प्रहरीका मुद्दा चल्ने ९० प्रतिशत कार्यालयमा ‘हिरासत पुस्तकालय’ अभियान सञ्चालन – Nepal Press

प्रहरीका मुद्दा चल्ने ९० प्रतिशत कार्यालयमा ‘हिरासत पुस्तकालय’ अभियान सञ्चालन

काठमाडौं । नेपाल प्रहरीले मुद्दा चल्ने प्रहरी कार्यालयमध्ये ९० प्रतिशत कार्यालयमा ‘हिरासतमा पुस्तकालय’ अभियान सञ्चालनमा ल्याएको छ । अहिलेसम्म नेपाल प्रहरीका २२१ वटा मुद्दा चल्ने कार्यालयमध्ये ९० प्रतिशत अर्थात २०० कार्यालयमा हिरासत पुस्तकालय अभियान सुचारू भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत १९ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३५ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत २३ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १५ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३७ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत १३ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत २० वटा रहेका छन् ।

पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, कानुन, सामान्यज्ञानको साथै विभिन्न व्यक्तिका जीवन संघर्ष, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा, सकारात्मक सोचका विषयमा लेखिएका पुस्तक रहेका छन् । दैनिक जीवनमा आइपर्ने समस्या र समाधानका विषय समेटिएका पुस्तक पनि राखिएका प्रहरी प्रवक्ता एवम प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए ।

उनले भने, ‘म आफै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रमुख रहँदा प्रदेश प्रहरी र मातहत कार्यालयमा अभियानको थालनी गरेको हुँ । हिरासतमा रहेकालाई समय कटाउन सजिलो होस् भन्ने अभिप्राय छ । उनीहरूलाई पढाइमा सहभागी गराई असल नागरिक बन्न उत्प्रेरित गर्ने उद्देश्य हो । त्यसको साथै उनीहरूमा सकारात्मक सोचको विकास र मनोविज्ञानमा परिवर्तन आउने विश्वास रहेको छ । उनीहरूमा हिरासतको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवर्धक शिक्षामा सहयोग गर्न यसले सहयोग पु¥याउने अपेक्षा छ ।’

पुस्तकालयलाई स्वेच्छिक रुपमा पनि पुस्तक प्राप्त हुने गरेको र प्राप्त पुस्तक व्यवस्थित तरीकाले राख्ने गरिएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेकाले लिएको पुस्तक भरपाइ गरी पढ्न दिने, पढिसकेपछि फर्काउने र अर्को पुस्तक पढ्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) नविन किशोर प्रधानले बताए ।

उनले भने, ‘थुनुवाको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने प्रकृतिका पुस्तक राख्न हामीले विशेष पहल गरी सोही अनुसारका प्रेरणादायी पुस्तक राखेका छौं ।’ थुनामा रहेकाले पुस्तकालयबाट लाभ लिइरहेको र आन्तरिक कार्यविधि बनाएर पढ्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।

पुस्तकालयले थुनुवामा अध्ययन अभिरूची जगाउन र अध्ययनप्रति लगाव बढाउन सहयोग पुर्याएको प्रहरी प्रवक्ता डीआईजीपी ढकालको भनाई छ । अध्ययनबाट आफ्नो आचरण, व्यवहार र सोचमा सकारात्मक धारणा बनाउन सहयोग पुगेको उनले बताए ।

शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ भन्ने तथ्य सावित गराएको भन्दै प्रहरी प्रवक्ता ढकालले भने, ‘प्रहरीको यो अभियानलाई अझ प्रभावकारी बनाउन नागरिक समाज, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाको अहम् भूमिका रहने गर्दछ । पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक संकलनमा सबैको हातेमालोको अपेक्षा गरिएको छ । कारागारमा होस् वा हिरासतमा रहँदा मनोविज्ञान बदल्ने खालका महत्त्वपूर्ण पुस्तक पढेपछि रुपान्तरण आउने हुनाले सोही अनुसारका पुस्तक राख्ने गरिएको छ ।’

यसैगरी अहिलेसम्म ७२ वटा कारागारमा समेत पुस्तकालय सञ्चालनमा छन् । ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत तीन वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १४ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत पाँच वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १० वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १० वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत आठ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत नौ वटा छन् । हिरासत तथा कारागार पुस्तकालयबाट आफूलाई निकै राम्रो भएको र पढेर नयाँ नयाँ कुरा सिक्ने मौका पाएको भनाइ थुनुवा तथा कैदीबन्दीको रहेको छ ।

नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुसार फौजदारी कसुरको अनुसन्धान गर्ने प्रत्येक प्रहरी कार्यालयले हिरासत पुस्तकालयको व्यवस्था गर्ने प्रावधान अनुसार अभियान सञ्चालन गरिएको हो । विभिन्न मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिमा सकारात्मक सोचको विकास गर्ने उद्देश्य अभियानको रहेको छ । छोटो समयमा नै अभियान प्रभावकारी हुँदै गएको प्रहरी प्रधान कार्यालयको दाबी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *