विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार
काठमाडौं । कोशी प्रदेशको विराटनगरमा फागुन १८ र १९ गते दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता हुँदैछ ।
आयोजक नेपाल डोरी तान संघ र कोशी प्रदेश समितिले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीयले सहभागिता जनाउने संघका महासचिव बिमल पौडेलले जानकारी दिए ।
एक टिममा ८ जना खेलाडी र बैकल्पिक खेलाडी, कोच र मेनेजर १–१ जना हुनुपर्नेछ । खेल्ने ८ खेलाडीको सामूहिक तौल ६ सय भन्दा धेरै हुन पाइने छैन ।
नेपालको पुरानो खेल भएपनि साथी समयदेखि ओझेलमा परेको खेललाई प्रवर्धन र विकास गर्नु यस प्रतियोगिताको मूल उद्देश्य रहेको महासचिव पौडेलले सुनाए ।
’प्रतियोगिताबाट खेलप्रति लगाव भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराई मनोबल बढाउने लक्ष्य राखिएको छ’, उनले भने । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने पौडेलले बताए ।