमोर्चा’ मा प्रकाशित गरिएको थियो । त्यसबेला तयार गरी प्रकाशित गरिएको रिपोर्टलाई सामान्य सम्पादन गरी प्रकाशित गरिएको छ ।

०००

(१)
०३७ साल फागुन १० गते राति –
‘माडसाब, मध्यराततिर आइपुग्नु भयो’, लालबहादुरकी श्रीमती भन्छिन्, ‘कतातिरबाट आउनु भएको हो ? थाहा भएन ।’
०३७ साल फागुन ११ गते गिरफ्तार हुनुभन्दा एक दिन अघि गिरफ्तार भएको ठाउँबाट केही टाढा एक परिचित किसानकहाँ बसी ‘आजाद’ त्यस ठाउँमा राति पुग्नुभएको थियो । उहाँले सम्भावित गद्दारीको कुनै शंकै नगर्नु भएको बुझिन्छ । स्थानीय परिस्थितिको जटिलताको बारेमा पनि उहाँ जानकार हुनुहुन्नथ्यो । उहाँ एक्लै र निहत्था हुनुहुन्थ्यो ।

११ गतेको बिहान दिउँसो र साँझ उहाँले लालबहादुरकै घरमा बिताउनु भयो । बिहान र दिउँसो कसैसँग भेटघाट गर्नुभएन । साँझ भेटघाटको निम्ति एक जनालाई लालबहादुरकी श्रीमतीमार्फत बिहान ६–७ बजेतिर रामबहादुरलाई लिन लालबहादुरलाई पठाउनु भयो । विश्वासघाती रामबहादुर लालबहादुरको भाइ थियो । ऊ कमरेड ‘आजाद’ बस्नुभएको ठाउँबाट करिब तीन माइल पूर्व सुनखानी भन्ने गाउँमा बस्दथ्यो ।

त्यसदिन दिउँसो लालबहादुरको घर माथिपट्टि भोटे सार्कीको घरमा सुंगुर काटिएको कुरा कमरेड ‘आजाद’ ले पनि थाहा पाउनु हुन्छ । लालबहादुरका परिवारले पनि एक छाक मासु खान सकून र आफूलाई पनि भइहाल्छ भन्ने विचार गरी एक बिसौली मासुको निम्ति उहाँ ११ रुपैयाँ झिकी लालबहादुरकी श्रीमतीलाई दिनुहुन्छ । मासु दिन बसेका मानिसहरुमध्ये केहीलाई लालबहादुरकी श्रीमतीले हाताहाती त्यो पनि नयाँ–नयाँ नोट गनेर एक बिसौली लग्दा अलिकति अस्वभाविक लाग्छ तर शंका भने उब्जिएको हुन्न ।

(२)
११ गतेकै साँझ –

रामबहादुरलाई लिएर लालबहादुर फर्किसकेको हुन्छ । सामान्य औपचारिकता पूरा गरी सकेपछि कमरेड ‘आजाद’ खाना खान थाल्नु हुन्छ । त्यत्तिकैमा उहाँले कुराकानीका निम्ति डाक्नुभएको अर्को मानिस पनि आइपुग्छन् । खाना खाइसकेपछि उहाँ झ्यालबाट मुख चुठ्नु हुन्छ र थाल सफा गर्नुहुन्छ ।

गुन्द्रीमा रामबहादुर, लालबहादुर र अर्को व्यक्तिसमेत बसिसकेपछि आजादले स्थानीय हालखबर सोध््दै कुरा थाल्नुहुन्छ । अन्य कम्युनिष्ट समूहप्रति आफ्नो सोचाई बताउनु हुन्छ । गद्दार रामबहादुर आफूलाई उत्तम दर्जाको क्रान्तिकारी सावित गर्न जेलबाट भागेको आदि कुराका विषयमा आफ्नो प्रशंसा आफैं गर्न थाल्छ । ऊ खुबै खुशी र केही उत्तेजित देखिइरहेको हुन्छ । कमरेड आजादलाई भेट्न उसले जोडदार प्रयत्न गरेको र यसरी भेट भएकोमा आफू ज्यादै खुशी भएको देखाउन पनि ऊ पछि पर्दैन ।

कुरा शुरु भएको भएको झण्डै १५ मिनेट जति भएको हुँदो हो !

(३)
त्यत्तिकैमा…
थपर्र्याङ मुन्तिर झिलिल्ल टर्च लाइट बल्छ । टर्चको उज्यालो कुराकानी गरिएको ठाउँतिरै आउँछ । ‘को हो ?’ हपार्दै सोधिन्छ !
। जवाफ केही आउँदैन ।

बाहिर दुई जना मानिस टर्च बालिरहेका र दुई जना मानिस संगीनसहितको बन्दुकले कुराकानी भइरहेको ठाउँलाई निशाना सोझ्याई रहेको सबै जनाको आँखामा एकै साथ पर्छ ।
सेकेण्ड पनि बितेको हुन्न घत्र्याक्क–घुत्रुक्कको आवाजसँगै बन्दुक सोझ्याउँदै दुईजना मानिस थपर्याङ (घरको तला) माथि उक्लिसक्छन् ।

‘हर्कत गरे गोली ठोकिदिनू’ सईको कड्किँदो आदेशसँगै राइफल खुत्रुक्क गरेर बजेको सुनिन्छ । ‘हातमाथि उचाल’ आत्मसमर्पणको आदेश दिंदै राइफलधारीहरु अघि बढ्छन् । ‘ए ओर्ली’ रामबहादुर लालबहादुरतिर संकेत गरिएको केही नरम स्वरसँगै दुवै हतपत थपर्याङबाट ओर्लन्छन् । संगीनको टुप्पोले बिस्तारै छुँदै तेस्रो व्यक्तिलाई ‘उत्रनू’ भन्ने संकेत गर्छ । उक्त व्यक्ति पनि हत्तपत्त ओर्लिन्छ । यसैबीच कमरेड ‘आजाद’ को हात बाँधिन्छ र भर्याङतिर ल्याइन्छ ।

(४)
गिरफ्तारीपछि…
‘एउटा हात खोल’ कमरेड आजादको रोविलो स्वर । ‘खोल्दे’ सईको आदेश ।
एउटा हात खोलिन्छ । उहाँ तल ओर्लनुहुन्छ । तत्काल पुलिसहरू उहाँलाई लिएर अघि बढ्छन् । करिब ३–४ मिनेट हिँडाएपछि एक कुख्यात दलाल (उपप्रधानपञ्च) इच्छाबहादुरको घर आउँछ । एकछिन त्यहाँ रोकिदैं उहाँलाई अघि बढाइन्छ । १५–२० मिनेट जति बाटो लागेपछि कमलाको किनारमा १२–१५ भन्दा बढी नै लाइटहरू बलेको देखिन्छ । संभवतः दलालहरूको संख्या थपिएको हुनुपर्छ ।

(५) भिमानबजार ११ फागुनकै राति ९ः३० तिर–
‘बजारमा चहल–पहल निक्कै कम भइसकेको हुन्छ । होटलहरू मात्र खुला छन् । त्यस्तैमा झुरूम्म्म गोल परेर हिंडेका पुलिसहरूको माझ ‘उहाँ’ ठमठम हिंडिरहनु भएको मैन्टलको उज्यालोमा अलिकति टाढाबाट देखिन्छ । पहिले त चिनिदैन । एकैछिनपछि फेरि चिनिन्छ र झस्किन्छ । अँध्यारोतिर पुलिसबाहेक अरू पनि मानिस थिए, तर तिनीहरू छरिएर यताउती लाग्दै थिए । उहाँको खुट्टामा चप्पल थिएन । लुंगी र मैलो कैलो रंगको कमिजजस्तो लगाएको देखिन्थ्यो । टाढाबाट राम्रो ठम्याउन सकिदैनथ्यो’, एक प्रत्यक्षदर्शी महिला भन्छिन् ।

(५) प्रहरी हिरासतमा ‘आजाद’–

आजाद पक्राउ पर्नुभएको खबर १२ गते बिहान ७–८ बजेसम्ममा वरपरका गाउँहरुमा पुगिसकेको हुन्छ । सबै चिन्ता, आशंका र अनिश्चितता लिएर अति सतर्कताका साथ स्थानीय दलालहरु र पुलिसहरुका हरेक गतिविधिमा केही खोजी रहेका हुन्छन् । प्रत्येकको आँखामा हेर्दा एउटा प्रश्न उडिरहेको भान हुन्छ– ‘अब के होला ?’

१२ गते १० बजेतिरः ‘हामी स्कुल जान आउँदै थियौं । चौकी बाहिरको ढोकामा संगीन चढाएको बन्दुक लिएर पुलिस बसिरहेको थियो । भित्र गुन्द्रीको बार थियो । कसलाई राखिएको छ भन्ने थाहा पाएनौं ।’ स्कुले विद्यार्थीहरु भन्छन् ।

उही दिन दिउँसोः ‘माड्साबलाई बाहिर निकालिँदै थियो । उहाँको हातखुट्टा र कम्मर सबै ठाउँमा फलामका सिक्रीले बाँधिएको थियो र एक जनाले कम्मरको सिक्रीलाई समातिराखेको थियो । पिसाब गराउन निकालेको रहेछ ।’ एक जना प्रत्यक्षदर्शी किसानको भनाइ ।

उही दिन, छक्कालतिरः आजादलाई गिरफ्तार गरी ल्याइएको थाहा पाएर एकजना महिला हुर्रिंदै चौकीमा पुग्छिन् र उहाँलाई खोइ कहाँ राखेको छ भनेर पटक–पटक गरी तीन जना पुलिससँग सोध्छिन् । पहिलोले जवाफमा भन्छ – ‘हामीले ऋषिलाई खोई कहाँ पक्रेका छौं ? त्यसलाई भेटेको भए त मासु खान्थ्यौं ।’ तेस्रोले भन्छ – ‘राख्न त यहीं राखेको छ, तर भेट गर्न पाइँदैन ।’ उनले बल गरेर भित्रतिर हेर्दा – आजादलाई चारै हातखुट्टा बाँधेर लडाइराखेको हुन्छ ।

१२ गते दिनको ४ बजेतिरः ‘जनकपुरतिरबाट एउटा जीप बडो छिटो छिटो दौडिँदै आइरहेको छ । भित्र खचाखच मानिसछन् । सबै सादा पोशाकमा छन् र अघिल्लो सीटमा बसेको एसपी रणबहादुर चन्दलाई प्रष्ट चिन्दछु ।’

‘त्यो जीप बजारमा रोकिंदैन । सरासर चौकितिर हुर्रिंदै जान्छ ।’

‘चौकी नजिक गएर जीप रोकिन्छ । केही क्षणपछि १/२ जना मानिसलाई छोडेर सबै मानिस युनिफर्म (सरकारी पोशाक)मा उत्रिन्छन् । धेरैजसोको हातमा राइफल हुन्छ । हतियार बोकेका पुलिसहरु तुरुन्तै चौकीलाई चारैतिरबाट घेर्छन् । एसपी थपर्याङ माथि चढ्छ’, एकजना प्रत्यक्षदर्शी वर्णन गर्छन ।

(६) वधस्थलतर्फ लैजांदै गर्दा –

उही दिन साँझ ६ बजेतिरः ‘सिन्धुलीतिरबाट एउटा जीप आइरहेको देखिन्छ । नजिकै आएपछि हेर्दा सीडीओ आइरहेको स्पष्ट हुन्छ । जीप भिमानतिर गयो । भिमानतिर गएको पौने आधा घण्टा जति भएको हुँदो हो, जीप सीडीओसहित नै फर्कियो’, एक व्यक्ति आफ्नै आँखाले देखेको बताउँछन् ।

भिमान बजारलगायत बाटोको छेउछाउका सबै जनता घटनाक्रमबारे सचेत छन् । उनीहरु हरघडी आँखा र कानलाई सतर्क गराएर बाटोतर्फ हेरिरहेका छन् । रात बढ्दै जान्छ । मानिसहरु चिन्तित हुँदै सुत्न थाल्छन् । तर केही मानिसहरु रातभरि नसुतेर निगरानीको दृढताले बाटोतिरै हेरिरहेका हुन्छन् ।

यस्तैमा एकजना मानिसद्वारा प्राप्त विवरणः समय रातको १२ः३० भएको थियो । चौकीतिरबाट एउटा जीप बिस्तारै आयो । निकै नजिक आएपछि देखियो– चार जना मानिस जीपलाई पछाडिबाट घचेढ्दै छन् । विस्तार–विस्तार भ्याट–भ्याटको आवाज जीपबाट निस्कँदैछ । केही अगाडि आएर जीप रोकिन्छ । पुलिसहरुभित्र दुबैतिर बन्दुक लिएर बसेका देखिन्छन् । अरु केही देखिन्न । फेरि ठेल्दै जीपलाई अघि लगिन्छ । जीप घचेढ्ने मानिसभन्दा केही पछाडि ४–५ जना मानिस विस्तारै हिंडिरहेका छन् । एउटा गोविन्दलाई प्रष्ट चिन्छु (कुख्यात दलाल गोविन्द कोइराला) झण्डै दुई मिनेट जतिमा जीप खोला झर्छ ।’

(७) हत्या र हत्या पछिका दृष्यहरू–

खोला झरेको केही समयपछि; अर्को प्रत्यक्षदर्शीको बयानः ‘जीप गएको केही समयपछि ५–७ जना मानिस गुनगुन कुरा गर्दै मोटर हिँड्ने बाटोबाट हिँडिरहेको देख्छु । जीप भिमान खोला र भलुवाई खोलाको दोभानमा गएर रोकिन्छ । मानिसहरु जीपलाई त्यहीं भेट्छन् । त्यहाँबाट गाडी फेरि विस्तारै हिंडेको देखिन्छ । बत्ती बालेको हुन्न ।

‘जीप गएको आधा घण्टा जति भएको हुँदो हो, बन्दुक पड्केको मध्यम आवाज सुनियो । पहिलो आवाजको ५–७ मिनेटपछि फेरि अर्को आवाज आयो, फेरि चकमन्न भयो । अन्य कुनै किसिमको संकेत पाइएन ।

१३ गते बिहानः ६–७ बजेतिर दलालहरु– गोविन्द कोइराला, नरनाथ कोइराला, झलकबहादुर र अरु (प्रष्ट नाउँ थाहा पाउन नसकिएको) मोटरको बाटैबाटो एक अर्कालाई अंकमाल गर्दै लट्ठारिंदै आएको केही मानिसले प्रष्टै देख्छन् ।

उही दिन दिउँसो ४ बजेतिरः स्कुलबाट फर्किंदै गरेका एक हुल केटाकेटीहरु बाँसखोला र भिमान खोलाकोकौट दोभानमा बाटोबाट ५०–६० हात टाढा मुढा बालेको थुप्रो देख्दा तर्सन्छन् र त्यस ठाउँमा जाने आँटै गर्दैनन् ।

केटाकेटीहरुबाट यो कुरा थाहा पाएपछि जानेहरु त्यहाँ पुग्दा आगो ननिभिसकेको र थुप्रै स–साना हड्डीका टुक्राहरु पाउँछन् । खाल्डोजस्तो लाग्ने ठाउँमा खनी हेर्दा जति गहिरिंदै गयो, त्यति ठूला रगतका फाल्सा पाइन्छन् । पहिलो खाल्डोको नजिकै अर्को खाल्डो हुन्छ ।

यसरी जनसमुदायहरु एकजना क्रान्तिकारीको कायरतापूर्ण हत्या भएको क्रूर यथार्थलाई बडो दुःख र आक्रोशमा डुब्दै स्वीकार्न बाध्य हुन्छन् ।

०००

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *