संविधान कार्यान्वयनमा दल बाधक : संविधानविद् दाहाल
रुपन्देही । संविधानविद् काशिराज दाहालले राजनीतिक दलका कारण संविधान कार्यान्वयन हुन नसकेको बताएका छन् । संविधान बनाएका दलहरुले नै संविधान कार्यान्वयनका लागि इच्छा शक्ति नदेखाएकाले संविधान कार्यान्वयन नभएको र संविधानप्रति वितिष्णा पैदा हुन थालेको बताए ।
रिपोर्टर्स क्लवले शनिबार बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले संविधान कार्यान्वयनका लागि राजनीतिक दल र नेतृत्वमा इच्छा शक्ति हुनुपर्ने बताए ।
संविधानविद् दाहालले राजनीतिक दलहरु सत्ता, शक्तिको भरमा राजनीतिलाई उद्योग बनाएर श्रोतसाधन दोहोनमा लागेको आरोप लगाए । संविधान कार्यान्वयन हुन नसक्दा समाजमा सुशासन कायम हुन नसकेको र भ्रष्चार बढेको दाबी गरे ।
संविधान आफैमा पूर्णता नहुने उल्लेख गर्दै संविधानलाई गतिशील दस्तावेजको रुपमा कार्यान्यन गर्नुपर्छ, त्यसका लागि राजनीतिक दल सक्रिय हुनुपर्ने उनको तर्क छ । राजनीतिक दलहरुले संविधानको मर्म र भावनाअनुसार संविधान कार्यानयनका लागि अभ्यास र सहमति नै नगरेको आरोप लगाए । संविधानविद् दाहालले कुनैपनि देशमा भएका संविधानबाट सबै नागरिक सन्तुष्ट नरहेको उल्लेख गर्दै नेपालको संविधानमा पनि कमजोरी भए सच्चाउन सकिने बताए ।
संविधानबिद दाहालले विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा अभ्यास नहुंदा संविधानले पूर्णता नपाएको बताए । ‘सबै नीतिको नीति राजनीति हो, राजनीतिको मुहान नै फोहोर भएकाले देशमा अराजकता, भ्रष्टार बढ्दा संविधान ओझेलमा परेको हो’, उनले भने ।
कुनैपनि संविधानलाई गतिशील बनाउन जनताले संविधानको अननुभूति गर्नुपर्छ, आवश्यक कानुन समयमा बनाउनु पर्छ र संविधान स्वीकार नगर्ने शक्तिको कमजोरी खोजी मुलधारमा ल्याउनु पर्ने उनको भनाइ छ ।
संविधानले दीगो शान्ति, सुशासन र विकासलाई अगाले पनि संविधानको मर्म र भावनाको कदर नभएको संविधान विद् दाहालले बताए । उनले निर्वाचन प्रणाली महंगो तथा बढी खर्चिलो भएकाले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताए ।