चैतदेखि संस्थागत निक्षेपकर्तालाई राष्ट्र बैंकले दिएको राहत लागू हुने
काठमाडौं । संस्थागत निक्षेप कर्ताले आगामी चैत १ गतेबाट नेपाल राष्ट्र बैंकको सहुलियत पाउने भएका छन् । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै चैत १ गतेबाट संस्थागत निक्षेप कर्ताका लागि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत दिइएको राहत कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ ।
बैंकले संस्थागत निक्षेप र व्यक्तिगत निक्षेपकर्ताको ब्याजदरमा १ प्रतिशत विन्दुले मात्र फरक हुनुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्था चैतबाट लागु हुँदैछ ।
यसअघि संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ता भन्दा २ प्रतिशत कम ब्याजदर पाउँदै आएका थिए । बैंकहरुले अव उनीहरूलाई एक प्रतिशत मात्र कम ब्याजदर दिन पाउनेछन् ।
पछिल्लो समय बैंकले व्यक्तिगत निक्षेपकर्तालाई दिने ब्याजदर घट्दै गएको छ । त्यसमा पनि संस्थागतले २ प्रतिशत कम गरी ब्याजदर पाउने भएकाले उनीहरू मारमा पर्दै आएका थिए ।
बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर घट्दो क्रममा रहेको छ ।